BIZMANDU
www.bizmandu.com

कोभिड संक्रमण कम भएपछि विश्व उड्डयन क्षेत्रमा पाइलट अभाव सुरु, नेपालमा कस्तो छ अवस्था?


कोभिड संक्रमण कम भएपछि विश्व उड्डयन क्षेत्रमा पाइलट अभाव सुरु, नेपालमा कस्तो छ अवस्था?
कोभिड संक्रमण कम भएपछि विश्व उड्डयन क्षेत्रमा पाइलट अभाव सुरु, नेपालमा कस्तो छ अवस्था?

काठमाडौं। कोभिड -१९ संक्रमण कम भएपछि विश्वभरनै पाइलट अभाव देखिएको छ। कोभिड संक्रमणसँगै हवाई उड्डयन क्षेत्र धरासायी भएपछि पाइलट अन्य पेशामा लागेका थिए।

Tata
GBIME
Nepal Life

एजेन्सीले तयार पारेको विवरण अनुसार आउँदो सन् २०२५ सम्म विश्वभर ५० हजार पाइलट अभाव हुने आंकडा निकालिएको छ। सन् २०१९मा तयार पारिएको तथ्यांक अनुसार विश्वभर करिब साढे तीन लाख पाइलट थिए।

तर कोभिडका कारण अधिकांश पाइलटले आफ्नो कामनै छोड्न वाध्य भएका थिए। कोभिड पहिलो लहर सुरु भएपछि विश्वका विभिन्न वायुसेवा कम्पनीले आफ्ना जनशक्तिलाई बेतलबी विदामा पठाएका थिए। दुई वर्ष यता कामविहीन भएका अधिकांश पाइलट र उड्डयन उद्योगसँग सम्वद्ध जनशक्तिले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्।

विश्वका अन्य देशमा अभाव भएपनि नेपालमा नहुने यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए। विकट गन्तब्यतर्फ पाइलटको अभाव हुन सक्ने प्रक्षेपण गर्दै उनले भने,'दुर्गममा उडान गर्ने वायुसेवा कम्पनीको जहाज कमै छन्। धेरै को पाइलटहरु कोपाइलटमा अपग्रेड भइसकेका छन्। क्याप्टेनको अभाव भएपनि कोपाइलटको अभाव छैन।'

१५ वर्ष यता संचालनमा आएको एटीआर जहाजका लागि कोपाइलट र क्याप्टेनको अभाव नहुने उनले जानकारी दिए। तत्काल नयाँ वायुसेवा कम्पनी थपिएको अवस्थामा भने पाइलट अभाव सिर्जना हुन सक्ने उनले जानकारी दिए।

तीन वटा टर्बोप्रोप थप्ने योजना बनाएको श्री एयरलाइन्सले पछिल्लो दुई महिनामा पाँच जना पाइलट राखेको जनाएको छ। विश्व उड्डयन क्षेत्रमा पाइलटको अभाव देखिएपनि नेपालमा यो समस्या नहुने कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।

पाइलट पढेर आएका झण्डै सय जना अहिले पनि बेरोजगार रहेको उनले बताए।। 'पाइलट पढेर आएकालाई नै टाइपकोर्स गराउन सकिएको छैन। अहिले नयाँ पाइलटका लागि जागिरको अवसर निकै कम देखिएको छ,' प्रवक्ता मानन्धरले भने,'अहिले भएकै पाइलटलाई पनि फुलफ्लेज्ड काम दिन नसकेको अवस्था छ।'

उनका अनुसार हाल कम्पनीमा करिब ४० जना पाइलट तथा कोपाइलट कार्यरत छन्। 

कोभिडको समयमा आधारभुत तलब दिएर जागिरबाट ननिकालेकाले नेपालमा पाइलटको अभाव नहुने वरिष्ठ क्याप्टेन वेद उप्रेती बताउँछन्। दुई वर्षको अवधिमा बुद्ध, यती, श्री, सौर्य, लगायत वायुसेवा कम्पनीले पाइलट निकालेनन्।

'विश्वभरका अधिकांश वायुसेवा कम्पनीले कोभिडको समयमा आफ्ना पाइलटलाई बेतलबी विदामा पठाए। अहिले ती सबै ग्राउण्डेड पाइलटहरुको लाइसेन्स नविकरण, तालिम लगायतमा फस्नुपरेकोले अभाव सिर्जना भएको हो। अझै पनि विश्व उड्डयन क्षेत्र प्रभावितै छ,' उनले भने,'तर नेपालमा त्यस्तो अभाव हुने देखिँदैन। नेपालका वायुसेवा कम्पनीले पाइलटलाई बेतलबी विदामा पठाएनन्।'

नयाँ वायुसेवा कम्पनी आउने र संचालनमा रहेका कम्पनीले जहाज संख्या थपेमा भने समस्या आउन सक्ने उनले बताए।

केही हदसम्म विदेशमा जागिर गुमाएर आएका जनशक्तिले नै माग धान्न सक्ने उनले जानकारी दिए। 'अहिले नै माग बढिसकेको अवस्था छ। कतिपय वायुसेवा कम्पनीले पाइलट रिक्रुट गर्न थालिसकेका छन्। हाल संचालित वायुसेवा कम्पनीले जहाज संख्या विस्तार गरेसँगै दर्जनौँ पाइलटको आवश्यक पर्न आउने देखिन्छ,' उनले भने।

स्टल रुटमा अप्ठेरो

मुलुकमा समिट, तारा, सीता,नेपाल वायुसेवा निगम लगायतका वायुसेवा कम्पनीले स्टल रुट तर्फ नियमित उडान गर्दै आएका छन्। वायुसेवा निगमसँग एमए-६० र वाइ-१२ जहाजमा कार्यरत सरप्लस पाइलट छ।

मुलुकमा स्टल एयरक्राफ्ट कमै छ। अहिले पाइलटको अभाव कम देखिएपनि भविष्यमा जहाज संख्या थपिएसँगै अभाव हुनसक्ने  वरिष्ठ क्याप्टेन उप्रेती बताउँछन्।

धमाधम पाइलट राख्दै

वायुसेवा कम्पनीले जहाज संख्या थपेसँगै नयाँ पाइलट रिक्रुट गर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

माग बढेसँगै अधिकांश कम्पनीले कोपाइलटलाई तालिम दिएर पाइलट तयार पारिसकेको प्राधिकरणले जनाएको छ। केही कम्पनीले विदेशमा काम गर्दै आएका नेपाली पाइलट राखेका छन्।

 प्राधिकरणका अनुसार हाल करिब पाँच सय नेपाली पाइलट कार्यरत छन्। चार वर्षयता पाइलट प्रशिक्षणका लागि नेपालबाट विदेश जाने विद्यार्थीको संख्या तीन सय भन्दा बढी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले तयार पारेको विवरण अनुसार वर्षमा औसत ८७ जना नेपाली विद्यार्थी पाइलट अध्ययनका लागि विदेशिएका छन्। पाइलट प्रशिक्षणका लागि प्रति विद्यार्थी एक करोड रुपैयाँ भन्दा बढी लागत लाग्छ।

पाइलट अध्ययनका लागि अधिकांश नेपाली फिलिपिन्स, दक्षिण अफ्रिका र अमेरिका लगायतका मुलुकमा जाने गरेको प्राधिकरणले जनाएको छ।