BIZMANDU
www.bizmandu.com

बजेटमा एसेम्ब्ली प्लान्ट लगाउँदा ५०% छुटको प्रभावः के एसेम्ब्ली उद्योगको लहर आउला?


बजेटमा एसेम्ब्ली प्लान्ट लगाउँदा ५०% छुटको प्रभावः के एसेम्ब्ली उद्योगको लहर आउला?
बजेटमा एसेम्ब्ली प्लान्ट लगाउँदा ५०% छुटको प्रभावः के एसेम्ब्ली उद्योगको लहर आउला?


काठमाडौं। बाइकको एसेम्बली प्लान्ट राखेमा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसँगै नेपालमा आयात गरी बिक्री गर्दै आएका बिभिन्न मोटरबाइक बितरक कम्पनीहरुले एसेम्ब्ली प्लान्ट स्थापनाको तयारी थालेका छन्।  हिरो, होण्डा र यामाहा यस दौडमा अघि देखिएको छ।  

Tata
GBIME
Nepal Life

१२५ सीसी भन्दामाथिका बाइकको अन्तःशुल्क बढाउँदै ५० प्रतिशत छुट दिने निर्णयले आयातित  बाइक महँगो हुने भएपछि यहीँ नै एसेम्बली प्लान्ट राखी उत्पादन गर्ने उनीहरुले तयारी गरेका हुन्।  

हाल देशभित्र बजाज र टिभीएसको एसेम्बली प्लान्ट यस अघि नै स्थापित छन्। बजाजको आधिकारिक बिक्रेता एचएस बजाजले भैरहवा र टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सिमरामा एसेम्ब्ली प्लान्टबाट बाइक उत्पादन गर्दै आएका छन्।

व्यवसायीका अनुसार सरकारको नयाँ व्यवस्थाले इन्ट्रीदेखि माथिल्लो लेभलको बाइकमा २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म मूल्य बढ्नेछ। त्यसैकारण एसेम्ब्ली प्लान्ट स्थापना गरी यहीँ नै बाइक उत्पादन गर्ने योजना बनेको हो। 

यामाहा नेपालको आधिकारिक बिक्रेता मोरङ अटोवर्क्स (एमएडब्लु) ले छिट्टै एसेम्बली प्लान्ट लगाउने बताएको छ। एसेम्बली प्लान्टका लागि कम्पनीले भैरहवामा जग्गा समेत किनिसकेको छ भने जापानी प्राविधिकहरुले समेत हेरिसकेको  एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। 

'हामीले पहिलादेखिनै एसेम्बली प्लान्टका लागि अध्ययन गरिरहेका थियौं। सरकारले प्रतिस्थापन बजेटमार्फत अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने निर्णयले यसलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक भएको छ।'- उनले भने। तर अग्रवालले १ सय २० सीसीदेखि माथिका बाइकको अन्तःशुल्क १० प्रतिशत बढाउनु न्यायोचित नभएको धारणा राखे।

 'बाइक लक्जरी थिएन। यो सर्वसाधरणको मोबिलिटीको माध्यममाथि कर बढाउँदा दैनिक जीविकोपार्जन गर्ने जनतानै मारमा पर्छन्।'-उनले भने। 

होण्डा वाइकको नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले समेत एसेम्बली प्लान्टको तयारी थालेको छ। स्याकारका प्रवन्ध निर्देशक सौरभ ज्योतिले  एसेम्बली प्लान्टका लागि सरकारले अन्तःशुल्कमा दिएको पचास प्रतिशत छुट सकारात्मक रहेको बताए। उनले पनि  बाइकको वर्गीकरण गरेर अन्तःशुल्क बढाउनु न्यायसंगत नभएको धारणा राखे।  

'नाडा अटोमोबाइल एशोसिएसनले केही वर्ष अघि एसेम्ब्ली प्लान्टका लागि ५० प्रतिशत छुट दिन माग गरेका थियौं। त्यो बेलामा २५ प्रतिशत मात्रै दिइयो। यसले एसेम्ब्ली प्लान्ट स्थापनाका लागि राम्रो स्पेस दिएको छ।' उनले बिजमाण्डूसँग भने, 'तर अध्यादेशमार्फत  कुनै समय नै नदिएर एसेम्ब्ली प्लान्टलाई  धेरै सुविधा दिँदा आयात गरेर बिक्री गर्ने बाइक संकटमा पर्न सक्छन्।' उनले नाडासँग छलफल नै नगरी यति ठूलो परिवर्तन गरिएको गुनासो गरे। 

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एनजीएम प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक योजना अनुसार एसेम्ब्ली प्लान्ट लगाउने भएको छ।

सिवियु (कम्प्लिट विल्ड युनिट) को तुलनामा एसेम्बलमार्फत सिकेडी (कम्प्लिट नक डाउन) गर्दा नेपालमा बिक्री हुँदै आएको इन्ट्री देखि माथिल्लो लेवलसम्मका बाइकको आधिकारिक बजार मूल्यमा २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म फरक आउने एनजीएमका निर्देशक अभिक ज्योतीले बताए।

'हामीलाई प्लान्ट सेटअप गर्न त्यति समय लाग्दैन। हामीले पहिलैदेखि अध्ययन गर्दै आएका थियो। पहिला सम्भावना थिएन। अन्तःशुल्कमा २५ देखि ५० प्रतिशत छुट दिने निर्णय गरेसँगै एसेम्ब्ली प्लान्टको सम्भावना देखिएको छ,'  ज्योतीले भने।

सिकेडी प्लान्ट राखिएसँगै रोजगारी सिर्जना र बिजुली खपतमा वृद्धि हुने उनले जानकारी दिए। यसरी एसेम्ब्लिङ सुरु गरेसँगै नेपालमै उत्पादन हुँदै आएको टायर, ब्याट्री प्रयोग गर्न सकिएको अवस्थामा मूल्य अभिवृद्धि हुने उनले जानकारी दिए।

'सिकेडीमा पार्टपुर्जा ल्याएको अवस्थामा हामीले सीमित संख्यामा एसेम्बल गर्न सक्छौँ होला। तर १० हजार मोटरसाइकल एसेम्बल गर्न गाह्रो छ। डिस्ट्रीब्युटरको हिसाबमा सिबीयु र सिकेडी दुईवटै ल्याउँदा आयात गरिएकै भाउ निर्धारण हुन्छ,' उनले भने,'यसलाई सन्तुलित रुपमा लैजान   आवश्यक देखिन्छ।' 

ज्योतीले सरकार परिवर्तनसँगै नीतिमा परिवर्तन हुने भएकाले एसेम्ब्ली प्लान्ट लगाउन कठिन हुने गरेको बताए। कम्पनीले परवानीपुरमा एसेम्बली प्लान्ट लगाउने उनले जानकारी दिए।