BIZMANDU
www.bizmandu.com

भवानी राणाका छोरा देवांशले ठमेलमा खोले ‘ब्ल्याक बर्ड’: नेपालकै पहिलो मिक्सोलोजी बार


भवानी राणाका छोरा देवांशले ठमेलमा खोले ‘ब्ल्याक बर्ड’: नेपालकै पहिलो मिक्सोलोजी बार
भवानी राणाका छोरा देवांशले ठमेलमा खोले ‘ब्ल्याक बर्ड’: नेपालकै पहिलो मिक्सोलोजी बार

ब्ल्याक बर्ड सिङ्गिङ इन द डेड अफ नाइट
टेक दिज् ब्रोकन विङ्स एन्ड लर्न टु फ्लाइ
अल योर लाइफ 
यु वेर अन्ली वेटिङ फर द मोमेन्ट टु अराइज…

Tata
GBIME
Nepal Life

एक साँझ बिटल्सको यही गीत सुनिरहँदा देवांश र सन्तोषलाई आफ्नो नयाँ बारको नाम फुरेको थियो – 'ब्ल्याक बर्ड'। उनीहरु ठमेलमा नयाँ कन्सेप्टको बार खोल्ने तयारीमा जुटेका थिए। बारको इन्टेरियर बनिरहेको थियो। अमेरिकामा युवाहरुमाझ लोकप्रिय मिक्सोलोजी कन्सेप्टमा बार बनिरहेपनि नाम भने जुरिसकेको थिएन। बिटल्सको यही गीतबाट उनीहरुले नाम जुराए 'ब्ल्याक बर्ड', जुन बार ठमेलमा एक साता अघिबाट संचालनमा आएको छ।  

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाका छोरा देवांश पारिवारिक होटल बिजनेसबाटै प्रभावित भएर हस्पिटालिटी पढेका युवा हुन्। विदेशमा पढेर फर्किएपछि २५ वर्षका देवांशले होटेलियर बुवा असित राणासँग केही समय नेपालगञ्जस्थित होटल स्नेहामा व्यवहारिक ज्ञान हासिल गरे। विस्तारै उनलाई युवापुस्ता लक्षित भेन्चर खोल्ने हुटहुटी पलायो। त्यसका लागि उनले रोजे आफ्नै स्कुले साथी डेभिड फाइया उर्फ सन्तोष। 

देवांश र डेभिडले लिंकन स्कुलमा सँगै पढेका थिए। डेभिडलाई स्कुल पढ्दा साथीहरुले नेपाली नाम दिएका थिए सन्तोष।  सन् २०१५ मा स्कुल सकेपछि देवांश उच्च शिक्षाका लागि स्विटजरल्याण्ड पुगे सन्तोष आफ्नै देश अमेरिका फर्किए। देवांशले स्विजरल्याण्डको लेस रोक्स युनिभर्सिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा अन्डरग्र्याजुएट कोर्ष सके। सन् २०१७ मा देवांशले भारतको इलाहबाद विश्वविद्यालयबाट बिजनेश म्यानेजमेन्टमा ग्र्याजुएशन गरे र त्यहाँको प्रसिद्ध होटल ताज मुम्‍बईमा ६ महिनाको इन्टर्नशीप समेत गरेर फर्किए। नेपाल फर्किएपछि बाँकेको नेपालगञ्जस्थित पारिवारिक होटल 'स्नेहा' मा आफ्ना पिता असितलाई सघाउन थाले देवांशले। त्यसको करिब एक वर्षपछि जन्मिएको हो ठमेलमा मिक्सोलोजी कन्सेप्टमा बार सुरु गर्ने योजना।अमेरिकामा कक्टेल रेसिपीको विज्ञानका रुपमा चिनिन्छ 'मिक्सोलोजी' कन्सेप्टलाई। यसलाई ग्लासमा जादू भर्ने बारटेन्डिङ कला समेत भनिन्छ। अमेरिकामा लोकप्रिय यो कन्सेप्टमा आधारित भएर सन्तोष र देवांशले नेपालकै पहिलो बार खोल्ने आइडिया फुराएका हुन्। अमेरिकामा सन्तोषले बार टेन्डिङ नै पढेर त्यसमा विज्ञता हासिल गरेकाले उनीहरुलाई यो कन्सेप्टमा काम गर्न सहज भयो।

उस्तै उस्तै उमेरका युवा सन्तोष र देवांशलाई जोड्ने पहिलो कडी थियो – काठमाडौंको लिंकल स्कुल, जहाँबाट यी दुवैले आफ्नो स्कुलिङ सकेका हुन्। दोस्रो कडीका रुपमा जन्मिएको छ ब्ल्याक बर्ड जसको सफलताको कामना गर्दै आमा भवानी राणाले देवांशलाई दिएको पेन्टिङ यही बारको बाल्कोनीमा झुण्डिएको छ।

सन् २०१५ मा स्कुलिङ सकेर अमेरिका फर्किएका सन्तोष दुई वर्षअघि नेपाल आएका थिए। उनले त्यसबेला यहाँ राम्रो ककटेल बार भेटेनछन्। उनले त्यसबेलै काठमाडौंमा मिक्सोलोजी कन्सेप्टको बारको राम्रो सम्भावना देखे। देवांश र सन्तोषले नौलो किसिमको व्यवसाय हुने देखेर नै यसलाई  व्यावसायिक स्वरुप दिने निर्णय गरे। 

भर्खरै आफ्नो पहिलो भेन्चर सुरु गरेका देवांश भन्छन्, 'मलाई पनि पर्यटन क्षेत्रमै केही नयाँ किसिमको व्यवसाय सुरु गर्न मन थियो। सन्तोष २०१९ मा नेपाल आउँदा राम्रो ककटेलबारे हाम्रो कुराकानी भएको थियो। हामीले त्यतिखेरदेखि नै यो बारको योजना बनाएका थियौं।' 

सन्तोषसँगै यो बार संचालनमा जोडिएका छन् देवांशका अर्का अमेरिकी साथी एण्ड्रयु रोबर्टसन् (३०), जोसँग चार वर्षअघि अमेरिकाको न्यूयोर्कमा उनको भेट भएको थियो। अमेरिकामा टप १० बार टेन्डरको अवार्डसमेत जितेका एन्ड्रयुले नै ब्ल्याक बर्डको बार टेन्डिङको नेतृत्व लिएका छन्। एण्ड्रयु भन्छन्, 'देवांश र सन्तोषले सुरु गरेको यो नयाँ कन्सेप्टको बारमा सहकार्य गर्न पाउँदा खुसी छु। आफ्नो कलाले नेपालीको मन जित्ने प्रयास रहनेछ।'

बार टेन्डिङमा पोख्त एन्ड्रयुलाई काम गर्नका लागि नै उनीहरुले नेपाल बोलाएका हुन्। एन्ड्रयुले ब्ल्याक बर्डका अन्य कामदारलाई पनि तालिम दिएर मिक्सोलोजीका नयाँ बार टेन्डरहरु तयार पार्नेछन्। न्युयोर्कमा सात वर्ष बार टेन्डिङको अनुभव भएका सन्तोषले पनि बार संचालनको र देवांशले ब्ल्याक बर्डको समग्र व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।

२०१९ मै बारको योजना बनेको भए पनि विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ महाव्याधिका कारण यो प्रोजेक्ट केही पर धकेलिएको थियो। तर बारको लोकेशन पक्का गर्नेदेखि त्यसको लेआउट तथा इन्टेरियरको काम भने त्यस बीचमा पनि रोकिएन। कोभिड संक्रमणको दोस्रो लहर कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि सन्तोष र एन्ड्रयु गत जुलाईमा नेपाल आए। त्यसको करिब एक महिनामै ब्ल्याक बर्ड संचालनमा आएको हो।

अमेरिकी एम्बियन्समा आठ घन्टा ककटेलको रौनक

दिउँसो चार बजेदेखि रातीको १२ बजेसम्म खुला रहने ब्ल्याक बर्डमा छिर्नेले यो आठ घन्टाबीच कुनै पनि समयमा उस्तै माहोल अनुभव गर्नेछन्। बारभित्र छिर्नेवित्तिकै छोप्ने यसको डार्क थिमले भिजिटरलाई न त बाहिरको उज्यालो-अँध्यारोको गहिराइको अनुमान हुनेछ न त समय बितेको अत्तोपत्तो नै। किनकि, ब्ल्याक बर्डलाई नामजस्तै 'ब्ल्याक' अर्थात् 'डार्क थिम' मा तयार पारिएको छ। बारको नामअनुसार भित्तामा विभिन्न प्रजातीका चराको पेन्टिङहरु राखिएका छन्। 

डार्क थिमको इन्टेरियरमा निश्चित ठाउँमा मात्र प्रयोग गरिएका वार्म फोकस डिम लाइटले बारको माहोललाई नशालु बनाउन खोजेको छ। यसले गर्दा ब्ल्याक बर्डसम्म पुगेका व्यक्ति बारसँग चाँडै 'ब्लेन्ड' हुन सक्छन्। यसले बारमा आउने पाहुनालाई न्युयोर्कको बारमा पुगेजस्तै एम्बियन्स दिने दाबी देवांशले गरे। उनलाई कम्प्लिमेन्ट गर्दै एन्ड्रयु भन्छन्, 'एम्बियन्स मात्र नभएर ग्राहकले खानपिनदेखि अनुभवसम्म न्युयोर्ककै महशुस गर्न पाउनेछन्।' 

लामो मेन्यु नराखिए पनि नाचोज्, मोजेरिल्ला स्टिक्स, चिकेन नगेट्स, मसरुम चिल्ली, प्रुट प्लाटर, कर्ड मिट्स, चिज बोर्ड, क्रोस्टिनी लगायतका विशेष स्न्याक्सको स्वाद बारले पस्किने बताइएको छ।

यसैगरी ब्ल्याक बर्ड, वेगटेल, पाराकेट, हमिङ्ग बर्ड, जुरेली, कोकाटु, मैना, अल्पाइन स्विफ्ट इत्यादि ककटेलका साथै विभिन्न वाइन, वियर, ह्वस्की लगायतका पेय पदार्थ राखिएको एन्ड्रयुले बताए। बारको सिग्नेचर ककटेल ड्रिंक्स पनि यसको नामसँग मिल्दो हुने 'ब्ल्याक' नै रहेको जनाइएको छ।

ब्ल्याक बर्डले अमेरिकी ककटेलको मजा लिन एक्लै बार पुगेकालाई पनि एक्लोपनको महशुस नहुने देवांश बताउँछन्। बारका स्टाफहरुले कस्टुमरसँग गर्ने कुराकानीदेखि अन्य 'फ्रेन्ड्ली' व्यवहारले उनीहरुले मदिरा पिउन साथीहरुसँग बसेजस्तै 'वेलकमिङ' र 'वार्म' माहोल अनुभव गर्ने सन्तोषको भनाइ छ। 

नेपाली र अमेरिकी दुई युवाको साझेदारीमा डेढ करोड लगानीबाट खुलेको यो बारले ककटेल ड्रिंक्ससँगै गुच्चा सोडा, वियर, व्हिस्की लगायत आफ्नो इच्छा अनुसारका पेय पदार्थ सर्भ गर्ने बताइएको छ।

ठमेलबाट आफ्नो पहिलो व्यवसाय सुरु गरेका देवांश भन्छन्, 'भविष्यमा पोखरा, सौराहा लगायत विभिन्न पर्यटकीय गन्तव्यमा मिक्सोलोजी कन्सेप्टकै ककटेल बार संचालनमा ल्याउने गरी हामी तयारी गर्दैछौं।' पारिवारिक होटल व्यवसाय भएका राणाले विभिन्न पर्यटकीय गन्तव्यमा होटलको चेन समेत विस्तार गर्ने आफ्नो योजना रहेको सुनाए।