BIZMANDU
www.bizmandu.com

हाकिम फेरिएपछि नक्कली अन्त:शुल्कको स्टीकर प्रयोगको आशंकामा बन्द भएका उद्योग खुले

२०७८ असोज १५

हाकिम फेरिएपछि नक्कली अन्त:शुल्कको स्टीकर प्रयोगको आशंकामा बन्द भएका उद्योग खुले
हाकिम फेरिएपछि नक्कली अन्त:शुल्कको स्टीकर प्रयोगको आशंकामा बन्द भएका उद्योग खुले

काठमाडौं। सरकारले मदिरामा अन्त:शुल्कको नक्कली स्टीकरजस्तो गम्भीर अपराधमा मुछिएका दुई डिस्टीलरीलाई संचालन अनुमति दिएको छ। यो अनुमतिसँगै शुक्रबारबाट ती डिस्टीलरीबाट उत्पादन सुरु भएको छ।

Tata
GBIME
Nepal Life

राजस्व अनुसन्धान बुटवल कार्यालयको प्रमुखको सरुवापछि डिस्टीलरी संचालनमा आएको हो। स्रोतका अनुसार नयाँ प्रमुख आएसँगै डिस्टीलरीलाई संचालन अनुमति दिइएको हो। नक्कली स्टीकरमा संलग्न रहेका मदिरा उद्योगीले प्रधानमन्त्री शेरबहादुर देउबासम्म पुगेर कारवाही रोक्न दबाब दिएका थिए। त्यही दबाबका आधारमा बुटवलका प्रमुख फेरिएका थिए। बुटवलको क्रिष्टल र माउण्ट एभरेष्ट डिष्टीलरीका संचालकले प्रधानमन्त्रीसम्म पुगेर कारवाही रोक्न दबाब दिएका थिए। क्रिष्टलका संचालक फूलसिंह क्षेत्री र माउण्ट एभरेष्टका संचालक प्रविन्द्र गोविन्द श्रेष्ठ हुन्। 

'प्रधानमन्त्रीलाई दबाब दिएर प्रमुखको सरुवा गरियो। त्यसपछि नक्कली स्टीकरको मुद्दालाई सामसुम पारिएको छ,' राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने, 'सुरुदेखिनै यो मुद्दालाई सामसुम पार्न दोषी देखिएका डिष्टीलरीका मालिकले ठूलै रकम लिएर हिडेका थिए। यो मुद्दा मिलाउन ठूलै रकमको चलखेल भएको छ।' प्रमुख फेरिएको एक दुई दिनमै उद्योग खोल्ने भन्दै सगर्ब बताएका थिए।

नक्कली स्टीकरको अनुसन्धानमा तानिएका डिष्टीलरीले अरु कम्पनीले भन्दा सस्तोमा मदिरा बेचिरहेका थिए। स्रोतका अनुसार उनीहरुले बेचेको मूल्यमा उत्पादननै गर्न सक्ने अवस्था थिएन्।

दुई महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवैध नक्कली अन्तशुल्क स्टिकर पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय बुटवललाई थप अनुसन्धानको लागि दिइएको थियो।

कार्यालयले गरेको अनुसन्धानमा दुई डिस्टीलरीमा प्रयोग गरिने स्टीकरको सिरियल नम्बर एउटै भएको पाएको थियो। कार्यालयले दुबै डिष्टिलरीमा छापा मारी आवश्यक कागज पत्र नियन्त्रणमा लिएको थियो। सोपछि कम्पनी सञ्चालकलाई आवश्यक सोधपुछ गरिएको थियो।

अनुसन्धानमा सहभागी एक कर्मचारीले भने 'हामीले दुबै डिस्टीलरीमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियौं। दुबै डिस्टीलरीले प्रयोग गर्ने स्टीकर सिरियल नम्बर मिलेको भएपनि बोतलमा प्रयोग गरिएको भने भेटिएको थिए। हामीले अनुसन्धान गर्दागर्दै नयाँ हाकिम आउनुभयो। त्यसपछि उद्योग खोल्न अनुमति दिनुभयो।'

यो डिस्टीलरीको अनुसन्धान गरिहेका तत्कालिन कार्यालय प्रमुख राजन बिसीलाई सरुवा गरिएको छ। उनी नेकपा एमाले निकट कर्मचारी थिए। उनलाई नक्कली स्टीकरको अन्सन्धान अघि नबढाउन प्रधानमन्त्री कार्यालयबाटै दबाब आइरहेको थियो। तर उनले दबाबलाई मानेन्। त्यसपछि उनको स्थानका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राजेश पन्थी गएका छन्।