BIZMANDU
www.bizmandu.com

नेपाल-भारत रेल्वे सम्झौतापछि आयो निजी कम्पनीको रेल, हिन्द टर्मिनलको रेलले ल्यायो सामान

२०७८ भदौ ३०

नेपाल-भारत रेल्वे सम्झौतापछि आयो निजी कम्पनीको रेल, हिन्द टर्मिनलको रेलले ल्यायो सामान
नेपाल-भारत रेल्वे सम्झौतापछि आयो निजी कम्पनीको रेल, हिन्द टर्मिनलको रेलले ल्यायो सामान

वीरगंज। निजी रेल कम्पनीले नेपालमा पहिलो पल्ट आफ्नै रेलमा सामान ल्याएको छ। भारतीय हिन्द टर्मिनल प्रालि(एचटीपीएल)ले पहिलो पल्ट हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेको रेल ल्याउन लागेको हो।

Tata
GBIME
Nepal Life

नेपाल-भारत तथा तेस्रो मुलुकको पारवहन क्षेत्रमै यसलाई महत्वपूर्ण मानिएको छ। सन् २००० देखि निर्माण कार्य शुरु भई सन २००४ देखि सञ्चालनमा आएको वीरगंजको सिर्सिया सुक्खा बन्दरगाहमा हालसम्म रेलबाट मालसामान आउने गरेको छ।

हालसम्म भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कोन्करले मात्र रेल सञ्चालन गर्दै आएको थियो। तर डेढ महिना अघि नेपाल र भारतका सरकार बीच भएको रेल्वे सर्भिस एग्रिमेन्ट(आरएसए) अनुसार, नेपाली, भारतीय वा विदेशी रेल सञ्चालन गर्ने कम्पनीले पनि मालसमान बोक्ने रेल चलाउने व्यवस्थालाई स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले पहिलो पल्ट कन्टेनर बोकेको रेल आएको हो।

पश्चिम बंगालको हल्दिया बन्दरगाहबाट हिडेको रेल बिहारको सीतामढीमा आइपुगेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र शाहीका अनुसार ९० वटा २० फुटे कन्टेनर लोड गर्ने र्‍याक बोकेको निजी रेल हिन्द टर्मिनलले बुधबार विहान ९ बजेपछि रक्सौल भन्सारबाट आवश्यक कागजी प्रक्रिया पुरा गरी विहान १० बजेसम्म सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गर्नेछ।

‘बुधबार विहान ९ बजे भन्सारको प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गर्नेछ,’ उनले भने,‘यो नेपाल-भारत र तेस्रो मुलुकको व्यापार सहजीकरणमा निकै महत्वपूर्ण कदम हो।’ रेलमार्गबाट मालसमान आयात निर्यातमा प्रतिस्पर्धी थपिएपछि आयात, निर्यात भाडामा कमी आउने विश्वास छ।वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले एकभन्दा बढी रेल सञ्चालक कम्पनीले समान ल्याउन थालेपछि कोन्करको एकलौटी समाप्त हुने र प्रभावकारी किसिमले आयात निर्यातमा मद्दत पुग्ने बताए।

उनले भने, 'अब नेपाली आयातकर्ताको समान सही समयमा किफायती भाडामा नेपाल आउने छ।'  व्यवसायीका अनुसार प्रतिस्पर्धी थपिएपछि १० देखि २० प्रतिशतसम्म रेलको भाडामा कमी आउने अनुमान छ। सिर्सिया सुक्खा बन्दरगाह कम्पनी प्रिस्टिन भ्याली प्रालिले पनि आफ्नै रेल चलाउने योजना अघि बढाएको छ।

हिन्द टर्मिनल प्रालिले २००५ देखि मुम्बईको जवाहरलाल नेहरु बन्दरगाहबाट शुरुमा वेयरहाउस सञ्चालन गर्दै लजिस्टिक व्यवसायमा हात हालेको थियो भने अहिले आफ्नै रेल सञ्चालन गर्न भारत सरकारबाट अनुमति पाएको कम्पनी हो। यसको भारतको जहावरलाल नेहरु पोर्ट, मुन्द्रा, हजिरा, चेन्नईमा आफ्नै कन्टेनर फ्रेट स्टेशन र दिल्लीको पलवारमा मल्टी मोडल रेल लिंक्ड लजिस्टिक पार्क सञ्चालनमा छ।