BIZMANDU
www.bizmandu.com

वीरगंजका क्यासिनोमा भारतीय पर्यटकको चहलपहल बढ्यो, दैनिक सयभन्दा बढी पर्यटक आउँदै

२०७८ असोज १९

वीरगंज। भारतीय पर्यटकहरु जुवा खेल्न वीरगंज आउन थालेपछि वीरगंजका क्यासिनोमा चहलपहल सुरु भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले कोरोना महामारी कम भएपछि प्रोटोकल बनाएर गत असोज १ गते देखि नेपाली क्यासिनोलाई सञ्चालन अनुमति दिएपछि र नेपाल–भारत सीमामा पनि प्रोटोकल बनाएर सहज आवतजावतको सुविधा दिएपछि भारतीयहरुको चहलपहल बढेको हो ।

पर्सा–बारा औद्योगिक कोरिडोर हो । यस क्षेत्रमा विभिन्न कर्पोरेट हाउस, उद्योगहरु हेर्न तथा घुमफिरको लागि भारतीयहरु आउने गर्छन् । जुवा खेल्न तथा मदिराका लागि उनीहरु नेपाली क्यासिनो छिर्ने गरेका छन् ।

वीरगंज क्षेत्रमा दुईवटा र सिमरामा एक गरी यस क्षेत्रमा तीन ठाउँमा क्यासिनो सञ्चालनमा रहेको छ।

वीरगंजको होटल भिस्वा परिसरमा सञ्चालित सिएमजी क्लबका सञ्चालक चन्द्रिका सिंहका अनुसार अहिले ६० भन्दा बढी भारतीय पर्यटक दैनिक रुपमा क्यासिनोमा आइरहेका छन्। 

असोज १ पछि सञ्चालनमा ल्याइए पनि अबको तीन महिना यो व्यवसाय रिभाइभ हुन समय लाग्ने उनले अनुमान गरे । उनले कोरोना पहिले दैनिक ९० जनाको हाराहारीमा पर्यटक आउने गरेकोमा कोरोनाको करिब डेढ वर्ष क्यासिनो बन्द जस्तै रहेकोले करौडौंको घाटा भएको उनको भनाई छ । सिएमजी क्लबमा पहिले करिब ३ सय मजदुर तथा कर्मचारी काम गर्थे भने अहिले २ सय हराहारीमा मजदुर काममा फर्किसकेको पनि उनले बताए ।

वीरगंजको आदर्शनगरमै रहेको सुरज होटलभित्रको फर्चुन सिटी गेमिङ क्लबका प्रबन्धक विनोद रावलका अनुसार पहिलेभन्दा भीडभाड बढिरहेको बताए । उनले दुई सातापछि भीडभाड अझै बढ्ने अपेक्षा गरे।

कोरोनाले करिब १८ महिना ठप्प नेपाल भारत बोर्डर अहिले खुलेको विस्तारै सबैलाई जानकारी भइरहेकोले केही दिनमै भारतीयहरुको चाप बढने उनको प्रक्षेपण छ ।

‘करिब डेढ वर्ष बन्द नै रहयो, धेरै गेमिङ मेशिनमा खिया लागेर बिग्रेको छ, नयाँ विदेशबाट आयात गर्न तीन महिना लाग्छ, अहिले ५० प्रतिशत क्षमतामा क्यासिनो सञ्चालन गरिरहेका छौं,’उनले भने,‘भारतको बिहारमा मदिरा प्रतिबन्धित रहेकोले मदिरासंगै जुवा खेल्न भारतीय पर्यटकहरु आइरहेका छन् ।’

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश अनुमति हुँदैन, भारतीय वा विदेशी पर्यटकलाई परिचय पत्र हेरेर भित्र छिर्न पाइन्छ । भित्र छिरेपछि एक दुई पेग मदिरा निशुल्क हुन्छ,२० रुपैयाँको क्वाइन किन्न पाइन्छ ।

सुरज होटलको फर्चुन सिटी गेमिङ क्लबमा दैनिक ५० जनाभन्दा बढी भारतीयहरु आइरहेको तथ्यांक छ । ५ हजार देखि डेढ लाखसम्मको पनि खेल्ने भारतीय पर्यटक आउने गरेको उनले बताए । उक्त क्यासिनोमा पहिले ६५ जना स्टाफ काम गर्थे भने अहिले ४० जना काममा फर्किसकेको प्रबन्धक रावलले बताए ।

सिमरास्थित होटल इच्छा परिसरमा रहेको स्माइल क्यासिनोमा पनि भारतीय पर्यटकको चहलपहल बढ्न शुरु भइसकेको होटलका सञ्चालक इच्छाबहादुर बाग्लेले बताए । उनका अनुसार एक साता अघि ४,५ जना मात्रै भारतीय आउँथे भने अहिले करिब १५ जनाको हाराहारीमा भारतीयहरु आइरहेका छन्।

सरकारले अनुमति दिइएको ९ वटा क्यसिनो मध्ये ७ वटा काठमाडैंमा र एक भैरहवामा एक सिमरामा रहेको बताए । बाँकी सबै क्यासिनो गेमिङ क्लब भएको उनले तर्क गरे । उनले गाडीसहित आउने भारतीयहरुका लागि सरकारले प्रोटोकल बनाएर बोर्डर खुला गरेपछि क्यासिनो व्यवसाय पनि पछिल्लो समय पुरानो लयमा फर्किन लागेको भन्दै खुशी व्यक्त गरे ।

भारतीय पर्यटकले गाडीसहित नेपाल आउन ७२ घण्टा अघिको कोभिड १९ परिक्षण रिपोर्ट (पिसिआर वा एन्टिजिन), सिसिएमसी डट जिओभी डट एनपीमा लग इन भएर स्थलमार्गबाट नेपाल प्रवेश सम्बन्धी व्यक्तिगत विवरणसहितको अनलाइन फर्म भर्नुपर्छ र वीरगंज भन्सारमा दुई पांग्रे गाडीको लागि डेढ सय र चार चक्के गाडीको लागि ५ सय को प्रवेश अनुमतिको रसिद काटेपछि नेपाल प्रवेश गर्न पाइन्छ ।

यदि कसैले शंकराचार्यमा रहेको हल्थ डेस्कमा एन्टिजेन परिक्षण गराउन खोज्यो भने १० मिनेटमै रिपोर्ट पाइने व्यवस्था वीरगंज महानगरको स्वास्थ्य महाशाखाले गरेको डा.अनिशा महतोले जानकारी दिइन्।