BIZMANDU
www.bizmandu.com

डेढ महिनामा ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात, यही अनुपातमा भए बर्षमा ७९ अर्बको आयात

२०७८ भदौ २९

डेढ महिनामा ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात, यही अनुपातमा भए बर्षमा ७९ अर्बको आयात
डेढ महिनामा ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात, यही अनुपातमा भए बर्षमा ७९ अर्बको आयात


काठमाडौं। पछिल्लो डेढ महिनामा जसरी सुनको आयात बढिरहेको छ त्यसलाई बार्षिक रुपमा हिसाब (अनुमानित) गर्ने हो भने ७९ अर्ब रुपैयाँ सुन खरीदका लागि पैसा बाहिरिने देखिएको छ।

Tata
GBIME
Nepal Life

सुन आयात गर्ने जिम्मा पाएका बाणिज्य बैंकहरुले चालु बर्ष (गत शुक्रबार सम्मको तथ्यांक) ११ सय किलो सुन व्यवसायीलाई बिक्री गरिसकेका छन्। यसबाहेक बैंकहरुसँग अझै १५५ किलो सुन मौज्दातनै छ।

सोमबारको प्रति १० ग्रामको मूल्य (७७६७५ रुपैयाँ) का आधारमा हिसाब गर्ने हो भने चालु बर्ष ८ अर्ब ५४ करोड ४२ लाख ५० हजार रुपैयाँको सुन ब्यवसायीले उठाइसकेका छन्। १५० किलोको मौज्दातसमेत जोड्ने हो भने चालु बर्ष ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भइसकेको छ।

गत बर्षको तथ्यांक अनुसार प्रमुख आयात हुने वस्तुको सूचीमा सुन १० नम्बरमा पर्छ। तर डेढ महिनामा जसरी सुन आयात भइरहेको छ त्यस हिसाबले चालु बर्ष प्रमुख आयात हुने सूचीको तीन नम्बरमा पुग्ने छ। एक नम्बरमा पेट्रोलियम पदार्थ छ भने दोस्रोमा सवारी साधन, यातायात र यसका पार्टपुर्जा छन्।

पोहोर बर्षभरीमा २७ अर्ब ४८ करोड रुपैयाँको सुन आयात भएको थियो। त्यसअघिको बर्ष कोभिडको संक्रमण, लकडाउनका कारण सुनको आयात कम भएको थियो। त्यसबेला सुनको तस्करी मौलाएको तथ्यांक पनि छ। त्यही भएर औपचारिक माध्यमबाट नआएको पनि देखिन्छ। त्यो बर्ष १३.६३ अर्ब रुपैयाँमा झरेको थियो।

चालु बर्ष भने सबै रेकर्डहरुलाई तोड्दै सुनको खपत अत्याधिक बढिरहेको छ। 'अहिलेको कोटा पुगेन भनेर व्यवसायीले भनिरहनु भएको छ। अहिले सुनमा कोटा नलगाउने हो भने दिनमै ४०/५० किलोसम्म बिक्ने अवस्था छ' बैंकहरुलाई सुनको आयातको कोटा लगाउने बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजमाण्डूसँग भने।

चालु बर्ष पनि कोभिडको संक्रमण कायमै छ। अझै पनि विवाह ब्रतबन्ध खुलमखुल्ला गर्ने अवस्था बनिसकेको छैन। तैपनि सुनको माग ह्वात्तै बढ्नु आश्चर्यजनक छ। संघसँग यसअघि यस्तरी सुनको माग भएको अनुभव छैन।

भन्सार विभागको तथ्यांक अनुसार एक महिनामा डेढ खर्ब रुपैयाँको सामान आयात भएको छ। भदौमा १५ दिनमै महिना दिनको भन्सार लक्ष्य पुरा भइसकेको छ। यस हिसाबले आयात उच्च दरमा भएको देखिन्छ (महिनाभरीको तथ्यांक आइसकेको छैन)। भन्सार विभागका अनुसार मुख्य आयातमा गाडी, पेट्रोलियम पदार्थ र सुन नै छ।

'सुन आयातले हाम्रो शोधानान्तर बचतमा ठूलो दबाब परेको छ। सुनका बारेमा केही न केही निर्णय गर्ने बेला भइसकेको छ। विदेशी मुद्रा संचितिमा पनि सुनको आयातले समस्या पार्न थालिसकेको छ' राष्ट्र बैंक उच्च अधिकारीले बिजमाण्डूसँग भने, 'हामीले सुन आयात उच्च भएका बारेमा अर्थमन्त्रालयलाई जानकारी गराएका छौं।'

सुन आयातको कोटा गत चैत १९ गतेबाट वृद्धि गरिएको हो। त्यसअघि दैनिक १० किलो सुन ब्यवसायीले खरीद गर्न पाउँथे। त्यसपछि दोब्बरले बढाएर २० किलो पुर्‍याएको छ। 'हिजोको कोटाले सुन आयात २७ अर्बले हुन्थ्यो भने अहिले सोझो हिसाबले पनि ५४ अर्ब रुपैयाँ पुग्ने देखिन्छ' ती अधिकारीले भने, 'पोहोर कुनै कुनै महिना माग नभएर आयात पनि भएको छैन। यसपाली त दिनकै २० किलो उठिरहेको छ।'

उनका अनुसार अब सुन आयातमा सचेत हुन आवश्यक भइसकेको छ। गत आर्थिक बर्षको जेठमा शोधनान्तर घाटा १५ अर्ब पुगेको थियो। असारमा मुस्किलले बचतमा गएको छ। जुन हिसाबले आयात (सुन बाहेकका बस्तुहरुको पनि) बढिरहेको छ, त्यस हिसाबले शोधानान्तर घाटा अबका दिनमा वृद्धि हुँदै जाने छ।

राष्ट्र बैंकको तथ्यांकले विदेशी मुद्राको संचिति घट्दै गएको देखाएको छ। उच्च आयातका कारण चालु खाता घाटासमेत बढेर गएको छ।

निर्यातका लागि पनि सुन आयात वृद्धि

राष्ट्र बैंकले निर्यात प्रयोजनका लागि गरगहना, हस्तकला लगायतमा प्रयोग गर्न नियमित कोटाबाहेक पनि सुन आयात गर्न दिन्छ। यसमा कोटा प्रणाली लाग्दैन। अहिले निर्यात प्रयोजनका लागि समेत सुनको आयात बढेर गएको छ।

बैंकर्स संघका अनुसार, गत बर्षभरी निर्यात गर्नका लागि कुल २४.५ किलो सुन आयात भएको थियो। चालु बर्ष १५ किलो आयात भइसकेको छ।

यो सुन उठाउन पनि व्यवसायीले विदेशबाट सामान खरीद गर्न आएको अर्डर, निकासीका लागि स्वीकृति दिने निकायहरुको पत्र लगायत ल्याउनु पर्छ। यो सुनले भने भ्यालुएडिसन (मूल्य वृद्धि) गर्छ। अहिले आयातमा खर्च भएपनि त्यो डलरका रुपमा फर्किएर आउँछ। निर्यातका लागि आउने सुनको आयात बढेकोमा भने चिन्ता लिनु पर्दैन।

तर, स्थानीय प्रयोगका लागि भइरहेको उच्च आयातबाट भने देशलाई घाटा हुनेछ।