BIZMANDU
www.bizmandu.com

मेलम्चीमा बाढीको प्रभाव: यांग्री र लार्केको डिजाइन परिवर्तन हुने, पानी सोझै सुरुङमा

२०७८ कात्तिक १३

मेलम्चीमा बाढीको प्रभाव: यांग्री र लार्केको डिजाइन परिवर्तन हुने, पानी सोझै सुरुङमा
मेलम्चीमा बाढीको प्रभाव: यांग्री र लार्केको डिजाइन परिवर्तन हुने, पानी सोझै सुरुङमा

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गतको यांग्री र लार्के खोलाको पानी ल्याउन डिजाइन परिवर्तन गर्ने तयारी भएको छ। आयोजनाका लागि पानीको मुख्य स्रोत मेलम्चीसँगै यांग्री र लार्के गरी तीनवटा खोला हुन्।

Tata
GBIME
Nepal Life

आयोजनाको पहिलो चरणको संरचनामा बाढीले क्षति पुर्‍याएपछि दोस्रो चरणको डिजाइन परिवर्तन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले बताए। 'यो आवश्यकता र सतर्कता दुवैका लागि हो,' उनले भने।

यद्यपि परिवर्तनका लागि प्रस्तावित डिजाइन पास भने हुन बाँकी छ। 'मेलम्ची खोलामा बाढीले क्षति पुर्‍यायो, यो वर्ष मात्रै होइन आगामी बर्खाहरुमा पनि बाढी आएर क्षति पुग्ने सम्भावना छ। भेम्राथाङमा थुप्रिएर रहेको डिपोजिट जतिबेला पनि आउन सक्छ,' उनले भने,'यांग्री र लार्के पनि त्यहीँ ल्याएर मिसाउने गरी डिजाइन बनाएका छौं। त्यसमा केही परिवर्तन हुन्छ।'  

आयोजनाले दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी राजधानी ल्याउने योजना बनाएको छ। जसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ। मेलम्ची खोलाको मुहानबाट यांग्री ९ किलोमिटर र थप २ किमि लार्के गरी कुल ११ किमि सुरुङमार्ग निर्माण गरेर पानी ल्याउने योजना बनाइएको हो।

योजना अनुसार मेलम्ची खोलाको पानी ल्याउनका लागि निर्माण भइरहेको हेडवर्क्समा याङग्री र लार्के खोलाको ३४ करोड लिटर पानी थप गरी मेलम्ची खोलासँग मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउन योजना छ। 'मेलम्ची खोलामा नै ल्याएर मिसाउदा अब समस्या हुने भो। मुख्य समस्या नै मेलम्ची खोलामा छ। त्यही भएर यांग्री र लार्के खोलाको पानी हेडवर्क्समा नहाली सिधै सुरुङमा जोड्ने गरी डिजाइन बनाउने योजना छ,' पौड्यालले भने, 'ताकी मेलम्ची खोलामा बाढी आउदा पनि पानी नरोकियोस्।' 

यांग्री र  लार्केमा नै हेडवर्क्स बनाएर सिधै सुरुङमार्गमा जोड्ने गरी बनाउन लागिएको उनको भनाइ छ। 'डिजाइन तयार भइसकेको छ। त्यसमा केही परिवर्तन गर्न लगाउने हो। इआएको प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालय पुगेको छ। हामी छिटै परामर्शदातासँग छलफल गर्छौ,' उनले भने।

डिजाइन परिवर्तन गर्दा एसियाली बिकास बैक (एडीबी) समेत लगानीका लागि तयार हुने दाबी उनको छ। 'उसले पहिलोमा लगानी गरेको छ। दोस्रोमा पनि लगानी गर्ने मौखिक प्रतिबद्धता भइसकेको छ। अब उसको इज्जतसँग पनि जोडिएको विषय भयो। लगानी गर्नै पर्‍यो नि,' उनले भने।

यांग्री र लार्केको पानी २०२१ भित्रै राजधानी ल्याउने योजनाका साथ काम अघि बढाइएको थियो। तर विभिन्न कारण अहिलेसम्म अध्ययन प्रतिवेदन नै फाइनल हुने सकेको छैन। स्पेनिस कम्पनी ‍ इप्टिसा (इप्टिसा इन एसोसिएसन विथ टीएस टीमएस जीओके )ले डीपीआर तयार पारेको हो। एसियाली विकास बैकको ऋण सहयोगमा डीपीआर तयार पारिएको छ। आयोजना २५ अर्ब खर्चेर तीन वर्षमा निर्माण पुरा गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

असार १ गतेपछि आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससहितका संरचनालाइ क्षतविक्षत बनाएको छ। दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको मेलम्ची खानेपानी विकास समितिले प्रारम्भिक अनुमान गरेको छ। पहिलो चरणको मेलम्ची खोलाको १७ करोड लिटर पानी दैनिक काठमाडौंमा ल्याएर वितरण सुरु गरिएको थियो। असार १ गते सुरुङमार्ग 'इन्स्पेक्सन'(निरीक्षण) गर्ने भन्दै बन्द गरिएको थियो। सोही राती आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको हो।

अहिले खानेपानी मन्त्रालयले मेलम्चीको पानी अस्थायी रूपमा संचालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाएको छ। चैतसम्म मेलम्चीको पानी ल्याएर राजधानीबासीलाई खुवाउने भन्दै सिधै ठेक्का दिन पाउने प्रस्ताव पठाएको छ।