काठमाडौं। अविरल वर्षातका कारण जलमग्न रहेको विराटनगर विमानस्थल शुक्रबार सम्मका लागि बन्द हुने भएको छ। विमानस्थलको पुनः संचालनका लागि तयारी गर्न समय लाग्ने भएपछि यो विमानस्थल शुक्रबार साँझ ५:०० बजेसम्मका लागि बन्द गर्न नोटाम जारी गरिएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए।
बुधबारको तुलनामा विमानस्थलको धावनमार्गतर्फ पानीको सतह कम भएपनि ट्याक्सी वे र एप्रोनमा पानीको सतह कम नभइसकेको उनले जानकारी दिए।
विमानस्थल छेउबाट बग्ने नहर व्यवस्थापन नभएका कारण विमानस्थल नै डुबानमा परेको उनले बताए। 'वर्षौँदेखि नहरमार्फत समग्र विराटनगरमा संचालित उद्योगबाट निस्किएको पानी निकास हुँदै आएको छ। उद्योग विस्तार भए। तर नहर विस्तार नगरिएको कारण विमानस्थलमा असर परेको हो,' विमानस्थल प्रमुख खरेलले भने।
डुबानका कारण विमानस्थलमा प्रयोग हुँदै आएको विद्युतीय उपकरण पुनः मर्मत गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। सकेसम्म शनिबारबाट विमानस्थल संचालनमा ल्याउने योजना रहेको उनले बताए।
डुबानका कारण मङ्गलबारदेखि विमानस्थलमै थन्किएका बुद्ध र श्रीको जहाजको इन्सपेक्सन पछि काठमाडौं पठाउने योजना रहेको उनले जानकारी दिए। 'जहाजको २४ घण्टामा डिआइ गर्नुपर्ने हुन्छ। दुवै कम्पनीबाट प्राविधिक टोली आएर जहाजको जाँच पछि उडान योग्य देखिएको अवस्थामा यहाँबाट यात्रुरहित काठमाडौं पठाउनेछौँ,' उनले भने।
यो विमानस्थल बन्द गर्ने नोटाम जारी भएसँगै बुधबारदेखि नियमित उडान गर्दै आएका बुद्ध, यती, श्री लगायत वायुसेवा कम्पनीले भद्रपुरतर्फ उडान संख्या थपेका छन्।
बिहीबार मात्रै यी वायुसेवा कम्पनीले क्रमशः सात, चार, दुई र तीन वटा गरी कुल १६ वटा उडान गर्न लागेको भद्रपुर विमानस्थल प्रमुख मुराहरी पौडेलले बताए। विराटनगरतर्फ बुधबार (हिजो) पनि उडान प्रभावित भएपछि यी वायुसेवा कम्पनीमार्फत काठमाडौं-भद्रपुर तर्फ कुल १९ उडान गरेका थिए।
अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै यी वायुसेवा कम्पनीले भद्रपुरमा उडान संख्या थपेका हुन्।
यस अघि बुद्ध, यती, श्री, सौर्य लगायत चारवटा वायुसेवा कम्पनीले यो गन्तब्यमा दैनिक क्रमशः पाँच, दुई, दुई, दुईवटा नियमित उडान गर्दै आएका थिए।