BIZMANDU
www.bizmandu.com

कोइला संकटकै बीच मुकेश अम्बानीको ठूलो फड्को, तीन दिनमा चार बिदेशी कम्पनीसँग सम्झौता

२०७८ असोज २७

भारतमा कोइला संकट चुलिँदै गर्दा अर्बपति उद्योगपति मुकेश अम्बानीले हरित उर्जा क्षेत्रतर्फ आफ्नो कम्पनीलाई तीब्र विस्तार गरेका छन्। रिलायन्स इन्डस्ट्रिजले तीन दिनमा चारवटा बिदेशी कम्पनीसँग यसकालागि सम्झौता समेत गरिसकेको छ।

Tata
GBIME
Nepal Life

रिलायन्स इन्डस्ट्रिजले आफ्नो युनिट रिलायन्स न्यू इनर्जी सोलार लिमिटेडका तर्फबाट जर्मनीको कम्पनी नेक्सवेफ जिएमबिएच मा लगानी गरेको छ। यसैगरी उसले डेनमार्कको कम्पनी टेइस्डलसँग पनि सम्झौता गरेको छ।

कम्पनीका अनुसार रिलायन्सले सिरिज सि फाइनान्सिंगका रुपमा नेक्सेफमा साढे २ करोड यूरो लगानी गरेको हो। यो लगानीबाट रिलायन्स यो कम्पनीको रणनीतिक लगानीकर्ता बनेको छ। जर्मनी कम्पनी नेक्सवेफले मोनोक्रिस्टलाइन सिलिकन वेफरको निर्माण तथा विकास गर्छ। यसलाई ग्रिन सोलार वेफर्स समेत भनिन्छ जुन निकै किफायती हुन्छ। कम्पनीसँगको सम्झौता अक्टोबरकै अन्तिम सम्ममा टुंगिने बताइएको छ।

रिलायन्सका अनुसार रिलायन्स न्यू इनर्जीले डेनमार्कको कम्पनी टेइस्डलसँग गरेको सम्झौता अनुसार भारतमा हाइड्रोजन इलेक्ट्रोलाइजर्स बनाउन सुरु हुनेछ। कम्पनीले हाल यसलाई विकास गरिरहेको बताइएको छ। अम्बानीले आगामी तीन वर्षमा न्यू क्लिन इनर्जी बिजनेसमा ७५ हजार करोड भारु लगानी गर्ने लक्ष्य राखेको बताइएको छ। कम्पनीद्ये सन् २०३५ सम्ममा नेट कार्बन न्यूट्रल बन्ने लक्ष्य समेत राखेको छ।

यी दुई कम्पनीसँग सम्झौता हुनु अघि कम्पनीले दुईवटा अन्य विदेशी कम्पनीहरुलाई अधिग्रहण गर्ने घोषणा गरिसकेको छ। कम्पनीले चाइना नेसनल ब्ल्यूस्टार ग्रुपको शतप्रतिशत शेयर किनिसकेको छ । यो कम्पनीले सोलार प्यानलहरु निर्माण गर्दै आएको छ। यस्तै कम्पनीले स्टेरलिङ एण्ड विल्सन पावरको ४० प्रतिशत शेयर पनि किन्ने घोषणा गरेको छ। यो कम्पनीले सोलार पावर परियोजना अन्तर्गत इन्जिनियरिङ प्रोक्योरमेन्ट तथा कन्सट्रक्सनको काम गर्दै आएको छ।