.jpg)
काठमाडौं। नेपाल टेलिकमले फोरजी ग्राहक संख्यामा एनसेललाई उछिनेको छ। नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदन अनुसार भदौमा टेलिकमले फोरजी ग्राहक संख्यामा एनसेललाई पछि पारेको देखिन्छ।
एकै महिना नौ लाख २७ हजार ६८६ ग्राहक थपिएपछि भदौमा टेलिकमको फोरजी ग्राहक संख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ। साउनमा टेलिकमसँग ५३ लाख ४० हजार ३५३ फोरजी ग्राहक थिए।
यस्तै, एनसेलले भदौमा २१ लाख ४३ हजार ९४ फोरजी ग्राहक थपेर ५७ लाख २५ हजार ७८० पुर्याएको प्राधिकरणले जनाएको छ। साउनमा एनसेलको फोरजी ग्राहक ५५ लाख ११ हजार ३८६ थिए।
प्राधिकरणका अनुसार भदौमा टेलिकमको फोरजी ग्राहक संख्या एनसेलको भन्दा पाँच लाख ४२ हजार २५९ ले बढी भएको जनाएको छ।
त्यसैगरी, स्मार्ट टेलिकमको भने भदौमा फोरजी ग्राहक ओरालो लागेको छ। साउनको भन्दा भदौमा स्मार्टको फोरजी ग्राहक पाँच हजार ९२६ ले घटेको प्राधिकरणले जनाएको छ। साउनमा एक लाख ८२ हजार ६१५ ग्राहक रहेकोमा भदौमा घटेर एक लाख ७६ हजार ६८९ पुगेको छ।
एनसेलले थ्रीजी ग्राहक थपे पनि टेलिकमको भने घटेको छ। भदौमा ५२ हजार २९२ ले घटेर टेलिकमको थ्रीजी ग्राहक संख्या एक करोड दुई लाख १२ हजार ७२६ पुगेको प्राधिकरणले जनाएको छ। एनसेलको थ्रीजी ग्राहक भने २८ हजार एक सयले बढेर भदौमा २४ लाख ३५ हजार २७५ पुगेको छ।