BIZMANDU
www.bizmandu.com

सीई ग्रुपले विराटनगरमा ६० करोड लगानीमा २७ घरको सामूहिक आवास बनाउँदै,  चार घर बिक्री भइसक्यो


सीई ग्रुपले विराटनगरमा ६० करोड लगानीमा २७ घरको सामूहिक आवास बनाउँदै,  चार घर बिक्री भइसक्यो
सीई ग्रुपले विराटनगरमा ६० करोड लगानीमा २७ घरको सामूहिक आवास बनाउँदै,  चार घर बिक्री भइसक्यो


विराटनगर।विगत ३० वर्षदेखि निर्माण व्यवसायमा संलग्न काठमाडौंको सीई ग्रुपले विराटनगरमा ६० करोड लगानीमा २७ वटा भिल्ला बनाएर सामूहिक आवास निर्माण गर्ने भएको छ। विराटनगर महानगरपालिका वडा नं. ७ मा पर्ने सरस्वती टोलमा २२ कट्ठा जमिनमा सीई ग्रुपले सामूहिक आवासको निर्माण सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

यसमा सीई ग्रुपले विराटनगरका युवा उद्योगी सुरेश राठीलाई पनि साझेदार बनाएको छ।

कार्यक्रमका योजना प्रमुख एवं इन्जिनियर विमल भट्टराईले अबका ३० महिनामा २७ वटा एकल आवासीय भिल्ला बनाएर ग्राहकलाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिए। उनले सामूहिक आवासअन्तर्गत टाइप ए, बी र सी गरी ३ प्रकारका घर हुने स्पष्ट पारे। जसअनुसार टाइप ए अन्तर्गतका घर २० वटा हुनेछन्।

प्रत्येक घरको बिल्ट अप एरिया २ हजार १ सय वर्गफिट हुनेछ। सबै घर साढे दुई तले हुनेछन्। यस्ता घरहरूले ९ धुर जमिन ओगट्नेछन् । यस प्रकारका घरको मूल्य २ करोड २० लाखबाट सुरु हुनेछ। त्यस्तै टाइप बी अन्तर्गत ५ वटा घरको निर्माण गरिनेछ। प्रत्येक घरको बिल्टअप एरिया २ हजार ३ सय वर्गफिट हुनेछ । यी घर पनि साढे दुई तले नै हुनेछन्। टाइप बी अन्तर्गतका घरले ९ देखि १३ धुर जमिन ओगट्नेछन्।

टाइप ए र बी अन्तर्गतका घरमा ४ वटा बेडरुम हुनेछन्। एक बेडरुम मात्र अट्याच बाथरुमयुक्त हुनेछ। बाँकी ३ बेडरुमका लागि २ वटा कमन बाथरुमको निर्माण गरिनेछ। दुबै प्रकारका घरमा छुट्टै पूजा कोठा र लिभिङ कम डाइनिङ रुमको व्यवस्था हुनेछ। सबैभन्दा माथिल्लो तलाको कोठा विविध उद्देश्यका लागि प्रयोग गर्न सकिनेछ।

यस कोठालाई योगा, बेडरुम, अध्ययन, पुस्तकालय, कम्युटर रुम, मिटिङ रुम आदिका रूपमा आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकिनेछ। उनले सबै घरमा वास्तु मिलाउन हरसम्भव प्रयास गरिएको बताए।भट्टराईका अनुसार घरभित्रको टाइल्स, मार्बल्स र ग्रेनाइडको कामदेखि रङ रोगनसम्म सबै कम्पनीले नै गरिदिनेछ। 

उनले टाइप एका ३ वटा र बीको १ गरी ४ वटा घर विक्री भइसकेको जानकारी दिए।टाइप सीका घरलाई सीडी नामकरण गरिएको छ। यसअन्तर्गतका घरहरू सीई ग्रुपले ग्राहकको डिजाइनअनुसार बनाइदिने भएकाले कस्टमर्स डिजाइन अर्थात् सीडी भनिएको हो।

यस्ता घर २ वटा हुनेछन्। यसअन्तर्गत कति जमिनमा कस्तो प्रकारको घर भन्ने निर्णय ग्राहककै हुनेछ। र, ग्राहकले इच्छा गरेपछि कम्पनीले घरजग्गाको मूल्य तोक्नेछ। घर खरिद गर्ने सबै ग्राहकले मालपोत कार्यालयबाट जारी गरिने जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पनि पाउनेछन्।
इन्जिनियर भट्टराईले टाइप ए र बी अन्तर्गतका घर खरिद गर्नेले पहिला ३० लाख रुपैयाँ एडभान्स दिएर प्रत्येक ३ महिनामा ९ किस्ता गरेर रकम तिर्नसक्ने उल्लेख गरे।

यसबाहेक सामूहिक आवासमा निर्माण गर्न लागिएको सामुदायिक भवन र यसको कोषका लागि १ लाख रुपैयाँ छुट्टै बुझाउनु पर्नेछ।
यस सामूहिक आवासभित्र एक सामुदायिक भवनसहित, गणेशको एक मन्दिर र एक खुला पार्कसमेतको निर्माण गरिनेछ।

आवासभित्र महानगरबाट स्वीकृत ६ मिटर चौडा भएको पिचसडकसहित आधुनिक ढल निकास र खानेपानीको पाइपलाइनको व्यवस्थासमेत गरिनेछ। योजना प्रमुख भट्टराईले आगामी ३० महिनासम्म दैनिक १ सय कामदारले निर्माण कार्य गर्ने उल्लेख गर्दै हाल ३० जनाले रोजगारी पाइसकेको स्पष्ट पारे।

भट्टराईले ग्राहकले घर खरिद गरिसकेपछि आफ्नो इच्छाअनुसार थप्न, फोर्न, भत्काउन नपाइने नियम रहेको सुनाए। उनले अनुभवी जनशक्तिले मापदण्डअनुसारका गिटी, बालुवा, सिमेन्ट, डन्डी र अन्य केमिकलको प्रयोग गरेर घर बनाउने जिकिर गरे। आवासका लागि विराटनगर महानगरपालिकाबाट नक्सा पास लगायतका सबै प्रक्रियाहरू पूरा भइसकेको उनको कथन छ।

उनले नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गतको बबर महलस्थित भवन विभागले जारी गरेको राष्ट्रिय भवनसंहिताका प्रावधानभित्र रहेर सामूहिक आवासका घर बनाइने जानकारी दिए।

यस्ता घरहरू भूकम्प प्रतिरोधी हुने उनको दाबी छ। यस्ता घरलाई ख वर्गका घर भन्ने गरिन्छ। सीई ग्रुपले उपत्यकाबाहिर १६ वर्षअघि २०६२ सालमा धरानको गणेशमान चौकमा १४ कठ्टा जमिनमा १५ वटा घरको सामूहिक आवास निर्माण गरेर विक्री गरेको थियो । सीईले उपत्यकाबाहिर धरानपछि विराटनगरमा दोस्रो पटक कारबार गर्न लागेको हो।