BIZMANDU
www.bizmandu.com

६ महिनाको कुलिङ सकेर सुदेश खालिङ शुक्रबारबाट एभरेष्ट बैंकको नेतृत्व गर्दै

२०७८ असोज ७

६ महिनाको कुलिङ सकेर सुदेश खालिङ शुक्रबारबाट एभरेष्ट बैंकको नेतृत्व गर्दै
६ महिनाको कुलिङ सकेर सुदेश खालिङ शुक्रबारबाट एभरेष्ट बैंकको नेतृत्व गर्दै


काठमाडौं। ६ महिनाको 'कुलिङ पिरियड' मा रहेका सुदेश खालिङले शुक्रबारबाट एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन्। बैंक सञ्चालक समितिले उनलाई ६ महिनाअघि नै नियुक्ति दिएपनि कुलिङ पिरियडको व्यवस्थाले रोकिएका थिए।

Tata
GBIME
Nepal Life

एभरेष्ट बैंकका उनी पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत हुन्। स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले नेपाली प्रमुख कार्यकारीका रूपमा खालिङलाई नियुक्त गरेको हो।

नेपालमा खासै काम गर्न नसकेको भन्दै एभरेष्ट सञ्चालक समितिले भारतीय मूलका प्रमुख कार्यकारीलाई १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको थियो। 

एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।

अब नेपाली प्रमुख कार्यकारी नियुक्त गर्न दुई बैंक मात्र बाँकी छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल एसबीआइ बैंकमा अहिले पनि विदेशी प्रमुख कार्यकारी अधिकृत छन्। नबिलले पनि विदेशी नै नियुक्त गर्ने गरेकोमा पछिल्लो १३ वर्षयता नेपाली राख्न थालेको छ।

एभरेष्टमा आउनुअघि खालिङ सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए। यही कारण उनलाई ६ महिनाको कुलिङ लागेको हो। 

खालिङ परिचित बैंकर हुन्। उनी सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकको मुख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए। चार वर्षे कार्यकाल पुरा गरी उनी बाहिरिएका थिए।

लक्ष्मी बैंक एभरेष्टसँग मर्जर हुने चर्चा चलिरहँदा उनले लिड गरिरहेका थिए। मर्जरका लागि सहमति हुने करिब करिब अन्तिम चरणमा पुगे पनि पछि कुरा अगाडि बढेको थिएन। 

खालिङ लक्ष्मी बैंक आउनुअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रूपमा कार्यरत थिए। करिब ३३ वर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए। खालिङसँग सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव छ।