BIZMANDU
www.bizmandu.com

भूकम्पपछिको पुनर्निर्माण लगभग सकियो, अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सम्मेलन हुँदै

२०७८ कात्तिक ५

काठमाडौं। नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि भएको पुननिर्माणबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सम्मेलन हुने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट भएको क्षतिको पुननिर्माणको काम ६ वर्षपछि लगभग सकिएको छ  भने केही बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय समुदायमा पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए।  सम्मेलनको नारा 'पुनर्निर्माणबाट उत्थानशीलतातर्फ' रहेको छ। 

सम्मेलनमा निजी आवास पुननिर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण विभिन्न पक्षमा गरिएका अनुसन्धानमलक प्रस्तुतिमा साथै विषयगत गोष्ठीहरु समेत गर्ने कार्यक्रम रहेको छ। 

प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादर श्रेष्ठले सम्मेलनमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी दिए । 
प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ। 

पुननर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो। त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ  जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.४ प्रतिशत हो।