BIZMANDU
www.bizmandu.com

सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट, मंसिरदेखि नयाँ दर्तामा, जेठदेखि नवीकरण गर्दा जडान अनिवार्य

२०७८ कात्तिक १६

काठमाडौं। डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट देशभरका सबै सवारीमा अनिवार्य गर्ने भएको छ। यातायात व्यवस्था विभागले लागू गर्न सुरु गरेर यसलाई निरन्तरता दिन सक्ने नसक्नेमा शंका भइरहेको इम्बोस्ड नम्बर प्लेट नाम राख्न बाँकी दुईबाहेक सबै प्रदेशमा अनिवार्य हुने भएको हो। 

Tata
GBIME
Nepal Life

यसका लागि विभागले साढे दुइ वर्षमा सबै सवारी साधनमा जडान गरिसक्ने योजना बनाएको छ। विभागले करिब ३० लाख सवारी साधनमा जडान गर्ने योजना बनाएको हो।

योजना अनुसार पहिलो चरणमा प्रदेश १ र २ बाहेकका पाँच प्रदेशमा मंसिरबाट दर्ता हुने सबै खालका सवारीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ।

फागुन १ गतेबाट नामसारी गरिने सबै सवारी साधनमा र जेठबाट नवीकरण गर्ने सवारीसाधनहरुले जोड्नुपर्नेछ। 'एक दुइ दिनमा नै राजपत्रमा सूचना प्रकाशित हुन्छ। त्यसपछि कार्यान्वयनमा जानेछ,' यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले भने,'प्रदेश १ र २ को नामकरण हुन बाँकी छ। नामकरण भएपछि अघि बढ्छ।' 

उनका अनुसार इम्बोस्ड नम्बर प्लेट छपाइको जिम्मा पाएको कम्पनीसँग साढे दुई वर्ष समय थपेर सम्झौता भएको छ। उक्त अवधिभित्र सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसक्ने पौडेलको दाबी छ। विभागले कम्पनीसँग २५ लाख प्लेट ५ वर्षभित्र छापिसक्ने गरी २०७३ मा सम्झौता गरेको थियो। उक्त अवधि गत भदौमा नै सकिएपछि सम्झौता नवीकरण गरिएको हो। विभागका अनुसार अहिलेसम्म करिब ८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।

इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि भारतीय जस्तै देखिएको, नेपाली भाषामा नभएको र ठूलो आर्थिक चलखेल भएकाले रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।उक्त रिटमा २०७४ फागुन १० गते तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले इम्बोस्ड नम्बर प्लेट तत्कालका लागि लागू नगर्न आदेश गरेको थियो। जसका कारण जडान नै रोकियो। साढे २१ महिनापछि प्रधानप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जना न्यायाधीशको संयुक्त इजालासले उक्त रिट खारेज गर्‍यो। जडान सुरु हुने बेला कम्पनीसंग भएको सम्झौता अवधि नै सकियो।

कम्पनीलाई सम्झौता नवीकरणका लागि बैंक ग्यारेण्टीसहित आउन विभागले सम्झौता अवधि पहिले नै आग्रह गरे पनि ल्याएन। जसका कारण सम्झौता सकिएको दुई महिनापछि सम्झौता नवीकरण गरिएको हो। जसका कारण सरकारले साउनदेखि नै नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने यातायात व्यवस्था विभागको योजना फेल भयो।

के हो इम्बोस्ड नम्बर प्लेट ?
कम्तीमा १० वर्षको आयु हुने यो नम्बर प्लेट सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती हुन्छ। डिजिटल नम्बर प्लेटमा लेखिएका अक्षरहरु प्लेटको सतहभन्दा माथि उठेका हुन्छन्। 

यो प्लेट जडान गरिएका सवारी साधनमा चिप राखिएको हुन्छ। उक्त चिपमा सवारी साधन सम्बन्धी सम्पूर्ण विवरण हुन्छ। उक्त चिप 'रिड' गर्न विभिन्न ठाउँहरुमा गेटहरु निर्माण गरिन्छ। गेट पार गर्ने सवारी साधनको विवरण 'रिड' भएर गेटले नै 'अटो इन्ट्री' गर्छ। जसको विवरण ट्राफिक प्रहरीले र यातायातका कर्मचारीले कार्यालयमै बसेर हेर्न सक्छन्। यो प्रणाली प्रभावकारीरूपमा सञ्चालनमा आउँदा सवारी साधन चोरी घट्नेछ। 

अहिले प्रचलनमा रहेको २३ प्रकारको नम्बर प्लेटलाई ५ वटामा सीमित गरिएको छ। राष्ट्रपतिका लागि विशेष नम्बर प्लेट हुनेछ। राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, त्यसमुनि हल्का नीलो रंग हुँदै गाढा नीलो रङ, NEP अक्षर, त्यसभन्दा तल लालीगुराँससहित नेपालको निसान छाप राखिने विभागले जनाएको छ।  निजी सवारी साधनमा सेतो प्लेटमा कालो अक्षर,सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो नम्बर प्लेटमा रातो अक्षर, कूटनीतिक नियोगका सवारीमा सेतो प्लेटमा नीलो अक्षर राखिने छ। सार्वजनिक सेवाका सवारीमा पहेँलो प्लेटमा कालो अक्षर हुनेछ। 

कति लाग्छ शुल्क ?
विभागले चार भागमा वर्गीकरण गरेर इम्बोस्ड नम्बर प्लेट जडानमा लाग्ने शुल्क निर्धारण गरेको छ। जस अनुसार दुई पांग्रे सवारी साधनले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ। तीन पांग्रेले २ हजार ९ सय रुपैयाँ, चार पांग्रेले ३ हजार २ सय र ठुला सवारीको हकमा ३ हजार ६ सय रुपैयाँ तिर्नु पर्नेछ।

यातायात व्यवस्था विभागको वेबसाइटमा गएर इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिन सकिन्छ। नम्बर प्लेट तयार भएपछि एसएमएसमार्फत जानकारी आउँछ। त्यसपछि यातायात कार्यालयमा गएर जडान गर्न सकिन्छ। अहिले पनि जडानको काम  चलिरहेको पौडेलले बताए।