काठमाडौं। पाँच दिनको दसैं बिदापछि खुलेको सेयर बजार आइतबार १७.५९ अंकले उकालो लागेको छ। आइतबार एकसय ७४ कम्पनीको सेयर किनबेच भएको छ। कुल एक अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
२६६५ अंकसम्म पुगेको बजार बीचमा २६२५ अंकसम्म ओर्लेको थियो। पछि बजार सुधार हुँदै २६५६.९७ अंकमा पुगेर बन्द भएको छ।
आइतबार दुईसय १९ कम्पनीको सेयर किनबेच भएको छ भने कुल एक अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ।
बजारमा एकसय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य आइतबार स्थिर रह्यो। म्युचुअल फन्डबाहेक अरु सबै उपसूचक बढेका छन्।
निर्जीवन बीमा कम्पनी १२२.४७ अंकले बढेको छ। जीवन बीमा कम्पनी ११२.६३, होटल तथा पर्यटन १०५.१८ अंकले बढेका छन्। म्युचुअल फन्ड भने ०.११ अंकले ओरालो लागेको छ।
आइतबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्स्, हिमालयन ऊर्जा, घलेम्दी हाइड्रो, कामना सेवा विकास र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य बढेको छ। बोटलर्स नेपाल (तराई) सहित मैलुङ खोला जलविद्युतलगायतका कम्पनीको सेयर मूल्य भने घटेको छ।
आइतबार नबिल बैंक, हिमालयन डिस्टिलरी, आइसीएफसी फाइनान्स, सानिमा बैंक र कामना सेवाको सेयर सबैभन्दा बढी किनबेच भएको छ।
दसैं बिदाअघि तरलता अभाव, ब्याज दर बृद्धिजस्ता कारणले सेयर बजार २३ अंकले ओरालो लागेको थियो।