Bizmandu
www.bizmandu.com

भत्किनुअघि होटल समिटलाई जन्मदाता कस दम्पतीले गरे अन्तिम गुडबाई, 'यो पनि मानिसको जीवन झैं रहेछ'

भत्किनुअघि होटल समिटलाई जन्मदाता कस दम्पतीले गरे अन्तिम गुडबाई, 'यो पनि मानिसको जीवन झैं रहेछ'


एकाबिहानै उनी चराहरुको चिरबिर सुनेर ब्युँझिए होटलको उही 'फेवरेट' कोठामा। बाहिर निस्केर साँघुरिएको बगैंचामा केहीबेर टहलिए। यो फराकिलो आँगनबाट देखिने उज्यालो काठमाडौंको रंग कति धमिलिएछ ! ५० वर्ष अघि पहिलोपटक आएर यही ठाउँमा उभिँदा नेपालसँगको प्रेममा परेका थिए उनी। 



आज यो शहर उनले पहिले देखेकोभन्दा कति फरक भइसक्यो कति ! गाडीहरुको कोलाहल र मानिसहरुको भिडभित्रै हराउने काठमाडौं त उनले कहिल्यै सोचेका पनि थिएनन्। उनले देखेको काठमाडौं उपत्यका पुराना घरहरु, स्थानीय किसानहरुले डल्ला फोरिरहेका फराकिला खेत, सफा पानी बग्ने वागमती भएको यस्तो 'एन्टिक भ्याली' थियो, जहाँ आउन युरोपेलीहरु लालायित हुन्थे। जीवविज्ञानका विद्यार्थी कस द स्तोपलार पनि नेपाल हेर्ने त्यस्तै लालसा बोकेर पहिलोपटक दोल्फ नोर्डेकसँग ट्रेकिङ गर्न आएका थिए। त्यसबेला उनको उमेर थियो जम्मा २३ वर्ष।

यतिबेला होटल समिटमा उनै दोल्फको पोट्रेट मुनि बसेर कस द स्तोपलार आफूले जन्माएको सन्तानले मृत्युवरण गर्न लागेको अवस्थाको साक्षी महसुस भइरहेको सुनाइरहेका थिए। 'शायद म अर्कोपटक आउँदा यो ठाउँ यस्तो रहने छैन। म फेरि आएर यही होटलमा बस्न पनि पाउने छैन। यहाँका हरेक इँटाले, काठका टुक्राटाक्रीले, यहाँका रुख बोटबिरुवाले जसरी मलाई चिन्छन् फेरि अरुले मलाई त्यसरी नचिन्लान् पनि…..'- भावुक हुँदै कस स्तोपलारले भने। 

कस स्तोपलार अर्थात होटल समिटका जन्मदाता। स्तोपलार र उनका लागि अभिभावक र गुरुको भूमिकामा रहेकादोल्फ नोर्डेक मिलेर सन् १९७८ मा सानेपा हाइटको बगैंचासहितको एउटा सुन्दर घर किनेर सुरु गरेका थिए होटल समिट। सानेपाको यो उचाइबाट हेर्दा त्यतिबेला काठमाडौं छ्याङ्ङ देखिन्थ्यो भने लाङटाङ र गणेश हिमाल हेर्दै ब्रेकफास्ट खाँदा यो उचाइ नै काठमाडौंको समिट हो भन्ने उनीहरुको बुझाइ बन्यो, अनि होटलको नाम जुराए 'समिट'। अब केही दिनमै होटल समिट सधैंका लागि बन्द हुँदैछ। समिटको इतिहास सधैंका लागि मेटिँदैछ। 

स्तोपलार आफ्नो रहर, प्रेम र सपनाहरुको साक्षी यो भवन भत्किरहेको दृश्य हेरिरहेका छन्। यहाँ अन्तिम पटक होटललाई 'गुडबाई' भन्न आएका हुन् कस स्तोपलार र उनकी श्रीमती एर्ना आनमा। 

'होटल समिटसँगको नाता टुटे पनि नेपालसँग मेरो नाता कहिल्यै टुट्दैन। यहाँ साथीभाईहरु छन्। नेपालप्रति धेरै माया छ। समिटपछि पनि म फरक रुपले नेपालसँग जोडिइरहेको हुनेछु'- उनले नयाँ परिचय खुलाए। अहिले उनी हिमालयन टाइगर फाउन्डेसनका अध्यक्षका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन्, जहाँबाट उनले नेपालको प्रकृति संरक्षणका क्षेत्रमा काम गरिरहने छन्। त्यसो त नेदरल्याण्डमा बसेर नेपाल जान चाहनेहरुका लागि भिजा उपलब्ध गराउने र नेपालबारे प्रचार गर्ने काम त वर्षौदेखि उनले गरिआएकै छन्। 

---

चराको चिरबिरले ब्युँझिएको केही घण्टापछि उनले यहाँ डोजर र घनका कर्कश आवाज सुनिरहेका छन्। आफैंले इँटाका टुक्रा टुक्रा जोडेर बनाएको होटल समिट फोडिएको नमिठो मानेर हेर्नुको विकल्प पनि छैन। पूरा डेढ वर्ष लगाएर उनले समिट होटललाई जुन आकार दिएका थिए यतिबेला त्यही घर माटोमा मिलिरहेको छ। उनको प्रिय बगैंचामाथि डोजर चलिरहेको छ। भक्तपुरका १० जना कालिगढले वर्षौं मेहनत गरेर कुँदेका काठका बुट्टाहरु अब फोहोरका थुप्रा बन्दैछन्। जुन गाडीमा लोड गरेर घर बनाउन इँटाहरु यहाँ ल्याइएका थिए उस्तै गाडीले ती ईंटाहरु यहाँबाट बोकेर फेरि अन्तै सार्दैछन्। 

कुनै बेला सानेपा हाइटमा हरियालीभित्र लुकेको होटल समिटको नामोनिसान मेटिँदैछ र स्तोपलार यसको अन्तिम दृश्य आफ्नो क्यामेरामा कैद गरेर नेदरल्याण्ड फर्किँदैछन्। 

***

सन् १९७० को मार्च महिना। डचहरुको एउटा टोली मनास्लु हिमाल वरपरको पदयात्रामा आएका थिए। बुढीगण्डकी नदीको किनारै किनार उनीहरुको टोली उत्तरतिर लागेको थियो। गोर्खाको पालुङटार, बारपाक सबैतिर हिँड्दै तीन साताको पदयात्रा गरेर फर्किएको थियो टोली। त्यही टोलीमा थिए २३ वर्षका युवा स्तोपलार जसलाई अझै सम्झना छ, त्यसबेला बारपाकमा जम्मा २० वटा जति स-साना छाप्राहरु थिए। नेदरल्याण्डको हार्लेम अर्थात यहाँको तराई जस्तै सम्म फाँटमा हुर्किएका स्तोपलारलाई नेपालको त्यो पदयात्रा बारम्बार आइरहन मनलाग्ने कारण बन्यो। 

दोस्रोपटक उनी सन् १९७३ मा बायोलोजिस्टको समूहसँग कालीगण्डकी पुगे। जोमसोममा समय बिताए। आफ्नो विषयसँग मिल्ने भएकाले उनले मास्टर्स पढ्दा पनि एभरेष्टमा पाइने एक किराको प्रजातिबारे अध्ययन गर्ने सोच बनाए र त्यस क्रममा पटक पटक उनी नेपाल आइरहे। 
हाल होटल समिट रहेको भवनमा त्यो बेला आइएनजीओ सञ्चालनमा थियो। त्यहाँ दुई तीन वटा कोठाहरु गेस्ट रुमका रूपमा थिए, जहाँ विदेशीहरु आउँदा बस्ने गर्थे। सन् १९७८ को एक साँझ दोल्फ र स्तोपलार दुवै त्यहीँ बसिरहेका थिए। खाना बनाएर दिने कुकले कुराकानीका क्रममा भने 'अहिले यो घर बिक्रीमा छ।'

'हाम्रा धेरै साथीहरु ट्रेकिङका लागि नेपाल आउँथे। म त्यसबेला समिट ट्रेकिङको नामबाट नेपालमा पदयात्राको संयोजन गर्थें। काठमाडौंमा त्यो समय बस्नका लागि राम्रो र प्रशस्त होटलहरु थिएन। पुल्चोकमा नारायणी र खिचापोखरीको पानोरामा मात्र थिए। दोल्फ र मैले सल्लाह गर्‍यौं। हामी यहाँ किन होटल नखोल्ने? आफूसँग भएको पैसा जोड्ने र नपुगे साथीभाईसँग माग्ने सल्लाह गरेर हामीले यो घर किन्ने निर्णय गर्‍यौं। र सन् १९७८ मा हामीले यो प्रोपर्टी किन्यौं,' पुराना दिन सम्झिँदै स्तोपलारले भने। 

होटल खोल्ने त निर्णय भयो तर त्यसबेला स्तोपलार र दोल्फको कुनै बिजनेस मोडल थिएन। न उनीहरुले त्यहाँ कुनै फिजिबिलिटी स्टडी गरेका थिए। 'हाम्रो लागि यो केवल फेन्टास्टिक ठाउँ थियो यहाँबाट अभूतपूर्व दृश्य देखिन्थ्यो। हामीलाई यहाँ बस्न मन पर्थ्यो त्यतिका आधारमा हामीले यहाँ लगानी गर्ने सोच बनायौं।' अहिले व्यापार गर्न गरिने पूर्व तयारीका लामो लिस्ट बताउँदै उनले सुनाए- 'हाम्रो लागि त्यो बेला कुनै बिजनेस मोडलले काम गरेको थिएन। न हामीले यहाँ होटल बनाउन कुनै आर्किटेक्ट नै राख्यौं। हामीले केवल हाम्रो रहर र टेस्ट पछ्यायौं। हामीले जे जस्तो चाह्यौं त्यस्तै बनायौं।'

कस स्तोपलार अर्थात होटल समिटका जन्मदाता। स्तोपलार र उनका लागि अभिभावक र गुरुको भूमिकामा रहेका दोल्फ नोर्डेक मिलेर सन् १९७८ मा सानेपा हाइटको बगैंचासहितको एउटा सुन्दर घर किनेर सुरु गरेका थिए होटल समिट। सानेपाको यो उचाइबाट हेर्दा त्यतिबेला काठमाडौं छ्याङ्ङ देखिन्थ्यो भने लाङटाङ र गणेश हिमाल हेर्दै ब्रेकफास्ट खाँदा यो उचाइ नै काठमाडौंको समिट हो भन्ने उनीहरुको बुझाइ बन्यो, अनि होटलको नाम जुराए 'समिट'। अब केही दिनमै होटल समिट सधैंका लागि बन्द हुँदैछ। समिटको इतिहास सधैंका लागि मेटिँदैछ। 

---

खासमा स्तोपलार र दोल्फले लोकेसन र भ्यूका लागि मात्र यो ठाउँ चयन गरेका थिए। यहाँबाट पूरै शहर खुला देखिन्थ्यो। कुनै अग्ला बिल्डिङ थिएनन्। गणेश हिमाल र लाङटाङ छ्याङ्ङ देखिन्थ्यो। बिस्तारै एक कान दुई कान हुँदै समिटको प्रचार फैलियो। त्यहाँको बार एकदमै पपुलर थियो। चर्चा सुनेरै  मानिसहरु आउन थाले। उनीहरुले खासै कुनै मार्केटिङ मोडल पनि अपनाउनु परेनछ। 

घर किनेपछि यहाँको ठूलो बगैंचालाई मासेर यहाँ ठूलै बिल्डिङ बनाउँछन् कि भनेर मानिसहरुले स्तोपलार र दोल्फलाई बारम्बार सोध्ने पनि गर्थे रे। तर उनीहरुका लागि सबैभन्दा राम्रो ठाउँ नै यही बगैंचा रहेछ। उनीहरुले बगैंचालाई बगैंचाकै रूपमा राखे। जुन होटल समिटको विशेषता पनि रह्यो। यो बगैंचाकै एक कुनामा स्तोपलारले पहिलोपटक आफ्नी प्रेमिका एर्नालाई भेटेका थिए। होटल बनाइरहेकै समयमा एर्ना नेपाल घुम्न आइन् र यहाँ पसिन्। स्तोपलारलाई पोट्रेट आर्टिस्ट एर्नासँग नजिक्याउने यही बगैंचा थियो, यहीँको वातावरण थियो। होटलका लवीहरुमा अहिले पनि एर्नाले बनाएका पोट्रेटहरु टाँगिएकै छन्। दम्पती नै आएर यो सब दृश्यलाई मुटुभित्र कैद गरे। अब भने यो सबै मासिँदैछ।

कस्तो लागिरहेछ यो सत्यलाई आत्मसात् गरिरहँदा?

'अहिले जसरी यहाँको जमिनको मूल्य बढिरहेको छ। त्यसको लाभ यो जमिनले नपाउनु भनेको यो ठाउँको इकोनोमिक फेलियर थियो। हाम्रो टिमले सन् २०१२ मै यो होटल अमृत शाक्य र सुवर्ण श्रेष्ठलाई बेचिसकेका थियौं। तर वहाँहरुले मलाई सम्मानजनक रूपमा अनररी चेयरम्यान राखिरहनुभयो। म अनुगृहित छु। पछि यो प्रोपर्टीमा नयाँ मालिकहरु जोडिनुभयो। अहिलेका मालिकहरुले यस ठाउँलाई आर्थिक रूपमा बढी लाभ लिनेगरी बनाइरहेका हुन्। वहाँहरुको लागि शुभेच्छा छ। तर मलाई अब यसको बदलिने स्वरुप मन परिरहेको छैन। मैले यसको विरोध गरेको भन्ने अर्थ चाहिँ नलागोस्। नकारात्मक रूपमा मैले यो कुरा भनिरहेको छैन तर पुराना दिनहरुसँग जोडेर हेर्दा मलाई आफ्नै सन्तान मरेको जस्तो लागिरहेछ। एउटा जीवन सकिएजस्तो लागिरहेछ। अहिले पनि यो जमिन मेरै भइरहेको भए पक्कै पनि यो मेरो च्वाइस हुने थिएन।'- होटल बेचेपछि स्तोपलारले 'एलिफेन्ट पोलो'- द राइज एण्ड फल अफ अ होटल इन नेपाल उपन्यास पनि लेखेका छन् जुन नेपाल र यही होटलको सेरोफेरोमा आधारित छ। 

***

दोल्फको निधनपछि सन् १९९० मा उनको उत्तराधिकारीका रूपमा होटलको पूरै जिम्मेवारी स्तोपलारको काँधमा आइलाग्यो। नेदरल्याण्डमा उनी नेपालका लागि कन्सुलेट जनरलको भूमिकामा पनि भएकाले दुई देशबीच उनको साइनो होटलमा मात्र सीमित थिएन। कूटनीतिज्ञ र होटेलियरका रुपमा नेपालसँग उनी सधैं निकट रहे। होटल बनाएको समयमा उनी ढुक्कै डेढ वर्ष नेपाल बसे। त्यसपछि भने वर्षको तीन चारपटक उनी नेपाल आउने जाने गर्थे। सन् २०१२ मा भने उनीहरुले गम्भीर निर्णय लिनुपर्ने समय आयो। यहाँ बिस्तारै होटलहरु थपिँदै थिए। प्रतिस्पर्धा बढ्दो थियो। होटलबाट नोक्सानी त थिएन तर संचालन खर्च बढ्दो थियो। होटलले माओवादी सशस्त्र द्वन्द्वका कारण उत्पन्न अस्थिरताको सामना गरिरहेको थियो। नेदरल्याण्डमा बसेर नेपालको समस्या सुनिरहँदा उनीहरु अब एउटा टुंगोमा पुग्नुपर्छ भन्नेमा पुगे। 

'कर्मचारी युनियनहरुका कारण समस्या सुरु हुन थाल्यो। एकातिर कर्मचारीहरु होटल बन्द गर्छौं भन्ने, अर्कातिर संचालन खर्च पनि बढ्दो। होटलहरुबीच प्रतिस्पर्धा उस्तै। ऋण लिएर होटल बिस्तार गर्ने पनि नसोचेको होइन तर त्यतिबेलाको अस्थिरताका कारण थप लगानीका लागि वातावरण बनेन। त्यसमाथि चर्को बैंक ब्याज। हामी सबैको उमेर घर्किँदै थियो। यी सबै सोच्दा हामीबीच थप लगानी गर्नेभन्दा पनि बेच्ने सल्लाह भयो।'- स्तोपलारका अनुसार जतिबेला उनीहरुले होटल संचालन गरेका थिए डच टोलीको नै पूर्ण स्वामित्व थियो। 

'हाम्रा धेरै साथीहरु ट्रेकिङका लागि नेपाल आउँथे। म त्यसबेला ट्रेकिङको संयोजन गर्थें। काठमाडौंमा त्यसबेला बस्नका लागि राम्रो र प्रशस्त होटलहरु थिएनन्। पुल्चोकमा नारायणी र खिचापोखरीको पानोरामा मात्र थिए। दोल्फ र मैले सल्लाह गर्‍यौं । हामी यहाँ किन होटल नखोल्ने? आफूसँग भएको पैसा जोड्ने र नपुगे साथीभाईसँग माग्ने सल्लाह गरेर हामीले यो घर किन्ने निर्णय गर्‍यौं। र सन् १९७८ मा हामीले यो प्रोपर्टी किन्यौं ,'- पुराना दिन सम्झिँदै कसले भने।

---

उनीहरुको होटलमा ९८.९ प्रतिशत सेयर थियो। तीन दशकभन्दा बढी संचालन गरेपछि उनीहरुले अमृत शाक्य र सुवर्ण श्रेष्ठलाई होटल बेचे। 

हाल होटलमा अमृत शाक्यसहित रविभक्त श्रेष्ठको एनई ग्रुपसहित विनोद चौधरीको (चौधरी समूह र सिजी) को संयुक्त लगानी छ। यो समूहले उक्त स्थानमा १५ तले होटल र अपार्टमेन्टको परियोजना तयार पारिरहेको छ। पाँचतारे होटलसहितको विलासी अपार्टमेन्टको आर्किटेक्चरल डिजाइन टुंगो लागिसकेको छ। द समिट होटल एण्ड रेसिडेन्सेस् नाम दिइएको यो परियोजनाको समग्र लागत ५ देखि ६ अर्ब लाग्ने अनुमान गरिएको छ। आधुनिक नेवारी आर्किटेक्चर डिजाइनमा निर्माण गरिने प्रोजेक्टमा एक सय ३० कोठासहितको पाँचतारे होटल संचालन हुनेछ। 

नयाँ परियोजना निर्माण सुरु हुँदै गर्दा स्तोपलार र एर्ना पुरानो समिटलाई बिदाई गर्न नेपाल आएका हुन्। एर्ना चार साताको पदयात्राका लागि सिक्लेसबाट अन्नपूर्ण सर्किटतिर लागिन् भने कस बिहीबार होटल समिटको बसाई टुंग्याएर घरतिर लागे। 

'होटल समिटसँगको नाता टुटे पनि नेपालसँग मेरो नाता कहिल्यै टुट्दैन। यहाँ मेरा साथीभाईहरु छन्। नेपालप्रति धेरै माया छ। समिटपछि पनि म फरक रूपले नेपालसँग जोडिइरहेको हुनेछु,' - उनले नयाँ परिचय खुलाए। अहिले उनी हिमालयन टाइगर फाउन्डेसनका अध्यक्षका रूपमा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन्, जहाँबाट उनले नेपालको प्रकृति संरक्षणका क्षेत्रमा काम गरिरहने छन्। त्यसो त नेदरल्याण्डमा बसेर नेपाल जान चाहनेहरुका लागि भिजा उपलब्ध गराउने र नेपालबारे प्रचार गर्ने काम त वर्षौदेखि उनले गरिआएकै छन्। 

***

नेपालको पर्यटन क्षेत्र पछिल्लो समय धमिलिएको छ। कोभिड महामारीका कारण अझ बढी समस्यामा छ यो क्षेत्र। आफ्नो जीवनको सबैभन्दा लामो कालखण्ड नेपालको पर्यटन क्षेत्रसँग जोडिएका स्तोपलार अब यहाँ पुरानो चार्म देख्दैनन्। 'यूरोपेलीहरुनेपाल किन जाने भनेर मलाई सोधिरहन्छन्। उनीहरुका लागि उपयुक्त जवाफ म पाउँदिन। काठमाडौंकै विकल्प खोज्नुपर्ने भइसक्यो। पोखरा, बर्दिया वा चितवनलाई देखाउनुपर्ने अवस्था छ। हामीलाई सबैभन्दा मनपर्ने पदमार्गहरु बुलडोजर माफियाको नजरमा पर्न थालिसके। प्राकृतिक सौन्दर्य कुरुप भइरहेको छ। हेर्दाहेर्दै मर्स्याङ्दी नदी कति धमिलिइसक्यो म आफैंलाई दिक्क लाग्छ।'- उनी नेपालको पर्यटन क्षेत्रको भविष्यप्रति चिन्तित छन्। 

होटल बनाएको समयमा उनी ढुक्कै डेढ वर्ष नेपाल बसे। त्यसपछि भने वर्षको तीन चारपटक उनी नेपाल आउने जाने गर्थे। सन् २०१२ मा भने उनीहरुले गम्भीर निर्णय लिनुपर्ने समय आयो। यहाँ बिस्तारै होटलहरु थपिँदै थिए। प्रतिस्पर्धा बढ्दो थियो। होटलबाट नोक्सानी त थिएन तर संचालन खर्च बढ्दो थियो। होटलले माओवादी सशस्त्र द्वन्द्वका कारण उत्पन्न अस्थिरताको सामना गरिरहेको थियो। नेदरल्याण्डमा बसेर नेपालको समस्या सुनिरहँदा उनीहरु अब एउटा टुंगोमा पुग्नुपर्छ भन्नेमा पुगे। 

---

उनी कोभिडपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न विश्वभर सामाजिक संजालमार्फत नेपालको राम्रो कथाहरु सुनाउन जरुरी भएको बताउँछन्। 'फ्री पब्लिसिटी चाहियो। नेपालबारे राम्रा कथाहरु चाहियो। यहाँको उडान समस्या, अब्यवस्थित ट्राफिक र कुरुप शहरका समाचार होइन पदयात्राको एडभेन्चर र सफा सुन्दर नबिग्रिएको स्थानका कथाहरु चाहियो। नेपाल आउन झण्झटिलो कागजी प्रक्रियाहरु फेरेर सहज नबनाएसम्म पर्यटकहरु तानिँदैनन्। काठमाडौंभन्दा अन्य स्थानहरुलाई महत्व दिएर विकास गर्नुपर्छ जस्तो लाग्छ। होटल उद्यमीहरु राम्रो योजनामा फोकस्ड हुनुपर्छ र सरकारी नीति अलि पर्यटकका लागि सहज हुनुपर्छ।'- उनले आफ्नो अनुभव सुनाए। 

अहिले भारतीय र चिनियाँ पर्यटक बढे पनि यूरोपेलीहरु नेपाल आउन रुचि घट्दै गएको उनको बुझाइ छ। पर्यटकलाई एडभेन्चर टुरिजमका माध्यमबाट नेपालले तान्नुपर्छ भन्छन् उनी।  सडक बनाउने नाममा योजनाबिनै जथाभावी चलिरहेको डोजरले गाउँघरको सौन्दर्य बिगारिरहेको देख्छन्। 

बायोलोजिस्ट स्तोपलार होटेलियर हुनु संयोगमात्र जस्तो उनलाई लाग्छ, यस्तो संयोग जसले उनलाई नेपालकै बनाइदियो। भत्किरहेको होटलको भग्नावशेष नजिक उभिएर उनले भने- 'यही कारण नेपाल मेरो दोस्रो घर जत्तिकै थियो। मैले आफूलाई नेपाली समुदायकै एउटा सदस्य मानिरहेको थिएँ। त्यसैले अब म सँधै नेपाललाई सघाउन चाहन्छु। अर्को वर्ष नोभेम्बरमा म फेरि नेपाल आउँदैछु तर त्यो बेला यो यहाँ हुँदैन। यस्तो कुराले जीवनलाई पनि प्रभावित बनाउँदो रहेछ।'

हाल होटलमा अमृत शाक्य सहित रविभक्त श्रेष्ठको एनई ग्रुप सहित विनोद चौधरीको (चौधरी समूह र सिजी) को संयुक्त लगानी छ। यो समूहले उक्त स्थानमा १५ तले होटल र अपार्टमेन्टको परियोजना तयार पारिरहेको छ।पाँचतारे होटलसहितको बिलासी अपार्टमेन्टको आर्किटेक्चरल डिजाइन टुंगो लागिसकेको छ। द समिट होटल एण्ड रेसिडेन्सेस् नाम दिइएको यो परियोजनाको समग्र लागत ५ देखि ६ अर्ब लाग्ने अनुमान गरिएको छ। आधुनिक नेवारी आर्किटेक्चर डिजाइनमा निर्माण गरिने प्रोजेक्टमा एकसय ३० कोठासहितको पाँचतारे होटल संचालन हुनेछ। 

---

घर फर्किँदै गर्दा कसले यसरी चित्त बुझाए-'आखिर यो पनि त मानिसको जीवनजस्तै रहेछ। भत्किनु नयाँ केही आउनु निरन्तरको प्रक्रिया रहेछ, जीवन जस्तै। जसरी पुरानो जीवन सकिन्छ नयाँ आउँछ अब यसको पुनर्जन्म पनि हेर्नु छ……।'