BIZMANDU
www.bizmandu.com

११ महिनामै १९९ अर्बले घट्यो विदेशी मुद्राको सञ्चिति, अत्यावश्यकीय आयातमा पनि समस्या हुनसक्ने

२०७८ कात्तिक ९

काठमाडौं। पछिल्लो दुई महिनायता विदेशी मुद्राको सञ्चिति निरन्तर घट्न थालेको छ। दुई महिनामा विदेशी मुद्राको सञ्चिति ९२ अर्ब ८ करोड रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

अहिलेको विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सक्छ। राष्ट्र बैंकले ७ महिनाको आयात धान्न सक्ने गरी सञ्चितिको व्यवस्थापन गर्ने लक्ष्य लिएको थियो। तर निरन्तरको घट्दो सञ्चितिले नेपाल चाँडै अप्ठेरो अवस्थामा पुग्ने देखिन्छ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, साउनमा ४४ अर्ब २१ करोडले घटेको सञ्चिति भदौमा थप ४७ अर्ब ८७ करोड रुपैयाँले घटेर १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँमा आएको छ। 

पछिल्लो एक वर्षमा देशको विदेशी मुद्रा सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँसम्म पुगेको थियो। २०७७ को कात्तिकमा अहिलेसम्मकै उच्च सञ्चिति भएको थियो। त्यो बिन्दुबाट अहिलेको बिन्दुसम्म आउँदा सञ्चिति एक खर्ब ९९ अर्ब ११ करोडले घटिसकेको छ।

सञ्चिति कम हुँदा उपभोग्य मात्र होइन अत्यावश्यकीय वस्तु तथा सेवा आयात गर्ने क्षमतामा पनि गिरावट आउँछ। उस्तै परे देशले मुद्रा कोषसँग सापटी लिएर आयात गर्ने क्षमता वृद्धि गर्नुपर्ने हुन्छ। यस्तो अवस्था आउनु भनेको देशको ऋण लिने क्षमतामा उच्च गिरावट आउनु हो।

शोधनान्तर घाटा चुलिन थालेको छ। वर्षको दोस्रो महिना नै घाटा ८३ अर्ब ४१ करोड पुगेको छ। यति चाँडो र यति छोटो अवधिमा यति धेरै घाटा पहिलो पटक भएको हो। पछिल्लो सबैभन्दा ठूलो घाटा ६७ अर्ब ४० करोड रुपैयाँ हो। यो आर्थिक वर्ष २०७५/७६ मा भएको थियो। त्यो घाटा पनि एक/दुई महिनामा होइन, वर्षभरी निरन्तर बढेर भएको थियो। यसपालीको घाटामा भने अस्वाभाविक र असहज किसिमको छ।

वर्षभरीमा ३ खर्ब ३६ अर्ब रुपैयाँसम्म भएको चालु खाता घाटा यसपाली दोस्रो महिना नै एक खर्ब नाघिसकेको छ। यो पनि अप्ठेरो अवस्था हो।