Bizmandu
www.bizmandu.com

'कोभिडले मोबाइल प्रयोगको ट्रेन्ड नै बदलिदियो, १० हजारमुनिका फोन आउटडेटेड भए', प्रणयरत्न स्थापित

'कोभिडले मोबाइल प्रयोगको ट्रेन्ड नै बदलिदियो, १० हजारमुनिका फोन आउटडेटेड भए', प्रणयरत्न स्थापित


पछिल्ला केही वर्षमै मोबाइल अपरेटर र आईएसपीहरुको सेवा रफ्तारमा विस्तार हुँदा इन्टरनेट प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन्। यसको प्रत्यक्ष प्रभाव नेपाली मोबाइल बजारमा पनि परेको छ। स्मार्टफोनमा आफूलाई चाँडो-चाँडो अपग्रेड गर्न खोज्ने प्रवृत्तिले महँगा फोन बोक्न पनि नेपालीको औसत आयले नछेक्दा नेपाली मोबाइल बजारको आकार वार्षिक ४० अर्बनजिक पुगिसकेको छ, ग्रे मार्केटको लेखाजोखा बेग्लै छ। बजारमा छिरेका बग्रेल्ती नयाँ मोबाइल ब्रान्डहरुले विश्वकै अग्रणी ब्रान्डको बजार पनि खोस्दै गएका छन्। यस्तोमा कुन ब्रान्ड टिक्लान्, कुन हराउलान्? अनुमान लाउन गाह्रो! 



नेपाली मोबाइल बजारका यिनै परिदृष्यलाई केन्द्रमा राख्दै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितलाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे - कोभिडले प्रायः अरु सबै व्यवसाय चौपट हुँदा मोबाइलको व्यापार भने बेच्नै भ्याइनभ्याइ भयो भनिन्छ। यो अवस्थाले तपाईंहरुलाई पनि पछिल्लो एक-डेढ वर्ष राम्रै फलिफाप भयो होइन?
हो। तर मोबाइलको मात्र नभएर ट्याब्लेट, ल्यापटप लगायतका ग्याजेटको पनि व्यापार कोभिडयता बढेको छ। यो सामसङ मात्र नभएर अरु ब्रान्डका लागि पनि राम्रो भइदियो। कोभिडपछि धेरै कुरा अनलाइन गर्नुपर्ने बाध्यताले गर्दा पनि नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै यस्तै बन्यो अवस्था। तर बीचमा चिप उत्पादनमा समस्या हुँदा मोबाइल र अन्य ग्याजेट उत्पादकहरुले मागअनुसार आपूर्ति गर्न नसकेको अवस्था पनि बन्यो।

कोभिडअघि र पछिको मोबाइल बजारमा कस्तो परिवर्तन आएको देख्नुहुन्छ?
कोभिड-१९ पछि अर्थात् सन् २०२० यता मोबाइल इन्डष्ट्री एकदमै द्रुत गतिमा परिवर्तन भइरहेको छ, त्यो प्रष्टसँग देखिन थालेको छ। राम्रो डिभाइसको माग अझै बढेको छ। अहिले ग्राहकले प्रयोगका हिसाबले डिभाइसमा मुख्य गरी तीन कुराहरु खोज्ने गरेका छन्। एउटा - कनेक्टिभिटी। जस्तो अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायतका गतिविधिका लागि अहिले फोन निकै महत्वपूर्ण भएको छ। 

त्यसैगरी, वर्किङ प्रोफेशनलका लागि पनि कोभिडपछि मोबाइलको महत्त्वको स्वरुप केही फेरिएको छ। इमेलहरु पढ्न/पठाउन, म्यासेज पढ्न/पठाउन, वर्ड/पावर प्वाइन्ट लगायतका फाइलमा सानोतिनो एडिट गर्न सजिलो होस् भन्ने हिसाबले ठूलो स्क्रिन भएका र प्राविधिकरुपमा अलिक राम्रा स्मार्टफोन वर्किङ प्रोफेशनलका लागि उपयोगी भएको छ। 

अर्को भनेको मनोरन्जनलाई प्राथमिकता दिने उपभोक्ताले गेम र मल्टिमिडियाका लागि उपयोगी हुने विशेषता भएका फोन खोज्छन्। यी तीन वटै कामका लागि पहिलेको भन्दा अझ राम्रो स्मार्टफोनको खोज्ने बढेका छन्, जसमा र्‍याम/रोम अलि बढी होस्, गेम खेल्न प्रेसेसर पनि राम्रो होस् भन्ने चाहने उपभोक्ता अहिले धेरै बढेका छन्। 

पहिले ठिक्क खालको फोन बोक्नेले अहिले अझै राम्रो फोन प्रयोग गरौं भन्ने चाहन्छन्। पहिले सुरुमा १० हजारमुनिको फोन बोक्न खोज्थे भने अब २०-३० हजारको फोन रोज्छन्। पहिले २०-३० हजारको फोन बोक्नेहरु मिड रेन्ज फोनमा उक्लिएका छन्। मिड रेन्जका बोक्नेहरु फ्ल्यागसिप फोनमा स्तरोन्नती गर्दैछन्। यो ट्रेन्ड कोभिडपछि अझै तीव्र भएको छ।

नेपालमा पछिल्ला केही वर्षयताको मोबाइल बजारमा देखिएको तीव्र वृद्धि र यसको प्रवृत्तिलाई कसरी हेर्नुभएको छ?
केही वर्षयता नेपालको मोबाइल बजारको वृद्धि दर एकदमै राम्रो छ। समग्र दक्षिण पूर्वी एसियमै मुख्यगरी स्मार्टफोनको व्यापार अन्यन्त्रभन्दा नेपालमा तीव्ररुपमा बढ्दै गएको छ। हामीकहाँ दुईवटा कारणले मोबाइल बजार फस्टाउँदै गएको छ। पहिलो- टेलिकम सेवाको पहुँच एकदमै बढेको छ। नेपाल टेलिकम र एनसेल दुवै ठुला अपरेटरहरुले आक्रामक रुपमा बजार विस्तार गर्दै लगेका छन्। सिमकार्ड लिन सजिलो र सर्वसुलभ भएको छ। अपरेटरहरुले आफ्नो सेवाहरुको प्राइसिङ सर्वसुलभ बनाउँदै गएका छन्। यसले गर्दा पनि नेपालको मोबाइल इन्डस्ट्री बढेको देखिन्छ। 

दोस्रो कारण, हाम्रो अर्थतन्त्र रेमिट्यान्सबाट चलिरहेको छ। देशको सेमिअर्बन एवम् ग्रामीण क्षेत्रबाट ठूलो जनसंख्या विदेशमा छ। यसले गर्दा विदेशमा भएका परिवारका सदस्यसँग अडियो/भिडियोका विभिन्‍न प्लाटफर्मबाट सम्पर्क गर्न कनेक्टिभिटीका हिसाबले राम्रो डिभाइसको माग बढ्दो क्रममा छ। 

इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुको विस्तारले पनि फोनको बजार यस्तरी बढाउन अप्रत्यक्ष रुपमा मद्दत गरेको होला नि, होइन? 
पक्कै पनि। यसले एक हदसम्म खासगरी स्मार्टफोनको व्यापारमा सहयोग गरेको छ। तपाईं हामी पनि घरमै हुँदा डेटा अर्थात् मोबाइल अपरेटरहरुको इन्टरनेट प्रयोग गर्दैनौं, आईएसपीकै नेट चलाउँछौं। देशका ठाउँठाउँमा निजी आईएसपीहरुको सेवा पुग्दा इन्टरनेटको पहुँच सहज हुँदा स्मार्टफोनको मागमा यसले सघाएको छ।

अहिले मोबाइल बोक्नेको संख्या त बढेको छ नै, ठिकठाक दाममै थुप्रै फिचर भएका फोन पाइने हुँदा अधिकांशले स्मार्टफोन नै बोक्छन्। यसले मोबाइल फोनको बजारमा कस्तो परिवर्तन ल्याएको छ?
पहिले इन्ट्री लेभलका अर्थात् १० हजार रुपैयाँमुनिका फोनको माग अध्याधिक हुन्थ्यो। समग्र बजारको ४० प्रतिशतभन्दा बढी यही रेन्जका फोनको हिस्सा थियो। तर पछिल्लो चार वर्षमा यसमा ठूलो परिवर्तन आएको छ। फोन अपग्रेड गर्न खोज्नेको संख्या बढेको छ। जस्तो कि - जो बार फोन चलाउनुहुन्थ्यो उहाँहरु स्मार्टफोनमा सिफ्ट हुने क्रम बढ्यो। स्मार्टफोन आएपछि विदेशमा रहेका आफन्तसँग अनुहार हेरेर कुरा पाइने भयो। भ्वाइस कल गर्न पनि सजिलो भयो। स्मार्टफोन बोकिरहेकाको पनि राम्रो स्मार्टफोनमा अपग्रेड हुने चाहना एकदमै बढ्यो। 

द्रूत गतिमा भइरहेको प्रविधिको विकास पनि फोन अपग्रेड गर्न चाहनुको कारण हो। पहिले सीमित एपहरु थिए, एक जीबी र्‍याम र १६ जीबी रोम भएको बेसिक फोन भएपनि पुग्ने अवस्था थियो। तर, पछिल्लो समय यति धेरै नयाँ नयाँ एपहरु आइसकेको छ कि त्यस्तो बेसिक फोन अब आउटडेटेड भइसकेको छ।

अहिले कोभिडका कारण पढ्नदेखि अफिसियल कामका लागि समेत अनलाइन माध्यममा निर्भर हुनुपर्ने क्रम बढ्दा पनि अलिक स्तरीय स्मार्टफोनको माग बढेको छ।

यो बदलावले नेपालमा अहिले चाहिँ कुन रेन्जका फोनको माग सबैभन्दा धेरै छ?
अहिले भने २० देखि ३० हजार रुपैयाँसम्मका स्मार्टफोन अहिले सबैभन्दा धेरै बिक्री हुने र माग अत्याधिक बढी भएको सेग्मेन्ट हो। पछिल्लो समय यो रेन्जका फोनहरुमा आम उपभोक्ताले खोजेका सबै फिचरहरु र आवश्यक प्रविधि पाइन्छन्। हामी (सामसङ) ले यो सेग्मेन्टका ग्राहकलाई नै लक्षित गरेर 'एफ२२' मोडेलको फोन लन्च गरेका छौं। ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सेल क्यामेरा, ९० हर्ज रिफ्रेस रेट भएको यो फोनको माग अहिले यति धेरै छ कि हामीले पूरा नै गर्न सकेका छैनौं।

उसोभए अब १० हजारभन्दा सस्ता मोबाइल फोन बजारबाट फेज आउट हुँदै गएको हो?
नेपाली उपभोक्ताहरुको स्वभाव तीव्र रुपमा परिवर्तन भइरहेको छ। यो शहरी क्षेत्रमा मात्र नभएर राष्ट्रियस्तरमै देखिएको परिवर्तन हो। अहिले पनि इन्ट्री लेभलको फोनको माग आफ्नो ठाउँमा नभएको होइन। तर, बढी ग्रोथ २० हजार रुपैयाँमाथिको सेग्मेन्टमा आएको हो। सामसङको मात्रै नभएर समग्र मोबाइल बजारकै अवस्था यो हो।

आधिकारिक तथ्यांकअनुसार नै नेपाली मोबाइल बजारको आकार वार्षिक ४० अर्ब हाराहारी पुगिसकेको देखिन्छ। गत वर्ष मात्र ७५ लाख थान फोन भित्रिएको थियो। अवैध आएका फोनको हिसाब यसमा छैन। अर्थतन्त्रको आकार र नेपालीको औसत खर्च गर्ने क्षमतालाई हेर्दा 'स्मार्टफोन' मात्रै  अझै कति रकम र संख्यासम्म खपत गर्ने क्षमता राख्ला नेपालले?
उपभोक्ताको दृष्टिकोणबाट हेर्दा हाम्रो अर्थतन्त्र अझै पनि एकदमै योङ छ। हाम्रोमा योङ पपुलेशन ठूलो संख्यामा छन्। उनीहरुमध्ये धेरै हरेक वर्ष फोन बोक्न थाल्ने उमेरमा प्रवेश गर्ने हुँदा ती युवा स्मार्टफोन खरिदकर्ताका रुपमा आउने भएकाले स्वत: बजार बढ्छ। यो स्वचालित हुन्छ। जस्तै मेरो छोरी अहिले १३ वर्षको छ। १६/१७ वर्ष पुगेपछि आफ्नै नाममा सिम निकालेर फोन बोक्न थाल्छ। यो उदाहरण धेरै घरपरिवारसँग मिल्छ। यसकारण फोन वा स्मार्टफोनको बजार आकार कतिसम्म विस्तार होला भन्न सक्ने अवस्था छैन। 

यो किन पनि भने - स्मार्टफोनको हकमा स्याचुरेसनमा पुग्यो, अब त नयाँ ग्राहक छैन भन्ने हुँदैन हाम्रो हकमा। युरोपेली मुलुकहरुमा जनसंख्या वृद्धिदर एकदमै कम भएकाले स्मार्टफोनका नयाँ ग्राहक आउनै गाह्रो हुन्छ। त्यहाँ एक हदसम्म त्यसो भन्न सक्ने हुन सक्ला। तर हाम्रो लागि अर्को ठूलो अवसर भनेको अहिले पनि नेपालको ठूलो जनसंख्या बार फोनमै सीमित भएको अवस्था छ। बार फोनमा धेरै सीमितता हुने भएकाले हामीले जनचेतना जगाउनेदेखि सर्वसुलभ रुपमा स्मार्टफोन उपलब्ध गराउन सक्यौं भने उक्त जनसंख्या पनि स्मार्टफोनमा उक्लिन्छ। यसले पनि बजार बढ्नमा सघाउनेछ। 

स्मार्टफोन प्रयोगकर्ताहरुमा अझ राम्रो फोनमा अपग्रेड गर्ने क्रम एकदमै बढिरहेको छ। स्मार्टफोन संख्याको हिसाबले पनि बढ्दै गएको र औसत बिक्री मूल्य पनि बढ्दै गएको हाम्रो अनुभव छ। तर पछिल्ला दिनमा बजार आकारमा संख्याभन्दा पनि भ्यालुमा अझै तीव्र वृद्धि भइरहेको छ। 

एक वर्षमै एक करोड हाराहारी नयाँ फोन सेट भित्रिन थालेको अवस्थामा पुराना सेटको व्यवस्थापन कसरी गर्ने? कतै यसले नेपाललाई मोबाइल फोनको डम्पिङ साइट बनाउने अवस्था त आउँदैन?
जहाँसम्म पुरानो फोन के हुन्छ भन्ने कुरा छ त्यो उपभोक्तामा भर पर्छ। मैले पनि पुरानो फोन छोडेर नयाँ किने भने पुरानो सही रुपमा प्रयोग नहुन पनि सक्छ। किनभने प्रविधि तीब्र गतिमा विकास भइरहेको छ। नेपालमा साढे दुईदेखि तीन वर्ष सरदर डिभाइसको आयु छ। दुई तीन वर्षमा त्यो डिभाइस पूर्णरुपमा प्रचलनबाहिरको (अब्सोलुट) भइसक्छ। त्यो फोनको युटिलिटी कम हुँदै जान्छ।

फोन प्रयोग वा चाँडो-चाँडो फेर्ने यो प्रवृत्तिले त नेपाल मोबाइलको डम्पिङ साइट हुँदैछ भन्ने संकेत गरेन र? 
त्यसो भन्न मिलेन। किनभने प्रविधि भनेको त मान्छेलाई इनेबल गर्ने माध्यम हो। यद्यपि, सरकारी निकायबाटै यसको व्यवस्थापनबारे केही हुनुपर्छ। उत्पादक कम्पनीहरु पनि यसबारे सजग हुनुपर्ने त छँदैछ। जस्तो कि - अहिले सामसङले पनि यही कुरालाई मध्यनजर गर्दै नयाँ फोनहरुको प्याकेजिङको आकार नै घटाउँदै गएको छ। दुई वर्षमा फोन फेरे पनि चार्जर फेरिरहनु नपर्ने भएकाले हरेकपटक फोन किन्दा चार्जर नदिने सोच सामसङले बनाएको छ। इलेक्ट्रोनिक वेस्ट (विद्युतीय फोहोर) सकेसम्म कम उत्पादन गर्ने प्रयासमा सामसङ छ।

नेपालमा कुनै समय सामसङ वान एण्ड अन्ली मोबाइल फोन ब्राण्ड जस्तै थियो। तर पछिल्लो समय चिनियाँ ब्राण्डहरुको प्रवेशसँगै प्रतिष्पर्धामा सामसङ पछि पर्दै गएजस्तो देखिन्छ। के सामसङले आफ्नो मोबाइल बजार गुमाउँदै गएको हो?
पहिलेको तुलनामा नयाँ ब्राण्डहरु आए। तर, हामीले ब्राण्ड आएको देखिरहेका हुन्छौं, कतिवटा ब्राण्ड हराइसके भन्ने चाहिँ विचार गर्दैनौं। सायद जतिवटा ब्राण्ड आए त्योभन्दा बढी त हराइसके। यो नियमित प्रक्रिया जस्तो भइसकेको छ। एउटा ब्राण्ड आउने, तामझाम गर्ने र एक दुई वर्षपछि हराउने। यो प्रक्रिया सधैं चलिरहेको छ। 

खुला बजारमा प्रतिष्पर्धा नभएको सायदै कुनै क्षेत्र होला। प्रतिष्पर्धा सबैतिर छ। तर, यति धेरै नयाँ ब्रान्डहरु आउँदा पनि सामसङ विश्वव्यापी रुपमै अहिले पनि शीर्ष पाँच इन्नोभेटिभ कम्पनीहरुमा पर्छ। किनकि सामसङले आफैंसँग प्रतिस्पर्धा गरिरहेको छ। सामसङ आजको प्रविधिभन्दा भोलिकोलाई कसरी राम्रो बनाउने भन्नेमा निरन्तर लागिरहेको छ। इनोभेसन भनेको एकै रातमा हुने कुरा होइन। धेरै वर्षको प्रयास चाहिन्छ। 

उदारहणका लागि सन् २०१९ मा ल्याएको पहिलो स्क्रिन फोल्डेबल प्रविधिको मोबाइल सामसङले सन् २०११ मै सार्वजनिक गरेको हो। तर त्यसलाई व्यापारिक रुपमा सम्भाव्य र अझ बढी परिष्कृत गर्दै लैजानका लागि सामसङले आठ वर्ष त्यसमा खर्चियो। त्यो सामसङको आफैंसँगको प्रतिस्पर्धा थियो। स्क्रिन फोल्डेबल प्रविधिमा भोलि अरु थुप्रै ब्रान्डले मोबाइल ल्याउन सक्लान्, तर सामसङ यसको पायोनियर हो। सुपर एमोलेड डिस्प्ले सामसङको अर्को अभूतपूर्व इन्नोभेसन हो, जुन अरु कम्पनीले पनि सामसङसँग किन्छन्। सामसङका उपभोक्ताले यसमा फरक अनुभव पाउँछन्। यसकारण नेपालमा पनि समग्र मोबाइल इन्डस्ट्रीको ग्रोथको तुलनामा सामसङको ग्रोथको दर बढी छ। व्यापारका हिसाबले पनि सामसङको पोजिसन अझै पनि 'नम्बर वान' नै रहेको छ।

'ग्रे मार्केट' अर्थात् अवैध रुपमा बजारमा भित्रिएका फोन तपाईंहरुजस्ता अर्गनाइज रुपमा व्यापार गर्ने ब्रान्डका लागि कतिको चुनौतीपूर्ण भएको छ?
नेपाल-भारत सीमापारका सहर बजारमा अहिले नाका कट्नेबित्तिकै भेटिने सुरुका केही पसलमा मोबाइलको हुन्छ हुन्छ। किनमेलका लागि नेपाली जान सजिलो हुने भएकाले नेपाली ग्राहकहरुलाई लक्षित गरेर पनि त्यस्ता पसल खोलिएका छन्। विविध कारणले नेपाली उपभोक्ताले त्यस्ता भारतीय बजारबाट फोन किनिरहेका छन्। कतिपय ब्रान्डका मोबाइल पारिबाट किनेर ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेको पनि होला। 

तर सामसङले त्यसरी हुने खरिदलाई निरुत्साहित गर्न आफ्ना फोनको मूल्य नेपालमा भारत वा अन्य अन्तरराष्ट्रिय बजारमा जत्तिकै निर्धारण गरेको छ, देशअनुसारको कर नीति तथा मार्जिनले नेपाल र अन्यत्र थोरै सस्तो वा महँगो भए अलग कुरा। मूल्यको ग्याप लगभग नभएकाले गर्दा सामसङको हकमा भारतबाट हुने अवैध मोबाइल आयात नगन्य छ। कतिपय मोडेलका फोन सेट त अझ भारतभन्दा नेपालमा नै सस्तो पनि छ, जस्तो कि भर्खरै लन्च गरेको ग्यालेक्सी जी फोल्ड र जी फ्लिपको मूल्य भारतमा भन्दा नेपालमा सस्तो छ। यी फोनको मूल्य अमेरिकामा भन्दा पनि हाम्रोमा अलिकति सस्तो पर्ने रहेछ।

जबसम्म मूल्यको ग्याप रहन्छ, जति कोसिस गरेपनि ग्रे मार्केट नियन्त्रण हुँदैन भन्ने निष्कर्ष हाम्रो थियो। हामी यो मामिलामा निकै सफल पनि भएका छौं। यो भएपछि उपभोक्ताले बाहिरबाट फोन नेपाल ल्याउनु पर्ने आवश्यकता नै रहेन। अरु ब्रान्डबारे हामीलाई त्यति थाहा हुँदैन र बोल्न पनि मिल्दैन। 

पछिल्लो समय सरकारले अवैध आयात नियन्त्रण गर्न लागू गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को चर्चाले पनि उपभोक्ताहरुमा चेतना वृद्धि गरेको छ। अवैध रुपमा खरिद गरिएका फोनको असरबारे धेरै उपभोक्ताहरुले बुझिसक्नु भएको छ। 

दूरसंचार प्राधिकरणले एमडीएमएस तपाईंहरु जस्ता ठूला प्लेयरहरुको रुचिमा लागु गर्न खोज्यो भन्ने बुझाइ पनि कतिपयको छ नि? 
एमडीएमएसले पक्कै पनि वैधानिक रुपमा मोबाइल आयात तथा बिक्री गर्नेहरुलाई फाइदा हुन्छ। किनकि अवैधानिक रुपमा एउटा सेट आउन रोकिनु भनेको यहाँ कुनै न कुनै ब्रान्डको त्यै संख्याको मोबाइल बिक्री हुनु हो। तर यसको लाभ हामीजस्ता मोबाइल बिक्रेता कम्पनीलाई मात्र छ भन्ने होइन। अवैधानिक रुपमा भित्रिने फोन रोकिँदा वैधानिक माध्यमबाट आउने संख्या बढ्ने हुँदा त्यसले सरकारको राजस्व पनि बढाउनेछ। त्योभन्दा अझ महत्त्वपूर्ण, यसले सबैभन्दा ठूलो लाभ त उपभोक्तालाई नै पुग्छ। 

अहिले धेरैजनालाई थाहै छैन कि बाहिरबाट ल्याएको फोनका लागि नेपालमा कुनै पनि प्रकारको वारेन्टी लागू हुँदैन। वारेन्टी नहुँदा फोनमा कुनै समस्या आयो भने त्यसको जोखिम उपभोक्ताले नै उठाउनुपर्छ। वारेन्टी लागू नहुनुको कारण, हरेक क्षेत्रको आफ्नै प्राविधिक आवश्यकता हुन्छ, उत्पादक कम्पनीले त्यही अनुसारको इन्जिनिरयिङमा सेट उत्पादन गरेको हुन्छ ।

उदाहरणका लागि युरोप र नेपालको विद्युतको भोल्टेज नै फरक छ। यसैले सामसङले युरोप र नेपालका लागि बनाउने फोनको स्पेयर पार्ट्स पनि केही फरक हुन्छ। यसकारण हामीले नेपालमा बेच्नका लागि ल्याएको फोनको मात्र स्पेयर पार्ट्स् हामीसँग हुन्छ, उही सेरिज वा मोडेलको फोन भए पनि अमेरिकाबाट ल्याएको फोन मर्मत गर्नुपर्यो भने नेपालमा त्यसको पार्टस् नपाउन वा नबन्न सक्छ। ग्रे माध्यमबाट आएका फोनहरुको आफ्टर सेल्स सर्भिसमा हुने यस्ता समस्याबारे पनि उपभोक्ता सचेत हुनुपर्छ। अन्यथा त्यसबाट पुग्ने क्षतिको मूल्य फोन खरिदकर्ता वा प्रयोगकर्ताले नै व्यहोर्नुपर्ने हुनसक्छ।

यसैले एमडीएमएसले मोबाइल बजारका सबै सरोकारवालाहरुलाई फाइदा पुर्‍याउने देखिन्छ।

नेपालमा अहिले मोबाइलको 'ग्रे मार्केट' कुन आकारमा रहेको तपाईंहरुको अनुमान?
हाम्रो मात्रै ब्राण्ड त्यसरी आउने भएको भए भन्न सकिन्थ्यो होला। तर अरु थुप्रै ब्राण्ड नेपाली बजारमा भएकाले अनुमान गर्न गाह्रो छ। किनभने यसरी अनुमान लगाउने कुनै आधार नै छैन। तर, ग्रे मार्केटबाट आएका फोनको हिस्सा हाम्रो बजारमा राम्रै संख्यामा छ। संगठित बजार भएका विकसित मुलुकमा जस्तो कुनै भरपर्दो अध्ययन वा सर्वे गर्ने संस्था, निकाय वा संयन्त्र हामीकहाँ नभएकाले ठ्याक्कै अंकमा भन्न सक्ने अवस्था भने छैन।
सामसङले भर्खरै लन्च गरेको जी फोल्ड सिरिजका स्मार्टफोन अहिलेसम्मकै उच्च प्रविधिको भएको दाबी तपाईंहरुको छ। के छ यसमा त्यस्तो खासियत?
अहिलेको सबैभन्दा ठूलो मोबाइल प्रविधि भनेको 'स्क्रिन फोल्ड' हो। हामीले केही वर्षअघिसम्म पनि मोबाइलको स्क्रिन फोल्ड हुन्छ भन्ने कल्पना गरेका थिएनौं। फोनलाई जतिपटक फोल्ड-अनफोल्ड गर्दा पनि स्क्रिन केही नहुने प्रविधि सामङसको यस सेरिजका फोनमा आयो, जसले गर्दा ठूलो ग्याजेटलाई पनि सानो बनाएर खल्तीमा हाल्न सकियो। यो प्रविधिमा सामसङ ग्लोबल लिडर हो।

डिस्प्ले फोल्डिङ मात्रै नभएरु ब्याट्री व्यवस्थापन, मेकानिकल, इन्जिनियरिङ इत्यादिमा पनि जी फोल्ड र फ्लिप सिरिज उत्कृष्ट स्मार्टफोन हो। दुवै मोडेलका स्मार्टफोनको फोल्डेबल स्क्रिनमा गोरिल्ला ग्लास भिक्टस प्रयोग भएको छ। यो अहिलेसम्मकै बलियो ग्लास हो। यी प्रिमियम फोनमा स्न्यापड्रागनको ८८८ लेटेस्ट प्रोसेसर प्रयोग भएको छ। 

सामसङले सन् २०२१ मा ग्यालेक्सी जी फोल्ड ३ र जी फ्लिप ३, २०२० मा जी फोल्ड २ र २०१९ मा जी फोल्ड ल्याएको हो। २०२१ मा आएको यस सिरिजको तेस्रो स्मार्टफोन आइपीएक्स् ८ रेटिङ भएको पहिलो मोबाइल हो जसले सामान्य पानीमा आधा घण्टासम्म पाँच फीटको गहिराइमा फोनलाई डुबाएर राख्दा पनि पानी पस्दैन भन्ने बुझाउँछ।

यो स्मार्टफोन अन्डर डिस्प्ले क्यामेरा भएको पहिलो फोल्ड फोन पनि हो। क्यामेरा चलाउँदा, फेस अनलक प्रयोग गर्दा क्यामेराको पन्च होल देखिने भएपनि अरु एपहरु चलाउँदा त्यो हराउँछ। फोन स्मार्टफोनमा अर्को नयाँ भनेको एसपेन कम्प्याटिबल बनाइएको छ। फोल्डका पुराना मोडलमा यो सुविधा थिएन। १२० हर्ज रिफ्रेस रेट यो फोनमा छ। अघिल्लो मोडलमा फोल्ड नहुँदा मात्रै १२० हर्ज रिफ्रेस रेट रहेको थियो भने अहिले फोल्ड-अनफोल्ड गर्दा पनि सोही रिफ्रेस रेट हुनेछ।

ग्यालेक्सी जी फोल्ड-३ को स्क्रिन अनफोल्ड गर्दा ७.६ इन्चको आकारमा छ, जसले ट्याबलेट चलाएकै सरह अनुभव दिनेछ। यसमा वायरलेस डेस्कटप फिचर भएकाले विन्डोज अपरेटिङ सिस्टम भएका ल्यापटप वा डेक्स्टपमा जहाँ गए पनि सहजै मोबाइलमा भएका सबै डेटा तथा फाइल सिंक गरेर चलाउन मिल्छ। त्यसैगरी, एकैपटक तीनवटा एप समानान्तर रुपमा प्रयोग गर्ने (मल्टिटास्किङ) अनुभव ग्यालेक्सी जी फोल्ड ३ मा लिन सकिन्छ। आफ्नो प्रडक्टिभिटी बढाउन चाहने वर्किङ प्रोफेशनलहरुका लागि ग्यालेक्सी जी फोल्ड-३ उत्कृष्ट स्मार्टफोन हो।

यसैगरी, ग्यालेक्सी जी फ्लिप-३ एकदमै स्टाइलिस स्मार्टफोन हो। स्मार्टफोनमा आएका नयाँ प्रविधिका सबै सुविधा प्रयोग गर्न चाहने तर ठूलो नभएर खल्तीमा मजाले अट्ने डिभाइस रोज्नेका लागि यो बेस्ट स्मार्टफोन हो। यसमा रहेको फ्लेक्स मोडका कारण कुनै सपोर्ट वा स्ट्यान्डबिनै स्मार्टफोनबाटै भिडियो खिच्न सकिन्छ। यो पनि आइपीएक्स् ८ रेटिङ भएको फोन हो भने यसको पनि रिफ्रेस रेट १२० हर्ज छ।