BIZMANDU
www.bizmandu.com

फाखेलमा फूलैफूल : इन्द्रसरोवरका डाँडाकाँडा सयपत्रीले ढकमक्क, तस्बिर समाचार

२०७८ कात्तिक १८

हेटौंडा। हिन्दु नेपालीहरुको महान् पर्व दीपावलीमा फूलको माग बढ्न थालेको छ। यही मेसोमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका किसानहरु यतिखेर फूल टिप्न व्यस्त देखिन्छन्। यो मौसममा इन्द्रसरोवरका अधिकांश भूभागमा गरेका पुष्पखेतीले सम्पूर्ण वस्ती तथा डाँडाकाँडा फूलैफूलले ढकमक्क ढाकेको देख्न सकिन्छ।

Tata
GBIME
Nepal Life

तिहारलाई लक्षित गर्दै मकवानपुरको फाखेलबासी यतिखेर व्यस्त छन्। आफ्नो दैनिक कामधन्दासहित उनीहरु माला बुन्न व्यस्त भएका हुन्। त्यसैले फाखेल यतिखेर ‘माला गाउँ’ जस्तै देखिन्छ।

उक्त क्षेत्रका प्रायः घरमा हिजोआज परिवारका कुनै न कुनै सदस्य सयपत्री र मखमलीको माला बुन्न व्यस्त देखिन्छन्। त्यहाँबाट नजिक र ठूलो बजार भएको काठमाडौंमा बिक्रीका लागि पठाउन स्थानीय किसान माला बुन्न तल्लिन देखिएका छन्।

गत वर्षजस्तै यस वर्ष पनि वडा–८ को खड्बुलगायत क्षेत्रमा मनै प्रफुल्लित हुने गरी ढकमक्क फुलेका फूलले गाउँलाई उज्यालोमात्र बनाएको छैन, स्थानीयलाई चाडपर्वमा आम्दानीको राम्रो जोहोसमेत गरिदिएको छ।

खड्बुकी तारा कार्की आफूले यस वर्ष काठमाडौं पठाउन कम्तिमा २ हजार वटा माला बुनेको बताइन्। ती माला आफैं काठमाडौं पुर्‍याएर बिक्री गर्ने सोच उनले बनाएकी छन्। उनका अनुसार गाउँमै माला प्रतिगोटा ८० रुपियाँका दरले बिक्री हुँदै आएको छ। फाखेलबाट काठमाडौं पुर्‍याउँदा भाडा, समय र व्यापारीको नाफासमेत जोड्ने हो भने त्यहाँ माला प्रतिगोटा १ सय ९० रुपियाँ नाघ्ने उनको अनुमान छ।

गाउँका विशेषतः महिला घरधन्दाको काम सकेर माला बुन्न व्यस्त छन्। व्यावसायिक रुपले माला बुन्नेहरुले प्रतिदिन ५ सय रुपियाँसम्म ज्याला तिरेर महिलालाई फूल टिप्ने र माला बुन्ने काममा लगाउने गरेका छन्। एक जनाले दिनमा करिब ३५ वटा माला बुन्न सक्ने कार्कीले बताइन्।

यस वर्ष फूलमा रोग कीराको प्रकोप नदेखिएकाले फूलको उत्पादन राम्रो छ। व्यावसायिक तरकारी खेतीले उकासिएको फाखेलको आर्थिक जनजीवनलाई सयपत्री र मखमलीलगायत फूलले पनि मलजल गरेको देखिन्छ। चित्लाङमा भने गत वर्षको तुलनामा फूल कम उत्पादन भएको स्थानीयले बताएका छन्।

मकवानपुरमा फाखेल, निबुवाटार, नामटार, भैंसे, बज्रबाराही र आमभञ्ज्याङमा किसानहरुले व्यावसायिक फूलखेती गर्दछन्। नेपाल तरकारी तथा फलफूल व्यवसायी संघका अनुसार तिहारमा करिब १४ लाख बराबरको फूल उत्पादन हुन्छ।

कतिपय किसानले तिहार खर्चका निम्ति खेतबारीमा फूलखेती गर्ने गरेको संघ अध्यक्ष खड्गबहादुर मोक्तानले बताए। मकवानपुरमा उत्पादित फूल पर्सा, बारा, सर्लाही र रौतहटका व्यापारीले खरिद गर्ने गरेको मोक्तानले बताए।