BIZMANDU
www.bizmandu.com

यतीले पायो अन्तर्राष्ट्रिय चार्टर अनुमति, डेढ वर्षभित्रै चारवटा एटिआर-७२ सिरीजको जहाज थप्दै

२०७८ कात्तिक ५

यतीले पायो अन्तर्राष्ट्रिय चार्टर अनुमति, डेढ वर्षभित्रै चारवटा एटिआर-७२ सिरीजको जहाज थप्दै
यतीले पायो अन्तर्राष्ट्रिय चार्टर अनुमति, डेढ वर्षभित्रै चारवटा एटिआर-७२ सिरीजको जहाज थप्दै

काठमाडौं। यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति (एओसी) पाएको छ। कम्पनीले बिहीबार नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति (एओसी) पाएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

Tata
GBIME
Nepal Life

अनुमति पाएलगत्तै कम्पनीले आफूसँग भएको ७२ सिट क्षमताको एटीआर-७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्डलगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने उनले जानकारी दिए।

'अब अन्तर्राष्ट्रिय चार्टर उडानको माग आएको अवस्थामा हामी सेवा दिन तयार छौँ। दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका गन्तब्यमा हामीले चार्टर उडान सेवा दिनेछौँ।  भविष्यमा अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित उडान गर्ने व्यावसायिक योजना बनाएका छौँ।' प्रवक्ता वर्तौलाले भने। 

पोखरा र गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बेस बनाएर उडान गर्ने योजना बनाए पनि कम्पनीले हालका लागि काठमाडौं बेस रही विभीन्न गन्तब्यमा चार्टर उडान गर्ने योजना रहेको उनले बताए। उनका अनुसार यी विमानस्थल तयार भए लगत्तै कम्पनीले बेस उतै बनाएर चार्टर उडान गर्नेछ।

अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर-७२ जहाज थप्ने योजना बनाएको छ। हाल कम्पनीले आफूसँग भएको पाँचवटा एटिआर-७२ सिरीजको जहाजमार्फत देशभित्र विभिन्न गन्तब्यमा सेवा दिँदै आएको छ।

यतीले १५ वर्ष अघि  नै अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको भएपनि  पहिलोपटक मुलुक बाहिर चार्टर उडान गर्न लागेको हो। 'पहिला छुट्टै व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानको इजाजत लिएको थियो।अहिले हामीले आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय  चार्टर उडान गर्न लागेका छौं।'

कम्पनीले यो उडानका लागि डेढ वर्ष अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो। मन्त्रालयले गत वर्ष वैशाख १७ मा अन्तर्राष्ट्रिय उडानका लागि सार्वजनिक सूचना जारी गरेको थियो। यतीले गत वर्ष जेठ २९ गते आवेदन दिएको थियो।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेकाले मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि हवाई सेवा कम्पनीहरूसँग प्रस्ताव आह्वान गरेको थियो। आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीमध्ये बुद्ध एयरले कोभिड सुरु हुन अघिसम्म काठमाडौं-बनारस नियमित उडान गर्दै आएको थियो भने श्री एयरलाइन्सले चार्टर र कार्गोका लागि अन्तर्राष्ट्रिय उडान इजाजत पाइसकेको छ।

नेपालमा रहेका चिनियाँ र नेपाली लगानीको हिमालय र सरकारी कम्पनी नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका छन्।