BIZMANDU
www.bizmandu.com

कोभिडको दोस्रो लहर नियन्त्रणमा आएसँगै दशैंको उत्साह उडानमा, चार साता अघि नै बुकिङ खुल्यो


काठमाडौं। दशैं आउन चार साता बाँकी नै छँदा हवाई कम्पनीहरुले आन्तरिक तर्फको हवाई टिकट बुकिङ गर्न थालेका छन्।  विगतका वर्षहरुमा दशैं आउन एक साताअघि देखि मात्र बुकिङ हुने गरेकोमा यस वर्ष झण्डै एक महिना अघि देखि नै बुकिङ खुलेको हो।

Tata
GBIME
Nepal Life

बुद्ध, यती, श्री, सौर्य लगायतका वायुसेवा कम्पनीहरुले गत सातादेखि  नै दशैं लक्षित गरी विभीन्न गन्तब्यका लागि अग्रिम बुकिङ सुरु गरेको जानकारी दिएका छन्।

सबै वायुसेवा कम्पनीले ठूला क्षमताको जहाज संचालनमा ल्याएसँगै यस वर्षको दशैंमा यात्रुलाई सिटको हाहाकार समेत नहुने वायुसेवा कम्पनीले जनाएका छन्। बिगतका वर्षहरुमा कोभिड महामारीका कारण दशैंमा घर जान नपाएका यात्रुहरु यतिबेला महामारीको दोस्रो लहर नियन्त्रणमा देखिएको कारण पनि उत्साहित छन्। कतिपय स्थानमा बर्खामा बिग्रेका सडकहरु बनिनसकेका कारण  पनि एक महिनादेखि नै यात्रुहरुले हवाई टिकट बुकिङबारे सोधीखोजी सुरु गरेकाले हवाई कम्पनीहरु पनि चाँडै बुकिङ खोल्ने‍ तयारीमा जुटेका थिए। 

हाल दैनिक ७० वटा उडान गर्दै आएको बुद्ध एयरले दशैंमा माग आए अनुसार उडान संख्या थप्ने योजना रहेको विक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए। उनका अनुसार कम्पनीको ७० वटै उडानमा ९० प्रतिशत भन्दा अकुपेन्सी कायम हुँदै आएको छ।

काठमाडौंबाट बाहिरिने यात्रुहरुले दशैंका लागि टिकट लिन सुरु गरिसकेको कम्पनीले जनाएको छ। 'यात्रुले टिकट काट्न सुरु गरिसकेका छन्। अहिले सबैजनासँग ठूला ठूला जहाज छन्। फ्लाइट संख्या पनि प्रशस्त छन्। यो वर्ष सिट संख्या २५ प्रतिशतले बढेको छ।'-उनले भने।

फूलपातीसम्म काठमाडौंबाट बाहिरिने यात्रुहरुको चाप धेरै हुने र भित्रिने चाप कम हुने कारण  वन वे लोड धेरै हुने उनले जानकारी दिए।

दैनिक २१ वटा नियमीत उडान गर्दैं आएको यती एयरलाइन्सले दशैंलक्षित २५ वटा उडानका लागि  प्रकृया सुरु गरेको छ। दशैंमा यात्रुहरुको चाप बढ्ने हुँदा कम्पनीले उडान संख्या थप गर्न लागेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

'हामी थप सेड्युल पासका लागि प्रक्रियामा छौँ। सेड्युल पास भएलगत्तै हामी दशैंलक्षित टिकट खुला गर्ने योजनामा छौँ।'-प्रवक्ता वर्तौलाले भने-'अहिले यात्रुले अनलाइनबाटै दशैंका लागि टिकट बुकिङ गर्न थालेका छन्।'

दशैंका लागि यो वर्ष छिट्टै बुकिङ खोल्न लागेको श्री एयरलाइन्सले जनाएको छ। सडकमार्ग अव्यवस्थित भएपछि यो वर्ष पोहोरको भन्दा अलि चाँडै देखि नै अग्रिम टिकट बुकिङ सुरु गर्न थालेकाले आफूहरुले पनि त्यसै अनुसार तयारी गरेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।

'यतिखेर धमाधम टिकट बुकिङ हुन थालिसकेको छ। चाडवाडमा माग बढी हुनु स्वाभाविक नै हो। यो अवस्थामा यात्रुलाई सस्तो फेयर पाउन मुस्किल हुन्छ। अगाडि नै टिकट खरिद गर्दा कम फेयरमा टिकट पाइने भएपछि यात्रुले अलि चाँडै देखि टिकट काट्न थाल्छन्।'- प्रवक्ता मानन्धरले भने।

फूलपातीदेखि तुम्लिङटार र भरतपुर उडानको टिकट भरिभराउ हुन थालेको वायुसेवा कम्पनीहरुले जनाएका छन्। यी दुवै गन्तब्यमा कम उडान हुने भएका कारण अरु गन्तब्यको तुलनामा अग्रिम टिकट बुकिङ धेरै भएको हो।

दशैंमा घर जाने यात्रुको अग्रिम बुकिङ आउन सुरु भइसकेको सौर्य एयरलाइन्सले जनाएको छ। हाल दैनिक आठवटा उडान गर्दै आएको कम्पनीले दशैंमा दैनिक १२ वटा उडान गर्ने योजना बनाएको कम्पनीका बजार प्रमुख मुकेश खनालले बताए। उनका अनुसार कम्पनीले विराटनगर, भरतपुर, भैरहवा, धनगढी, भद्रपुर लगायत चार गन्तब्यमा क्रमश: दैनिक चार, चार र  दुई, दुई उडान गर्ने योजना बनाएको छ।

कम्पनीले दशैंलाई लक्षित गर्दै यात्रुलाई सस्तो भाडादरमा हवाई सेवा दिने योजना रहेको उनले जानकारी दिए।

'अहिले फाट्टफुट्ट  बुकिङ आउन सुरु भएको छ। हामीले दशैंमा यात्रुहरुको चापलाई हेरी उडान संख्या बढाउन लागेका हौँ। हामीले छिट्टै दशैंलक्षित सस्तो भाडादर सार्वजनिक गर्ने तयारी गरेका छौँ।'-उनले भने।

यसैगरी गुण एरलाइन्सले मंगलबारदेखि आफ्नो टिकट बुकिङ सुरु गरेको छ। कम्पनीले आउँदो असोज दोस्रो साताबाट सातैवटा जहाजमार्फत सेवा सुरु गर्ने योजना रहेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए।

कोभिड-१९ दोस्रो लहर नियन्त्रणमा आएसँगै यतिबेला आन्तरिकतर्फको उडानमा यात्रुको सहभागिता सामान्यतया अवस्थामा आइसकेको छ। अगस्ट महिनामा मात्र साढे तीन लाख यात्रुले आन्तरिकतर्फको उडान सेवा लिएको त्रिभुवन विमानस्थलले जनाएको छ।