BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमलाई हिमालय एयरलाइन्सले कसरी उछिन्यो ? एनएसीले सुरु गर्‍यो छानविन


नेपाल वायुसेवा निगमलाई हिमालय एयरलाइन्सले कसरी उछिन्यो ? एनएसीले सुरु गर्‍यो छानविन
नेपाल वायुसेवा निगमलाई हिमालय एयरलाइन्सले कसरी उछिन्यो ? एनएसीले सुरु गर्‍यो छानविन

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक कलहको फाइदा हिमालय एयरलाइन्सले उठाएको छ। निगमका प्रवन्ध निर्देशक डिमप्रकाश पौडेलले निगम निजीकरणको प्रस्ताव ल्याएको भन्दै कर्मचारीले कार्यकक्षमा समेत जान रोक लगाएका थिए।

Tata
GBIME
Nepal Life

निगमको नेतृत्व तहनै नहुँदा व्यवस्थापन लथालिङ भएको र त्यसको प्रत्यक्ष फाइदा हिमालयले पाएको हो। सेप्टेम्बर महिनामा १ हजार २२ यात्रु बढी बोकेर हिमालयले निगमलाई उछिनेको थियो।

दुबै कम्पनीको उडान गन्तब्य र जहाज संख्या बराबरी छ। अझ निगम राष्ट्रिय ध्वजावाहक भएकाले यात्रुको अपनत्व बढी रहने गर्छ। त्यसमा पनि सेप्टेम्बरमा दसैंको पूर्व सन्ध्या भएकाले वैदेशिक रोजगारीमा गएका नेपाली बढी फर्किने गर्छन्। त्यसमा पनि हिमालय भन्दा धेरै गन्तब्यमा निगमले उडान भर्छ। निगमले धेरै यात्रु आउजाउँ हुने काठमाडौं-दिल्ली, हङकङ र जापानमा उडान गर्छ।

निगमले एयरबस-३३० र एयरबस-३२० सिरिजको कुल चारवटा जहाजमार्फत दिल्ली, कतार, दुवई,  हङकङ, मलेसिया र जापानमा उडान गर्दै आएको छ। निगमले दिल्ली, कतार र दुवईमा साताको सातै उडान छ। हङकङ र जापानमा निमगले साताको एक-एक उडान गर्दै आएको छ। मलेसियामा भिजिट भिसामा जाने यात्रुका लागि मात्र उडान गरिरहेको छ।

हिमालयसँग तीन वटा एयरबस-३२० र एउटा एयरबस -३१९ सिरिजको जहाजमार्फत मलेसिया, कतार, साउदी अरेविया, दुवईमा नियमित उडान गर्दै आएको छ।

अनुसन्धान गर्दै निगम

यात्रु हिस्सा घटेको बारे निगमले अनुसन्धान गर्ने भएको छ। निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले यात्रु संख्या कम भएका बारेमा आन्तरिक अनुसन्धान सुरु भइसकेको जानकारी दिए।

'यात्रु संख्यामा एक हजार जनाको अन्तर देखिएको छ। यो विषयमा अनुसन्धान सुरु गरिसकिएको छ। तथ्यांक र बजार सेयर घट्नुको कारण पत्ता लगाउनका लागि सोमबारबाटै अनुसन्धान सुरु भएको छ,' उनले भने।

निगमले नियमित उडान गर्दै आएको विभिन्न मुलुकमा जारी गरिएको निर्देशिका कारण उडान संख्या उल्लेख्य रहेपनि यात्रु संख्यामा कमी आएको निगमको प्रारम्भिक ठम्याइँ छ।

निगमले जापान तर्फको उडानमा एक सय आठ जना यात्रु मात्रै लैजान पाउँछ।

हिमालय के भन्छ?

हिमालयले भने आफूसँग भएको तीनवटा एयरबस-३२० र एउटा एयरबस-३१९ गरी कुल चारवटा जहाज निरन्तर रुपमा उडान गरेकाले यात्रुको संख्या बढेको जनाएको छ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड प्रोटोकलका कारण अझै सोचे अनुसार यात्रु लैजान नसकिएको बताए।

'हामीले अहिले चीनतर्फ नियमित यात्रु उडान गरेका छैनौँ। अहिलेको खाडी मुलुकमा नियमित यात्रु उडान भइरहेको छ। माग उल्लेख्य आएसँगै विभिन्न मुलुकले तयार गरेको स्वास्थ्य निर्देशिका अनुसार सेवा दिँदै आएका छौँ,' उनले भने, 'अवस्था सामान्य भएसँगै उडान संख्या र यात्रु संख्या वृद्धि हुँदै जाने आशा लिएका छौँ।'

सेप्टेम्बरमा हिमालयले कुल दुई सय ५७ उडान अवतरण मार्फत २६ हजार आठ सय १० यात्रुलाई सेवा दिएको छ भने निगमले कुल एक सय ८६ उडान अवतरणमार्फत २५ हजार सात साय ८८ यात्रुलाई सेवा दिएको छ।