BIZMANDU
www.bizmandu.com

धनगढीको वेस्टर्न लिकरले नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरेको ठहर, आधा अर्ब जरीवाना

२०७८ भदौ २९

काठमाडौं। आन्तरिक राजस्व विभागले नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गर्ने वेस्टर्न लिकरलाई ५३ करोड जरीवाना गरेको छ। विभागले धनगढीमा रहेको यो उद्योगसँग सो रकम बराबरको जरीवाना रकम माग गरेको हो। 

Tata
GBIME
Nepal Life

नक्कली अन्त:शुल्क स्टीकर प्रयोगमा संलग्न सात जनालाई पक्राउ गरेर जनही ७ करोड २९ लाख रुपैयाँ मागेको हो। एक महिना अघि कम्पनीको कामदार बस्ने घरबाट नक्कली स्टीकर बरामद भएपछि विभागले अनुसन्धान सुरु गरेको थियो। बरामद भएको स्टीकर विभागमा जाँच गर्दा नक्कली भएको प्रमाणित भएको छ।

कुल स्टीकर करिब ७ करोड मूल्य बराबरको रहेको विभागले जनाएको छ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गर्ने वेस्टर्नलाई ५३ करोड जरीवाना गरिएको जानकारी दिए। 'चर्को राजनीतिक दबाबबीच वेस्टर्नलाई कारवाही गरिएको छ। अन्य क्षेत्रमा भेटिएको नक्कली स्टीकरमा समेत अनुसन्धानलाई कडा बनाइएको छ।'

यो उद्योगबाट ५० र ७० युपीको धेरैजसो सस्ता मदिरा उत्पादन गर्दै आएको छ। उद्योगको संचालक संचालक हर्केस सिंह हुन्। विभाग स्रोतका अनुसार वेस्टर्नले सस्तो मदिरा पहाडी क्षेत्रमा बिक्री गर्दै आएको छ। यो कम्पनीको उत्पादनमा अहिले रोक लगाएको विभागले जनाएको छ। 

यो कम्पनीको मदिरा पहाडी क्षेत्रमा बिक्री हुने यो मदिरामा राजस्वको समेत आँखा परेको थिएन। पटक पटक नक्कली स्टीकर भेट्दा नियमन कमजोर हुँदा राजस्व चुहावट बढेर गएको छ। केही सस्ता मदिरा उद्योगले पहिले पनि नक्कली स्टीकरको प्रयोग गर्दै आएको छ।

कोभिडको समयमा अनुगमन गर्न नसक्दा राजस्व छलीको घटनामा वृद्धि भएको विभागको भनाई छ। आवश्यक जनशक्ति कम हुँदा विभागले अनुगमन प्रभावकारी बनाउन सकेको छैन। विभागका एक कर्मचारीले भने ' नक्कली स्टीकर भेटिनु गम्भीर विषय हो, यसलाई मन्त्रालय र विभागले समिक्षा गरिसकेको छ, आगामी दिनमा अनुगमनमा कडाई गर्ने तयारी गरेका छौं।'

डेढ वर्ष अघि पनि नक्कली स्टीकरको बिगबिगी थियो। अहिले फेरि त्यही समूह सक्रिय हुन थालेको विभागको निष्कर्ष छ। २०७६ मा नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरेको आरोपमा पर्सामा संचालित उदयपुर डिस्टीलरी र जयश्री धौवलागिरी डिस्टिलरी पोखरियाका संचालक अन्त:शुल्क स्टीकर दुरुपयोगमा जेल चलान भएका थिए।

आन्तरिक राजस्व कार्यालय वीरगंजले स्टीकर दुरुपयोगको आरोपमा उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ रुपैयाँ धरौटी माग गरेको थियो। त्यसैगरी जयश्री धौलागिरीका संचालक शम्भु शरणप्रसाद कलवारसँग ५ करोड ४८ लाख २९ हजार २ सय ५० रुपैयाँ धरौटी माग  गरिएको थियो।