BIZMANDU
www.bizmandu.com

तरलता अभावको प्रभाव: कर्पोरेट ऋणको ब्याज १.५% बिन्दुसम्म बढ्यो

२०७८ भदौ ३०

तरलता अभावको प्रभाव: कर्पोरेट ऋणको ब्याज १.५% बिन्दुसम्म बढ्यो
तरलता अभावको प्रभाव: कर्पोरेट ऋणको ब्याज १.५% बिन्दुसम्म बढ्यो

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बढाउन थालेका छन्। बैंकहरुले कर्पोरेट ऋणीको ब्याज बढाइसकेका छन् भने नयाँ ऋणीको ब्याज पनि बढाउन थालेका छन्।

Tata
GBIME
Nepal Life

बैंक अनुसार, ऋणको ब्याज बढेको छ। बैंकहरुले आधा प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज बढाएका छन्। कतिपय बैंकले राष्ट्र बैंकको नियम मिचेर आधार दरपछि निर्धारण हुने प्रिमियमसमेत पहिले निर्धारण गरेकोभन्दा माथि पुर्‍याइदिएका छन्। 

'नयाँ ऋणीहरुको ब्याज बढ्न थालेको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, 'असोजदेखि निक्षेपको ब्याज पनि बढ्न थाल्ने देखिन्छ। त्यसपछि ऋणको ब्याज बढाउन अझ दबाब पुग्छ।'

बैंकहरुबाट असारअघि जस्तो सजिलै ऋण पाउने अवस्था पनि हराएको छ। एकातिर ऋणको ब्याज बढ्न थालेको छ भने अर्कोतिर सजिलै बैंकबाट पैसा पाउन पनि छाडेका छन्।

बैंकरले पुरानो कर्पोरेट ऋणीलाई २५ पैसा कममा ऋण दिइरहेका छन् भने अहिले २५ पैसा बढी पाउने ऋणी भेट्ने बित्तिकै उतातिर ऋण दिन थालेका छन्। पुरानोको ब्याज बढाइदिएर उनीहरुलाई निरुत्साहित गर्न थालेका छन्।

'अहिले बैंकहरु तरलता अभावको चक्रमा परिसकेका छन्। त्यसैले अब सजिलै ऋण उपलब्ध गराउन गाह्रो हुन्छ,' नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भने, 'निक्षेपको दर बढ्न थालेको छ। स्प्रेड व्यवस्थापनमा पनि जटिलता थपिन थालेको छ। यसले गर्दा 'प्राइसिङ' प्रेसर सुरु भएको छ।' 

राष्ट्र बैंकले गलत समयमा केही नीतिहरु परिमार्जन गरेकाले समस्या आएको अधिकांश बैंकरको बुझाइ छ। यही कारण अहिले बैंकहरु तरलता अभावको दुष्चक्रमा फसेका छन् भने ब्याज बढाउन बाध्य भएका छन्।

स्टिल र सिमेन्ट दुवै क्षेत्रमा लगानी गरिरहेका एक उद्यमीले बैंकहरुले ऋण दिन आनाकानी गर्न थालेको अनुभव सुनाए। उनका अनुसार, एक महिना अगाडिको दरमा ऋण पाउन छाडिएको छ। एक प्रतिशत बिन्दुभन्दा बढी तिर्छु भन्दा पनि बैंकहरुले पैसा दिन आनाकानी गरेको उनले सुनाए।

बैंकहरुले अहिले स्प्रेड (ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर) व्यवस्थापनमा लागेका छन्। बैंकिङ क्षेत्रकै औसत स्प्रेड दर ३.७ प्रतिशतमा झरिसकेको छ। त्यसमाथि राष्ट्र बैंकले कुल लगानीको १५ प्रतिशत लगानी गर्नैपर्ने एक करोडभन्दा कमको ऋणमा आधार दरभन्दा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन भनेको छ। 

यसबाहेक सरकारी अनुदानवाला ऋणमा पनि आधार दरभन्दा २ प्रतिशत बिन्दु बढी मात्र ब्याज कायम गर्न पाइन्छ। कर्पोरेटहरुले यसै पनि आधार दरभन्दा एक/डेढ प्रतिशत बिन्दु मात्रै बढी प्रिमियममा ऋण मोलमोलाइ गर्छन्। यही कारण स्प्रेड ३.७ प्रतिशतबाट अझै घट्ने अवस्था छ। 

अहिले बैंकहरुले स्प्रेड व्यवस्थापन गर्नका लागि पनि ब्याज बढाउन थालेका छन्। उनीहरुले घरजग्गा कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, सेयर धितो ऋणको ब्याज महँगो बनाउन थालेका छन्। बैंकहरुले आधार दरभन्दा ५ प्रतिशतसम्म प्रिमियम लिने भनेर सार्वजनिक सूचना निकालिरहेकोमा अब सात प्रतशितसम्म लिने भनेर सूचना जारी गर्न थालेका छन्।

'अहिले कर्पोरेट ऋणको ब्याज बढ्न थालेको छ। नयाँ ऋणीहरुको पनि ब्याज बढ्न थालेको छ,' शाक्यले भने, 'निक्षेपको ब्याज बढेर आधार दर उक्लिएपछि अन्य आवधिक ऋणको पनि ब्याज बढ्ने देखिन्छ।'

व्यवसायीहरुले ७/८ प्रतिशतमा पाइरहेको ऋण अहिले नौ/साढे नौ प्रतिशत पुगिसकेको छ। यो कर्पोरेट ऋणको ब्याज हो। आम सर्वसाधारणले लिने ऋणको ब्याज १० प्रतिशतभन्दा माथि पुगिसकेको छ। अहिले बैंकहरुले सर्वसाधारणको ऋणको ब्याज बढाउन थालेका छन्। केहीले प्रिमियमसमेत चलाउन थालेका छन्। यसको सूचना राष्ट्र बैंकमा पुगेपछि प्रवक्ता देवकुमार ढकालले प्रमुख कार्यकारीहरुको छलफलमा यसबारेमा सचेत समेत गराएका थिए।