BIZMANDU
www.bizmandu.com

साउनमा थपिए झण्डै ६१ हजार फाइबर इन्टरनेट ग्राहक, वर्ल्डलिंक पछि आक्रामक बन्दैछ नेपाल टेलिकम

२०७८ असोज २६

साउनमा थपिए झण्डै ६१ हजार फाइबर इन्टरनेट ग्राहक, वर्ल्डलिंक पछि आक्रामक बन्दैछ नेपाल टेलिकम
साउनमा थपिए झण्डै ६१ हजार फाइबर इन्टरनेट ग्राहक, वर्ल्डलिंक पछि आक्रामक बन्दैछ नेपाल टेलिकम



काठमाडौं। एकैमहिना नेपालभर फाइबर इन्टरनेट ग्राहक झण्डै ६१ हजारले थपिएका छन्। नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार असारमा १४ लाख ३४ हजार १०३ फाइबर इन्टरनेट प्रयोगकर्ता रहेकोमा साउनमा ६० हजार ८३५ ले बढेर १४ लाख ९४ हजार ९३८ पुगेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

उक्त अवधिमा सबैभन्दा धेरै फाइबर इन्टरनेट प्रयोगकर्ता थप्नेमा वर्ल्डलिंक रहेको छ। असारमा पाँच लाख १० हजार ९२ रहेको फाइबर इन्टरनेट प्रयोगकर्ता साउनमा १९ हजार १५९ ले बढेर पाँच लाख २९ हजार २५१ पुगेको प्राधिकरणले जनाएको छ। 

वर्ल्डलिंक पछि धेरै फाइबर इन्टरनेट ग्राहक थप्नेमा सुबिसु छ। असारमा एक लाख ७४ हजार ९९० फाइबर इन्टरनेट रहेको सुबिसुले साउनमा १८ हजार ७३५ ग्राहक थपेर एक लाख ९३ हजार ७२५ पुर्‍याएको प्राधिकरणले जनाएको छ।

तेस्रो बढी फाइबर इन्टरनेट ग्राहक थप्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ। निकै पछि फाइबर इन्टरनेटको व्यापार र विस्तारमा लागेको टेलिकम पछिल्लो समय आक्रमक बन्दै गएको छ। 

असारमा एक लाख २२ हजार ११० फाइबर इन्टरनेट ग्राहक रहेको टेलिकमले साउनमा नौ हजार ४२२ ग्राहक थपेर एक लाख ३१ हजार ५३२ पुर्‍याएको छ। त्यसैगरी, टेलिकम पछि भायनेटले फाइबर इन्टरनेट ग्राहक थपेको छ। 

भायनेटसँग असारमा एक लाख ५२ हजार १३१ फाइबर इन्टरनेट ग्राहक रहेकोमा साउनमा चार हजार ८२२ थपेर एक लाख ५६ हजार ९५३ पुर्‍याएको प्राधिकरणले जनाएको छ। भायनेटपछि क्लासिक टेकले साउनमा एक हजार १८१ फाइबर इन्टरनेट ग्राहक थपेको छ। 

असारमा क्लासिक टेकसँग एक लाख ५६ हजार ९८६ फाइबर इन्टरनेट ग्राहक थिए। साउनमा क्लासिक टेकसँग एक लाख ५८ हजार १६७ फाइबर इन्टरनेट ग्राहक पुगेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ४४ वटा कम्पनीहरुले वायरलेस, केबल र फाइबर इन्टरनेट सेवा दिइरहेका छन्। असारमा ४३ हजार ३०३ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेकोमा साउनमा घटेर ४३ हजार २८६ पुगेको प्राधिकरणले जनाएको छ। 

वायरलेस इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी नेपाल टेलिकमकै छ। साउनमा टेलिकमको वायरलेस इन्टरनेट ग्राहक १८ हजार ५६२ रहेका छन्। सुबिसुसँग पनि १० हजार ६१४ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी, केबल इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने गिरावट आएको छ। असारमा एक लाख ८१ हजार ९०० केबल इन्टरनेट प्रयोगकर्ता रहेको देशैभरी साउनमा भने आठ हजार ६७९ ले घटेर एक लाख ७३ हजार २२१ पुगेको प्राधिकरणले जनाएको छ। 

केबल इन्टरनेटमा ठूलो ग्राहक हिस्सा पनि टेलिकमसँगै छ। टेलिकमले गत साउनसम्म एक लाख ४२ हजार १३९ ग्राहकहरुलाई केबल इन्टरनेट सेवा दिइरहेको प्राधिकरणले जनाएको छ। असारमा टेलिकमसँग एक लाख ४९ हजार ३५२ केबल इन्टरनेट ग्राहक थिए। यस्तै, सुबिसुसँग असारमा २५ हजार ६५ केबल इन्टरनेट ग्राहक रहेकोमा साउनमा घटेर २३ हजार ६०७ पुगेको छ। 

पछिल्लो समय केबल इन्टरनेट प्रयोगकर्ताहरु फाइबर इन्टरनेट तर्फ आकर्षित भइरहेकाले केबल इन्टरनेट ग्राहकहरुको संख्या निरन्तर घट्दै गएको देखिन्छ। 

केबल तथा फाइबर तार नपुगेका वा भौगोलिक रुपमा विकट क्षेत्रहरुमा अझै पनि प्रयोगकर्ताहरुले वायरलेट इन्टरनेट प्रयोग गरिरहेकाले त्यसको औचित्य कायमै रहेको प्राधिकरणले जनाएको छ। पछिल्लो समय आएका इन्टरनेट सेवा प्रदायकहरुले वायरलेस र केबल इन्टरनेटलाई फेज आउट गर्दै फाइबर इन्टरनेटमा मात्रै केन्द्रित भएर सेवा सुरु गरिरहेका छन्। 

असारमा वायरलेस, केबल र फाइबर प्रयोगकर्ताको संख्या १६ लाख ५९ हजार ३०६ रहेकोमा साउनमा बढेर १७ लाख ११ हजार ४४५ पुगेको प्राधिकरणले जनाएको छ।