BIZMANDU
www.bizmandu.com

खरिद बिक्री खाता भदौ ३१ गतेसम्म पेश गर्दा हुने, भ्याट विवरण २५ गतेभित्रै बुझाउनु पर्ने

२०७८ भदौ २५

Vigo
GBIME
Tata

काठमाडौं। खरिद बिक्री खाता भदौ ३१ गतेसम्म बुझाउँदा हुने भएको छ। आन्तरिक राजस्व विभागले सर्भरमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै खाता अपलोड गर्ने समय थप गरेको हो।

विभागले यसअघि २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थालाई परिमार्जन गरी ३१ गते बनाइएको विभागका निर्देशक अर्जुन ढकालले जानकारी दिए। निर्देशक ढकालका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) विवरण भने २५ गतेभित्रै पेश गर्नु पर्नेछ।

हाल देशभर ५ करोडभन्दा बढी कारोबार गर्ने व्यावसायीले खरिद बिक्री खाता कम्प्युटर प्रणाली एक्सलमा पेश गर्नुपर्नेछ। यसको लागि विभागले १४ हजार ८० वटा करदाताको पहिचान गरेको छ।

भ्याट विवरण भने २५ गतिभित्रै तिर्नुपर्नेमा दुविधामा नपर्न विभागले करदातालाई भनेको छ। विभागले भ्याट विवरण र खरिद बिक्री खाता एकै पटक अपलोड गराउँदा सर्भरमा समस्या देखिन सक्ने भन्दै परिमार्जन गरेको हो। 

विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न सकेका छैनन।