BIZMANDU
www.bizmandu.com

विकास साझेदारको ध्यान सुरुङमार्गमा, नागढुंगा सुरुङमार्ग हेर्न एडीबी र विश्व बैंकको टोली आउने

२०७८ असोज २१

विकास साझेदारको ध्यान सुरुङमार्गमा, नागढुंगा सुरुङमार्ग हेर्न एडीबी र विश्व बैंकको टोली आउने
विकास साझेदारको ध्यान सुरुङमार्गमा, नागढुंगा सुरुङमार्ग हेर्न एडीबी र विश्व बैंकको टोली आउने

काठमाडौं। सडक सुरुङमार्गमा लगानी गर्न विश्व बैंक र एसियाली विकास बैक (एडिबी) इच्छुक देखिएका छन्। विकास साझेदार दुवैसँग  सुरुङमार्ग निर्माणका विषयमा नेपाल सरकारको छलफल चलिरहेका बेला एडीबी र विश्व बैकको प्रतिनिधिले निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गको निरीक्षण गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

विश्व बैंकको टोली बिहीबार आयोजनास्थल जाँदैछ। बुटवल-गड्डाचौकी खण्डको पुलको अध्ययनका लागि आएको टोलीले निरीक्षण गर्न लागेको नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले बताए।

उनका अनुसार सुरुङमार्गको दुवै पोर्टलमा गएर टोलीले निरीक्षण गर्नेछन्। त्यसैगरी एडीबीको पनि टोली सुरुङमार्ग निरीक्षणका लागि नेपाल आउने भएको छ। एडीबीको सडक आयोजनाहरु हेर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) स्थापना गरेको छ।

एडीबी हेडक्वार्टरले त्यहीका कार्यालय प्रमुख सुशीलबाबु ढकाललाई टोली पठाउने जानकारी गराएको छ। दसैं लगत्तै प्राविधिकसहितको टोली आउन सक्ने सम्भावना रहेको शाक्यले बताए। उनका अनुसार  एडीबी र विश्व बैंकले समेत सडक सुरुङमार्ग निर्माणमा सहयोग गर्न इच्छा देखाइरहेका छन्। 

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले २३ वटा सुरुङमार्गको पहिचान गरेर निर्माण अघि बढाउने योजना बनाएको छ। अहिले जापान सरकारको सहुलियत ऋण सहयोगमा नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण भइरहेको छ। यो नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो। जसको २२ प्रतिशत निर्माण पुरा भएको छ।

सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ। यो सुरुङमार्गको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ। दुवैतिरबाट एक साथ काम भइरहेको छ। 

त्यसै गरि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको छ।जसमा ९ वटा कम्पनीले दिएको आवेदन अहिले मूल्यांकन भइरहेको छ। सरकारले आफ्नै आन्तरिक स्रोतबाट निर्माण गर्न लागेको यो पहिलो सडक सुरुङमार्ग हो। १० अर्ब १५ करोड रुपैयाँ खर्चेर ५ बर्षमा यो सुरुङमार्ग निर्माण सक्ने लक्ष्य लिइएको छ।

सरकारले दोलखाको लामाबगर-लाप्चे सुरुङमार्गको टेण्डर निकाल्ने तयारी गरिरहेको छ। साढे दुई अर्ब खर्चेर तीन वर्षमा निर्माण सक्ने लक्ष्यका राखेर टेण्डर निकाल्न लागिएको गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक डा.विजय जैसीले बताए।

उनका अनुसार अहिले बिडिङ डकुमेन्ट तयार भइरहेको छ। त्यसैगरी खुर्कोट-चियाबारी, खुटिया-दिपायल, लामाबगर-लाम्चे, प्रदेश सरकारसँग समन्वय गरी कुलेखानी-भीमफेदी लगायत सुरुङमार्गको डीपीआर तयार पारेर निर्माण अघि बढाउन लागिएको छ। रसुवागढी जोड्ने सडकको वेत्रावती-स्याफ्रुवेंसी र टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना छ।

केन्द्रले राजमार्ग र रणनीतिक सडकहरुमा छोटा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने तयारी गरिरहेको छ। केन्द्रले त्यसका लागि अहिले टर्म्स अफ रिफ्रेन्स (टीओआर) तयार पारिरहेको छ।

शाक्यका अनुसार सडकमार्ग नै नेपालका लागि सबैभन्दा उपयुक्त यातायातको माध्यम हो। अधिकांश भू-भाग पहाड नै पहाड भएकाले घुमाउरो सडक निर्माण गर्नुपर्ने बाध्यता छ। '४०/५० मिटरदेखि ४/५ सय मिटरका सुरुङमार्ग निर्माण गर्न सकिए सडकको दुरी धेरै नै घट्छ। जसले सवारीको लागत र यात्राको समय पनि छोट्टिन्छ,' शाक्यले भने, 'सडक सुरुङमार्गको रेट अफ रिटर्नसमेत उच्च छ।' 

नेपालका अधिकांश रणनीतिक सडक योजनाहरुमा लगानी भएर निर्माण अघि बढिसकेका छन्। सडक पूर्वाधारको क्षेत्रमा थप  ठूलो लगानी अब सुरुङमार्गमा भएको सडक विभागका अधिकारीहरुको भनाइ छ। एडीबी, विश्व बैंक लगायतलाई समेत अब सडक पूर्वाधार विकासका लागि मुख्य लगानीको क्षेत्र  सुरुङमार्ग हुने शाक्यको भनाइ छ।