BIZMANDU
www.bizmandu.com

जडान गरेको दुई वर्षमै जले चितवनका दुई ट्रान्सफर्मर, एकैसमय ल्याइएका १० मध्ये ७ वटा जले

२०७८ कात्तिक १७

जडान गरेको दुई वर्षमै जले चितवनका दुई ट्रान्सफर्मर, एकैसमय ल्याइएका १० मध्ये ७ वटा जले
जडान गरेको दुई वर्षमै जले चितवनका दुई ट्रान्सफर्मर, एकैसमय ल्याइएका १० मध्ये ७ वटा जले


काठमाडौं। तीन दिनको फरकमा दुई वटा ट्रान्सफर्मर जलेपछि तीन दिनदेखि विद्युत आपूर्ति अनियमित भएको चितवनका केही क्षेत्रमा विद्युत वितरण आंशिकरूपमा सुरु भएको छ। अस्पतालमा बेग्लै फीडरबाट लाइन ल्याइएको छ।

Tata
GBIME
Nepal Life

भरतपुर महानगरसहित चितवनका अधिकांश ठाउँमा विद्युत आपूर्ति गर्ने १३३/११ केभी बसेनी सवस्टेसनमा रहेका दुइटै पावर ट्रान्सफर्मर जलेपछि तिहारमा बिजुलीविहीनताको अवस्था आएको हो। 

शनिबार बिहान ३० एमभीए क्षमताको एउटा ट्रान्सफर्मर जलेको थियो। उक्त ट्रान्सफर्मरलाई मर्मत गरिरहेकै बेला ३० एमभीएकै अर्को ट्रान्सफर्मर पनि जलेको भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए। ‘दुइवटै ट्रान्सफर्मर एकपछि अर्को जलेको यो एकदमै दुर्लभ घटना हो,’ सापकोटाले बिजमाण्डूसँग भने, ‘कहिलेकाही जहाजको दुवै इन्जिन फेल भएर दुर्घटना हुन्छ नि, ठीक त्यस्तै भएको छ।’

विद्युत प्राधिकरणसँग अहिले ट्रान्सफर्मरदेखि मिटर र तारसम्मको अभाव छ। त्यसैले भएका सीमित संख्याका ट्रान्सफर्मरलाई नै मर्मत गर्दै चलाउँदै गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

भरतपुरमा दुवै ट्रान्सफर्मर जलेपछि पोखराबाट ३० एमभीएको ट्रान्सफर्मर ल्याएर जडान गर्ने तयारी भइरहेको पनि घिसिङले बताए। अहिले पोखराबाट मगाइएको ३० एमभीएको पावर ट्रान्सफर्मर चितवनतर्फ पठाइसकिएको छ।

दुई वर्षमै जले ट्रान्सफर्मर

चितवनमा जलेका दुइटै ट्रान्सफर्मर दुई वर्ष अघि मात्रै जडान गरिएका थिए। यति छिट्टै दुवै ट्रान्सफर्मर जलेपछि इन्जिनियरहरु नै अच्चमित छन्। जडानको पनि दुई वर्ष मात्रै भएको थियो। पुरानो र जीर्ण भएका कारणले ट्रान्सफर्मर नजलेको इन्जिनियर सापकोटाले बताए।

‘क्षमताभन्दा बढी लोड सप्लाइ भएर पनि ट्रान्सफर्मर जलेको होइन,’ उनले भने, ‘१५०० एम्पियरसम्म लाइन दिन सकिने भए पनि सुरक्षाकै लागि भनेर १२०० एम्पियरसम्म मात्रै आपूर्ति गरेका थियौं।’

तिहारको मुखैमा दुइटै ट्रान्सफर्मर जलेपछि अहिले कार्यकारी निर्देशक घिसिङ आफैं चितवन पुगेका छन्। शनिबार जलेको ट्रान्सफर्मर मर्मत र जडानमा ढिलाई भएपछि चितवन क्षेत्र बिजुलीविहीन भएको थियो। दुवै ट्रान्सफर्मर जलेको अवस्थामा बुधबार बेलुकासम्म लाइन दिने गरी काम गराउन घिसिङ चितवन पुगेका हुन्। 

हस्पिटलमा आपूर्ति सुरु

अहिले चितवनको हस्पिटल फिडरमा पर्साबाट लाइन ल्याएर आपूर्ति सुरु गरिएको छ। हस्पिटलको लागि छुट्टै फिडर हुने भएकाले चितवन क्षेत्रका सबै अस्पतालमा आपूर्ति सुरु भइसकेको सापकोटाले बताए।

 सम्भव भएका अन्य क्षेत्रमा नवलपरासीको गैंडाकोट र चितवनकै चनौली सवस्टेसनबाट पनि केहि स्थानमा लाइन दिइएको उनले बताए।

'जुन क्षेत्रको लाइनले जतातिर सम्भव भयो त्यता आपूर्ति दिएका छौं,' उनले भने। अहिले चितवन वितरण केन्द्र अन्तर्गत विद्युत आपूर्ति रोकिएका मध्ये २० प्रतिशत क्षेत्रमा वैकल्पिक लाइनबाट आपूर्ति सुरु गरिएको सापकोटाले बताए। 

१० मध्ये ७ वटा ट्रान्सफर्मर जले

बसेनी सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरसहित उक्त मोडेलका १० वटा ट्रान्सफर्मर खरिद गरिएको थियो। १० मध्ये ७ वटा जलिसकेको प्राधिकरण स्रोतले जनाएको छ।

कसको पालमा किनिएको हो भन्ने एकिन नभए पनि जडान भने दुई वर्ष अघिदेखि गर्न सुरु गरिएको थियो। दुई वर्ष अघि मात्रै जडान भएका ट्रान्सफर्मरहरु कसैको वारेन्टी भर्खरै सकिएको र कसैको अझै बाँकी रहेको पनि स्रोतको दाबी छ।

वारेन्टी बाँकी रहेको अवस्थामा आपूर्तिकर्ता कम्पनीले नै मर्मत गरिदिने भए पनि उक्त मोडेलका ट्रान्सफर्मरमै समस्या देखिएकाले गुणस्तरमा प्रश्न उठेको छ।