BIZMANDU
www.bizmandu.com

भारतमा प्याजको मूल्य बढ्दा नेपालमा पनि देखियो असर, किलोकै ८० रुपैयाँसम्म पर्न थाल्यो

२०७८ कात्तिक ३

भारतमा प्याजको मूल्य बढ्दा नेपालमा पनि देखियो असर, किलोकै ८० रुपैयाँसम्म पर्न थाल्यो
भारतमा प्याजको मूल्य बढ्दा नेपालमा पनि देखियो असर, किलोकै ८० रुपैयाँसम्म पर्न थाल्यो

काठमाडौं । चाडपर्वले भारतमा प्याजको मूल्य महंगिएपछि यसको असर स्थानीय बजारमा परेको छ । कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकेजी ७५ रुपैयाँ देखी ८० रुपैयाँ तोकिएको छ । असोजमा प्रतिकेजी ४६ रुपैयाँमा बिक्री भएको प्याज यति बेला बढेर प्रतिकेजी ८० रुपैयाँसम्म पुगेको हो । एक महिनामै प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँले बढेको छ ।

Tata
GBIME
Nepal Life

भारतीय बजारमा मूल्य प्याजको मूल्य बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बिकास समितिले जनाएको छ। अफसिजन सँगै चाडपर्वले भारतीय बजारमा प्याज महंगो भएको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।

चाडपर्वमा हरिया तरकारीको मूल्य बढ्ने गरेको थियो । प्याज नभइ नहुने तरकारी होइन । तर प्रयोग गरिरहेको उपभोक्ताले मूल्य बढेपनि खरिद गर्न छोड्दैनन् । यसले गर्दा चाडपर्वमा बजारमा प्याजको मूल्य बढ्दा उपभोक्ता थप मारमा पर्न थालेका छन् ।

प्याजको मूल्य भारतीय बजारसँग निर्भर रहेको छ । उता मूल्य बढे यहाँ पनि बढ्छ ।यति बेला भारतबाट दैनिक ८० देखि एक सय टनसम्म प्याज आयात हुँदै आएको छ। कुनै समय आयात कम हुँदा मूल्य बढ्ने गरेको थियो । बजारमा खपत कम भएपनि भारतीय बजारका कारण प्याजको मूल्य प्रतिकेजी ८० रुपैयाँ थोकमै पर्न थालेको उनले जानकारी दिए।

हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको छ । अहिले आयात कम भएर प्याजको मूल्य बढेको होइन । भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी २० रुपैयाँसम्म बढेको पाइएको छ । यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो।
'अबको केही समय प्याजको मूल्य केही बढ्छ 'उनले भने । नयाँ उत्पादन आउन अझै केही समय लाग्ने हुनाले मूल्य महंगिन सक्ने सम्भावना छ । यति बेला चाडपर्वसँगै होटल रेष्टुरेन्टहरु खुलेपछि प्याजको खपत थप बढाएको छ ।

भारतीय बजारमानै प्याजको माग धेरै हुने गरेको छ । उत्पादन कम र माग धेरै भएकोले केही वर्षदेखि प्याजको मूल्यमा उतारचढाव भइरहेको छ । उताबाट मूल्य घटेर आएमात्र स्थानीय बजारमा प्याजको मूल्य घट्ने हो । नयाँ सिजन सुरु भएपछि मात्र प्याजको मूल्य घट्ने सुचना अधिकारी श्रेष्ठले बताए। गत वर्ष फागुनमा प्याजको मूल्य प्रतिकेजी ८५ रुपैयाँ पुगेको थियो । नयाँ सिजन सुरु भएपछि मूल्य घट्दै प्रतिकेजी ३५ रुपैयाँसम्म उपभोक्ताले खरिद गरेका थिए ।

हाल बजारमा बिक्री भइरहेको प्याज सबै आयातित प्याज हो स्वदेशी उत्पादन प्याजले थोरै समयमात्र माग धान्ने गरेको छ । जसले गर्दा नेपालमा बर्षेनी २ अर्ब भन्दा बढी रुपैयाँको प्याज भारतबाट मात्र आयात हुने गरेको छ ।