BIZMANDU
www.bizmandu.com

चौतर्फी दबाबपछि बैंक वित्तीय संस्थाले दिने ब्याज नै तोकिदियो राष्ट्र बैंकले, बैंकको बढिमा ९.३%

२०७८ कात्तिक ३

काठमाडौं। कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार साँझ उल्टाएको राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको अधिकतम ब्याज दर निर्धारण गरिदिएको छ।

Tata
GBIME
Nepal Life

बिहानैबाट सक्रिय रहेका राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालले बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आफैले फोन गरेर ब्याज दर तोकिदिएका थिए। विकास बैंकतर्फ भने संघका अध्यक्ष प्रद्युमन पोखरेलसँग फोनमै कुराकानी गरेर दर तोकिदिएका थिए। फाइनान्सको भने संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतलाई डाकेर दर तोकिदिएका थिए।

अब बाणिज्य बैंकहरुले अधिकतम ९.३ प्रतिशतभन्दा बढि ब्याज दिन पाउने छैनन्। तर सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकलाई ९.३६ प्रतिशतसम्म ब्याज राख्न दिइने छ। विकास बैंकहरुले ९.५ र फाइनान्स कम्पनीहरुले ९.६ प्रतिशतसम्म ब्याज दिन पाउने छन्। समस्याग्रस्तबाट मुक्त भएकाहरुले थप ०.१५ प्रतिशतसम्म ब्याज दिन पाउने छन्।

यसअघि ब्याज दरमा भद्र सहमति गराउँदै आएको राष्ट्र बैंकले यसपाली आँफैले अधिकतम ब्याज दर तोकिदिएको हो। 

राष्ट्र बैंकले मंगलबार साँझ ब्याज दर अघिल्लो महिनाको भन्दा १० प्रतिशत तलमाथि मात्र गर्न पाइने निर्देशन दिएको थियो। साथै ब्यक्तिगतको भन्दा संस्थागतको १ प्रतिशत बिन्दु बढि ब्याज हुनु पर्ने ब्यवस्था गरेको थियो। यसबाहेक कात्तिकका लागि घोषणा गरिएको ब्याज खारेज गरेर असोजको ब्याजका आधारमा १० प्रतिशत तलमाथि गर्न पाइने ब्यवस्था गरेको थियो।

यतिले पनि नपुगेपछि बुधबार गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, ढकाललगायतले ब्याज निर्धारण गर्ने निर्णय गरेका हुन्। गभर्नरलाई निजी क्षेत्रका साथै सरकारी पक्षको पनि दबाब थियो। त्यही भएर ब्याज दर नै तय गरिदिएको हो।