BIZMANDU
www.bizmandu.com

मध्यपहाडी लोकमार्ग क्षतविक्षतः  चालु वर्ष बनेका पूर्वाधारमा १ अर्ब ६६ करोड ९६ लाखको क्षति

२०७८ कात्तिक ८

मध्यपहाडी लोकमार्ग क्षतविक्षतः  चालु वर्ष बनेका पूर्वाधारमा १ अर्ब ६६ करोड ९६ लाखको क्षति
मध्यपहाडी लोकमार्ग क्षतविक्षतः  चालु वर्ष बनेका पूर्वाधारमा १ अर्ब ६६ करोड ९६ लाखको क्षति

काठमाडौं। मुलुकको पहाडी जिल्लालाई यातायात सञ्जालमा जोड्न मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा निकै क्षति भएको छ। १ अर्ब ६६ करोड ९६ लाख रुपैयाँको क्षति पुगेको प्रारम्भिक विवरण आयोजनाको छ। जेठ २ गतेपछि आएको बाढी र कात्तिक १ गतेपछिको बेमौसमी वर्षाले राजमार्ग क्षतविक्षत बनाएको हो। 

Tata
GBIME
Nepal Life

राजमार्गका थुप्रै स्ट्रक्चरहरुमा क्षति पुगेको छ भने सडक ठाउँ ठाउँमा भत्किएको र भासिएको छ। पहाडी भेग भएका कारण अत्यधिक वर्षा हुँदा धेरै क्षति भएको आयोजना प्रमुख अर्जुन अर्यालले बताए। उनका अनुसार अहिले अस्थायी रूपमा सडक खुलाउने काम भइरहेको छ। क्षतिको विवरण तयार गरेर आयोजनाले अहिले काम अघि बढाउन गाह्रो परेको ठाउँमा लगानीका लागि सरकारसँग परामर्श अघि बढाएको छ।

योजना कार्यालय पाँचथरमा चालु वर्ष बाढीका कारण २५ करोड ४९ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। चिवाभन्ज्याङ-दारिम्बा खण्ड (पाँचथर) स्ट्रक्चरहरुमा क्षति पुगेको, सडक भत्किएको भासिएका कारण १ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। दारिम्बा-गणेशचोक खण्ड (पाँचथर)  करोड, जोरसाल-संक्रान्ति खण्ड (पाँचथर/तेह्रथुम) ३ करोड, संक्रान्ति-म्याङलुङ (तेह्रथुम) २.५ करोड, म्याङलुङ-वसन्तपुर खण्ड (तेह्रथुम) ५.१४ करोड, हिले-लेगुवा खण्ड (धनकुटा) २ करोड र भोजपुर-चखेवा खण्ड (भोजपुर) ३ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। 

मध्यपहाडी लोकमार्गले हेर्ने तमोर करिडोरमा ७ करोड ३० लाख रुपैयाँको क्षति पुगेको छ। काभ्रेको योजना कार्यालय, धुलिखेलअन्तर्गत ३५ करोड ५५ लाख रुपैयाँको क्षति पुगेको छ। चखेवा-दिक्तेल खण्ड (खोटाङ) कालोपत्रे बिग्रिएको १० करोड, जयरामघाट-हलेसी (खोटाङ)  १० करोड,  खुर्कोट-घुर्मी खण्ड (सिन्धुली)  १० करोड, बाहुनेपाटी-दोलालघाट-चौंरीखोल (सिन्धुपाल्चोक) १.५ करोड, बाहुनेपाटी-दोलालघाट-चौंरीखोला (काभ्रेपलान्चोक) ५० लाख र खुर्कोट-नेपालथोक-चौंरीखोला(रामेछाप) १ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

योजना कार्यालय गोरखा अन्तर्गत ३४ करोड ३३ लाख रुपैया बराबरको क्षति पुगेको छ। पाटीभन्ज्याङ-छहरे खण्ड (नुवाकोट) ३.५ करोड, पिपलटार-देउडी खण्ड (नुवाकोट) १.४ करोड, देउडी-सामरीभन्ज्याङ-भर्याङभुरुङ खण्ड (नुवाकोट) २.५ करोड, आरुघाट-ओखले खण्ड (गोरखा) ४ करोड, ओखले-घ्याम्पेसाल-निबेल खण्ड (गोरखा) ५.३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै निबेल-मसानेपाटी-पालुङटार खण्ड (गोरखा) ५.३ करोड, पालुङटार-चेपे-पाउदीढिक (गोरखा/लमजुङ) ३.५ करोड, किरिन्चे रातमाटा-बिमिरे भन्ज्याङ-भोर्लेटार सडक खण्ड (लमजुङ) ६.६ करोड रुपैयाँ र करापुटार- रामबजार-रुडीखोला खण्ड (लमजुङ) ५.२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

योजना कार्यालय पर्वत अन्तर्गत ५९ करोड १० लाख रुपैयाँ बराबर क्षति भएको छ। याम्दीपुल-घट्टेखोला खण्ड (कास्की) ५० लाख, घट्टेखोला-साँधखोला खण्ड (कास्की) २.५५ करोड, साँधखोला-मालढुंगा खण्ड (पर्वत) ४ करोड, उपल्लोचौर-घोडाबाँधे खण्ड (बागलुङ) १०.५ करोड, घोडाबाँधे –हटिया खण्ड, हटिया-बुर्तिबाङ खण्ड, बुर्तिबाङ-पातिहाल्ने खण्डमा गरी ४२ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

योजना कार्यालय दैलेखअन्तर्गत १२ करोड ४९ लाख रुपैयाँको क्षति पुगेको छ। पातिहाल्ने-खोपीचौर खण्ड (पूर्वी खण्ड) २.२६ करोड, खोपिचौर- चौरजहारी खण्ड (पश्चिम रुकुम) १.६६ करोड, कुडु –थलाह बजार खण्ड (जाजरकोट) ८२.६५  लाख रुपैयाँ, थलाह बजार-बेल्खेत खण्ड (दैलेख) २.५३ करोड र बेल्खेत-चौखुट्टे खण्ड (अछाम) ६.२ करोड रूपैयाँ बराबरको क्षति पुगेको छ।