BIZMANDU
www.bizmandu.com

दशैंलाई चौपाया खरिद बिक्री संघले ३५ हजार खसीबोका ल्याउने, यसपालि च्याङ्ग्रा आउने सम्भावना कम


दशैंलाई चौपाया खरिद बिक्री संघले ३५ हजार खसीबोका ल्याउने, यसपालि च्याङ्ग्रा आउने सम्भावना कम
दशैंलाई चौपाया खरिद बिक्री संघले ३५ हजार खसीबोका ल्याउने, यसपालि च्याङ्ग्रा आउने सम्भावना कम

काठमाडौं। चौपाया खरिद बिक्री संघले दशैंको लागि ३५ हजार खसीबोका ल्याउने भएको छ। बजारको अवस्था हेरेर यो वर्ष दशैंमा ३० देखि ३५ हजार खसीबोका ल्याउने तयारी भएको संघले जनाएको छ।

Tata
GBIME
Nepal Life

अहिले काठमाडौंमा दैनिक करिब १५ सयदेखि दुई हजारवटा खसीबोका बिक्री हुने गरेको छ। उपत्यकाबाहिरका जिल्ला र भारतबाट ल्याइने खसीबोका आउने क्रम जारी रहेकाले माग बमोजिम आपूर्तीमा समस्या नहुने संघका अध्यक्ष जनकराज खतिवडाले बताए।

दशैंमा अन्य समयको भन्दा मासुजन्नय पशुपंक्षीको माग धेरै हुने गर्छ। यद्यपि, कोभिडका कारण गत वर्षदेखि खसीबोकाको मागमा कमी आएको व्यापारीहरु बताउँछन्। 

यही कारण यसवर्ष माग यकिन गर्न सक्ने अवस्था नभए पनि कम्तिमा पोहोरकै हाराहारीमा खसीबोका ल्याएर बिक्री गर्ने योजना रहेको अध्यक्ष खतिवडाले बताए। काठमाडौं उपत्यकामा तराई र पहाडका विभिन्न जिल्लाबाट खसीबोका ल्याउन लागिएको उनले बताए।

संघले घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री सुरु गर्ने जनाएको छ। दशैंको बेला एकसाथ ठूलो संख्यामा खसीबोका ल्‍याइने भएकाले राख्ने ठाउँको समस्या हुने हुँदा दशैं लक्षित गरेर घटस्थापनाको एक-दुई अघि मात्र उपत्यकामा ल्याइपुर्‍याउने योजना गरेको खतिवडाले जानकारी दिए।

 दशैंमा ल्याउने खसीबोकाका लागि यतिबेला व्यापारीहरुले देशका विभिन्न ठाउँमा यसका लागि बुझिरहेका छन्। स्वदेशमै कति उपलब्ध हुन्छ र बजार माग धान्न त्यो पर्याप्त हुन्छ हुँदैन भन्ने यकिन गर्नका लागि पनि व्‍यापारीहरुले ठाउँठाउँमा पुगेर सूचना लिइरहेको बताइएको छ। यस वर्ष जेठ यता आएको ठूलो बाढी पहिरोका कारण पुगेको क्षतिले कतिपय ठाउँमा बुझ्नका लागि जान नसकिरहेको अवस्था भएको पनि खतिवडा बताउँछन्।

आपूर्ति कसिलो हुँदा किलोमा ५० रुपैयाँसम्म महँगिन सक्ने

बाढी पहिरो प्रभावित क्षेत्रबाट खसीबोका ल्याउन सक्ने अवस्था नभए यस पटक दशैंमा आपूर्ति केही कम हुनसक्ने सम्भावना समेत रहेको व्‍यापारीहरुको भनाइ छ। आपूर्तिको तुलनामा माग अत्याधिक धेरै भएका यो दशैंमा खसीबोकाको मूल्य जिउँदोमै प्रतिकेजी ३० देखि ५० रुपैयाँसम्म बढ्न सक्ने संघले जनाएको छ। आपूर्ति सहज भएमा भने मूल्य अहिले बजार मूल्यकै हाराहारी रहने सम्भावना समेत रहेको भनाइ संघको छ।

हाल बजारमा जिउँदो नेपाली खसीको मूल्य प्रतिकेजी ५ सय ८० रुपैयाँदेखि ६०० रुपैयाँ हाराहारी र भारतीय खसी ६ सय ८० रुपैयाँ रहेको छ।

सरकारी संस्थान खाद्य कम्पनीले पनि सहुलित मूल्यमा खसीबोका बिक्री गर्ने भएकोले माग चाप कम हुन सक्ने अनुमान संघको छ ।

 यसपालि मागअनुसार भेडा च्याङग्रा नआउने 

चौपाया खरिद बिक्री संघका अनुसार यो वर्ष पनि दशैंका लागि माग अनुसार भेडा र च्याङग्रा उपलब्ध नहुने भएको छ। गत वर्षदेखि नै कोभिडका कारण  उत्तरी नाका सहज नहुँदा तिब्बतबाट भेडा र च्याङग्रा आएको छैन।

नेपालमा भेडा-च्याङग्राको उत्पादन कम हुने भएकाले अघिल्ला वर्षहरुमा पनि व्यापारीले तिब्बतबाट यो प्रसस्त ल्याउने गरेका थिए। मागअनुसार पुग्दो परिमाणमा पारिबाट आउने हुँदा उपभोक्तालाई धेरै महँगो पर्दैनथ्यो। तर गत वर्षदेखि भने तिब्बतबाट भेडा च्याङग्रा नआउँदा स्वदेशी उत्पादनको न्यून आपूर्तिका कारण स्थानीय बजारमा यसको मोल चर्को भएको व्यापारीहरु बताउँछन्।

यसका बाबजुद स‌ंघले यस वर्षका लागि २५ सय भेडा-च्याङग्रा ल्याउने योजना बनाएको छ। तर यो संख्यामै पनि आउने सम्भावना कम नै रहेको भनाइ संघको छ। व्यवसायीका अनुसार हिमाली भेग मनाङ र मुस्ताङमा गरी अहिले पाँच हजार मात्र भेडा च्याङग्रा बिक्री योग्य अवस्थामा रहेको पाइएको छ।

अझ काठमाडौं उपत्यकासम्म आइपुग्नुअघि नै मनाङ र मुस्ताङका भेडा-च्याङ्ग्रा ठूलो परिमाणमा पोखराकै बजारमा खपत हुन्छन्।  उत्पादन नै कम भएकाले यसपालि पोखराको माग धानेर काठमाडौंसम्म च्याङग्रा आइपुग्न मुस्किल रहेको भनाइ व्यापारीहरुको छ।

आपूर्ती नै न्यून भएकाले भेडा-च्याङग्राको मूल्य अहिले नै जिउँदोकै किलोको एक हजार रुपैयाँभन्दा माथि पुगिसकेको संघले जनाएको छ। गत वर्ष पनि मुस्ताङमै यसको दाम किलोको ८५० रुपैयाँ रहेको थियो।