BIZMANDU
www.bizmandu.com

कुलमान नेतृत्वमा आएपछि भूमिगत तार तान्ने कामले पायो गति, महाराजगंजमा ५०% सकियो

२०७८ भदौ ३०

कुलमान नेतृत्वमा आएपछि भूमिगत तार तान्ने कामले पायो गति, महाराजगंजमा ५०% सकियो
कुलमान नेतृत्वमा आएपछि भूमिगत तार तान्ने कामले पायो गति, महाराजगंजमा ५०% सकियो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक प्राधिकरण नेतृत्वमा आएसँगै भूमिगत तारको काम युद्धस्तरमा भइरहेको छ।

Tata
GBIME
Nepal Life

एक वर्ष अघि घिसिङले सुरु गरेको आयोजनाको काम कोभिड महामारीका कारण लामो समय प्रभावित भएको थियो। तात्कालिन नेतृत्वले पनि कामको लागि ताकेता नगर्दा यी आयोजनाको काम निकै सुस्त भएको थियो।

घिसिङ पुनः नेतृत्वमा आएसँगै उनले भूमिगत तारको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएपछि धेरै ठाउँको काम एकैपटक अघि बढेको हो।

महाराजगंज क्षेत्रमा ५० प्रतिशत काम
अहिले काठमाडौंमा महाराजगंज र रत्नपार्क वितरणकेन्द्र अन्तर्गतको विद्युत लाइन भूमिगत गर्ने काम भइरहेको छ।

त्यसमध्ये महाराजगंज क्षेत्रमा करिब ६०० किलोमिटर तार भूमिगत गर्नुपर्नेमा करिब ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाका कर्मचारी दीपेन्द्र बमले बताए।

महाराजगंजमा ११ केभी क्षमताको २०० किलोमिटर र ४०० भोल्ट क्षमताको ४०० किलोमिटर लाइन भूमिगत गरिदै छ। यस मध्ये अहिले २६० किलोमिटर तार भूमिगत गरिसकिएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार बुढानिलकण्ठ, महाराजगंज, मनमैजु, टोखा, गोगंबु, सामाखुसी लगायतका ठाउँमा भूमिगत तारको काम सकिएको छ।

रत्नपार्क क्षेत्रमा २५ प्रतिशत

रत्नपार्क वितरण केन्द्र अन्तरगत २१७ किलोमिटर ११ केभी र ३८८ किलोमिटर ४०० भोल्टको गरि ६०५ किलोमिटर लाइन भूमिगत गरिदै छ। यसमा ११ केभीतर्फ ५० किलोमिटर र ४०० भोल्टतर्फ ९० किलोमिटर गरि १४० किलोमिटरको काम सकिएको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए।

कोभिडका कारण केही समय काममा सुस्तता आएपनि अहिले सडक विभागबाट धमाधम अनुमति लिएर द्रुत गतिमा काम भइरहेको श्रेष्ठले बताए।

अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर, लाजिम्पाट धोवीखोला करिडोर, अनामनगर, मैतीदेवी लगायतका ठाउँका भित्री सडकमा भूमिगत तारको काम भइरहेको छ। मुख्य ठूला सडकमा भने दसैंतिहारको बीचमा मात्रै काम गर्ने योजना रहेको श्रेष्ठले बताए।

तोकिएको समयमा काम सम्पन्न नभएपनि अबको डेढ वर्षभित्र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका सबै ठाउँमा भूमिगत तारबाट बिजुली बाल्न सकिने उनको दाबी छ।

बानेश्वर, बालाजु, कलंकी र कीर्तिपुरमा अझै सुरु भएन

प्राधिकरणले दोस्रो चरणमा बानेश्वर, बालाजु, कुलेश्वर, कलंकी, कीर्तिपुर, जोरापाटी, साँखु, पेप्सीकोला लगायतका ठाउँमा काम सुरु गर्ने आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताए।

यी वितरण केन्द्रको ठेक्का गत माघमै लागिसकेको भए पनि कोभिडका कारण निर्माण उपकरण ल्याउन ढिलाइ भएकाले काम सुरु हुन नसकेको हो। अब बढीमा ३ महिनाभित्र यी क्षेत्रमा पनि भूमिगत तारको काम सुरु हुने उनले बताए।

तेस्रो चरणमा ललितपुर र भक्तपुरमा
प्राधिकरणले तेस्रो चरणमा ललितपुर र भक्तपुर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना बनाएको छ। यसका लागि भर्खरै ठेक्का सम्झौता भएको र यहाँ पनि आगामी ४/५ महिनाभित्र काम सुरु गर्न सकिने प्रधानले बताए।

उपत्यकामा ३ वर्षभित्र सबै तार भूमिगत
अहिले बिजुलीका पोलले धान्नै नसक्ने गरी राखिएका इन्टरनेटका तारसहित सबै बिजुलीका तार तीन वर्षभित्र भूमिगत गरिसक्ने प्राधिकरणको योजना छ।

पहिलो चरणमा महाराजगंज वितरण केन्द्रबाट सुरु गरिएको भूमिगत तारको काम तोकिएको अवधिभित्र सकिएको भए त्यहाँका बासिन्दाले जमिनमुनीबाट तार तानेर बिजुली बालिरहेका हुन्थे।

तर कोभिड महामारी लगायतका कारण यो आयोजनाको काम समयमै सम्पन्न हुन सकेन। अब बढीमा एक वर्षभित्र महाराजगंज र डेढ वर्षभित्र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका एक लाख घरधुरीमा जमिनमुनीबाट तार तानेर बत्ती बालिने छ।

उपत्यकामा सकिएपछि पोखरा, चितवन, विराटनगर, बुटवल, धनगढी लगायतका ठाउँमा पनि भूमिगत तारमार्फत बिजुली आपूर्ति गर्ने प्राधिकरणको लक्ष्य छ।