BIZMANDU
www.bizmandu.com

भदौमा १६ प्रतिशतले बढ्यो घरजग्गा कारोबारः ७० हजार घरजग्गा किनबेच हुँदा पौने पाँच अर्ब राजस्व

२०७८ असोज २

भदौमा १६ प्रतिशतले बढ्यो घरजग्गा कारोबारः ७० हजार घरजग्गा किनबेच हुँदा पौने पाँच अर्ब राजस्व
भदौमा १६ प्रतिशतले बढ्यो घरजग्गा कारोबारः ७० हजार घरजग्गा किनबेच हुँदा पौने पाँच अर्ब राजस्व


काठमाडौं। भदौमा देशभर ७० हजार घरजग्गा किनबेच हुँदा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि भएको छ। साउनमा ४ अर्ब ६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो, भदौमा भने यस्तो शुल्क ४ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ।

Tata
GBIME
NLIC

कारोबारमा संख्याका हिसाबले भदौभन्दा साउनमा धेरै भएको तथ्यांकले देखाएको छ। तर भदौमा मूल्यांकन बढी भएका घरजग्गाको कारोबार भएको मालपोतका अधिकारीहरु बताउँछन्। साउनमा देशभर ७५ हजार घरजग्गा किनबेच भएकोमा भदौमा, ७० हजार घरजग्गा मात्रै किनबेच हुँदा पनि करिब ६६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ।

थोरै घरजग्गा किनबेच हुँदा पनि महंगा घरजग्गा किनबेच हुँदा राजस्व संकलनमा वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

उपत्यकामा आठ वटा कार्यालयबाट भदौमा ९ हजार पाँच सय घरजग्गा किनबेच भएका छन्। साउनमा भने यी आठ कार्यालयबाट १० हजार १२३ घरजग्गा किनबेच भएका थिए। साउनको तुलनामा उपत्यकामा ६०० कम घरजग्गा किनबेच भएका छन्।

भदौमा उपत्यका बाहिर ६० हजार हाराहारी मात्रै घरजग्गा किनबेच भएका छन्। साउनमा भने उपत्यका बाहिरबाट ६५ हजार हाराहारी घरजग्गा किनबेच भएका थिए।

कारोबार संख्या घटे पनि बढ्यो राजस्व संकलन 
भदौमा उपत्यकाभित्र दुई अर्ब ४२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ। साउनमा भने यहाँ दुई अर्ब २० करोड र असारमा दुई अर्ब चार करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको थियो।

उपत्यका बाहिर भदौमा दुई अर्ब २८ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ। साउनमा भने उपत्यका बाहिर एक अर्ब ८६ करोड र असारमा एक अर्ब ८४ करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको थियो।

उपत्यकामा सबैभन्दा धेरै ललितपुर मालपोत कार्यालयबाट भदौमा करिब ६२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ। साउनमा भने ललितपुरबाट करिब ५२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो।

डिल्लीबजारबाट ४७ करोड, कलंकीबाट ३६ करोड, भक्तपुरबाट ३२ करोड र चाबहिलबाट ३० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ।
साउनमा कलंकीबाट ३७ करोड र डिल्लीबजारबाट ३२ करोड रुपैयँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। अन्य कार्यालयहरुको साउन र भदौको राजस्व उस्ताउस्तै देखिएको छ।

उपत्यका बाहिर भने भदौमा काभ्रेपलाञ्चोकबाट १५ करोड, पोखराबाट १३ करोड, विराटनगरबाट १२ करोड, वीरगंजबाट ११ करोड र इटहरीबाट १० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ।

साउनमा भने उपत्यकाबाहिर सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा चितवन मालपोत कार्यालय २० करोड राजस्व सहित पहिलो नम्बयरमा रहेको थियो। काभ्रेपलाञ्चोक १७ करोड, पोखरा १५ करोड, वीरगंज १२ करोड, सुनसरीको ११ करोड र विराटनगरको आठ करोड रुपैयाँ रहेको थियो। भदौमा चितवन धेरै पछि परेको छ भने विराटनगरको राजस्व चार करोड रुपैयाँले बढेको छ।

कुन कार्यालयमा कति घरजग्गा किनबेच ?
भदौमा सबैभन्दा धेरै कारोबार संख्या भएको कार्यालय बेलबारी (मोरङ) रहेको छ। बेलबारीमा तीन हजार ७७२ घरजग्गा किनबेच भएका छन्। इटहरीमा दुई हजार ९६५, झापामा दुई हजार ८०८, जनकपुरधाममा दुई हजार ७६६, नेपालगञ्जमा दुई हजार ३३९ र ललितपुरमा दुई हजार २९२ घरजग्गा किनबेच भएका छन्।

विराटनगरमा एक हजार ९३०, दमक (झापा)मा एक हजार ८११ र कलंकीमा एक हजार ७४९ घरजग्गा किनबेच भएका छन्।

साउनमा भने इटहरीमा चार हजार ३६०, जनकपुरमा दुई हजार ८०६, नेपालगञ्नमा दुई हजार ६७६, भक्तपुरमा दुई हजार ५२८, ललितपुरमा दुई हजार ३१३, कलंकीमा दुई हजार ९७, बेलबारीमा एक हजार ९७०, चितवनमा एक हजार ९३० र धनगढीमा एक हजार ८९२ घरजग्गा किनबेच भएका थिए।

साउनको तुलनामा बेलबारीमा मात्रै कारोबार संख्या बढेको छ। अन्य केही कार्यालयको कारोबार स्थिर देखिएको छ भने धेरै जसोको कारोबार संख्या घटेको छ।