BIZMANDU
www.bizmandu.com

हाडजोर्नी डाक्टरले सुरु गरे बुटिक रिसोर्ट ‘ठिमुरा’, जसको नाफा संचालकको खल्तीमा होइन परोपकारमा


हाडजोर्नी डाक्टरले सुरु गरे बुटिक रिसोर्ट ‘ठिमुरा’, जसको नाफा संचालकको खल्तीमा होइन परोपकारमा
हाडजोर्नी डाक्टरले सुरु गरे बुटिक रिसोर्ट ‘ठिमुरा’, जसको नाफा संचालकको खल्तीमा होइन परोपकारमा


काठमाडौं। चितवनको भरतपुरमा २४ भदौबाट संचालनमा आएको हाइ एन्ड रिसोर्ट 'ठिमुरा' यस्ता व्यक्तिले खोले जो कुनै पर्यटन व्यवसायी नभएर हाडजोर्नीका डाक्टरका हुन्।

Tata
GBIME
Nepal Life

भरतपुरमै रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका समेत संचालक रहेका युवा चिकित्सक डा. प्रमोद लामिछानेले यो रिसोर्ट संचालनमा ल्याएका हुन्। रिसोर्टबाट आएको नाफा पनि उनले आफ्नो खातामा राख्ने होइन, परोपकारी काममा खर्च गर्ने सोचले सुरु गरेको लामिछाने बताउँछन्।

लामिछाने दम्पत्ती नै डाक्टर। दुवैले पाँच वर्षअघि चितवनमा एउटा च्यारिटी अस्पताल संचालनमा ल्याउने निर्णय गरे। त्यसका लागि जग्गा खोज्दै जाँदा भरतपुरको ठिमुरामा फेला पर्यो खोजेजस्तो जमीन। अस्पतालका लागि उनीहरुले ठिमुरामा पाँच बिघा जग्गा खरिद गरे।

अस्पतालको योजना अघि बढ्दै थियो। तर त्यहीबीच लामिछानेकी डेन्टल सर्जन श्रीमती डा. विष्णुमाया खरेल लामिछानेलाई क्यान्सरले च्याप्यो। दम्पत्तीले एकसाथ देखेको हाडजोर्नी विशेष च्यारिटी अस्पताल स्थापनाको सपना रोकियो। 

जग्गा किनेको ठिमुरामा अस्पतालभन्दा पर्यटकीय सेवाको सम्भावना धेरै रहेको पनि लामिछानेलाई श्रीमतीले सुझाएकी थिइन्। त्यसमा लामिछाने पनि सहमत भए। त्यसैले श्रीमतीको सुझाव अनुसार उच्चस्तरीय पर्यटकीय सेवा दिने सोचले 'ठिमुरा रिसोर्स'को परिकल्पना भयो। 

'श्रीमतीकै सुझावमा अपाङ्ग बालबालिकाका लागि पाँच वर्षअगाडि हामीले च्यारिटेबल हस्पिटल बनाउने योजना बनाएका थियौं। तैपनि उनले यो क्षेत्र हस्पिटलभन्दा रिसोर्टका लागि उपयुक्त हुने सुझाएपछि रिसोर्टको परिकल्पना भयो,' उनले भने।

चार वर्षअघिबाटै रिसोर्ट निर्माणको काम सुरु गरेका हुन् लामिछानेले। तर क्यान्सरलाई जित्न नसक्दा श्रीमती डेढ वर्षअगाडि बितिन्। विष्णुमायालाई क्यान्सरले लगेपछि रिसोर्ट निर्माणको काम पनि केही समय रोकियो।

जसको अवधारणा र परिकल्पनामा लामिछानेले रिसोर्ट अघि बढाए उही नरहेपछि रिसोर्टबाट आएको नाफा जति सामाजिक उत्तरदायित्व अन्तर्गत हाडजोर्नीका बिरामीका लागि खर्चिने योजना बनाएको डा. लामिछाने बताउँछन्। 

नाफा रकम परोपकारमा कहाँ के कसरी खर्च गर्ने भन्ने मोडालिटी तत्काल तयार नभएपनि रिसोर्टबाट आएको अधिकांश नाफा च्यारिटीमै प्रयोग गर्ने योजना रहेको उनी बताउँछन्। निकट भविष्यमै श्रीमतीको नाममा एउटा परोपकार कोष स्थापना गरेर रिसोर्टको नाफाको केही हिस्सा त्यसमार्फत पनि अति विपन्न वर्गको हाडजोर्नी सम्बन्‍धी रोगको निःशुल्क उपचारमा परिचालन गर्ने योजना रहेको उनले सुनाए।

यस्तो छ बुटिक अवधारणामा बनेको रिसोर्ट
कुल ७५ वटा कोठा सचालनको अनुमति पाएको रिसोर्टले तत्काल पहिलो चरणमा २६ वटा कोठा संचालनमा ल्याएको छ। आउँदो डेढ वर्षभित्रै दोस्रो चरणअन्तर्गत थप ४९ वटा कोठा थप गर्ने योजना  रहेको लामिछाने बताए। त्यसका लागि एउटा छुट्टै भवन निर्माण हुनेछ।

करिब पाँच बिघा क्षेत्रफलमा रहेको रिसोर्टमा साढे दुई बिघा क्षेत्रफल फार्म हाउस, अर्ग्यानिक कृषि लगायतका लागि छुट्टाइएको छ। बाँकी आधा क्षेत्रफल रिसोर्टको संरचनाका लागि छुट्टयाइएको लामिछानेले जानकारी दिए।

अहिले रिसोर्टमा ढुंगा र काठबाट निर्मित ३० वटा भिल्ला बनाइएका छन्। यसका लागि २० करोड रुपैयाँभन्दा धेरै लगानी भएको लामिछानेको भनाइ छ। ३० वटै भिल्ला नेपाली परम्परागत शैलीमा ढुंगा प्रयोग गरेर बनाइएको छ। रिसोर्टका कोठा र ओपन एरियामा विश्वभर देखिएका सजावटका सामग्री, मुर्ती लगायत राखिएका छन्। यो रिसोर्ट बुटिक अवधारणामा तयारी गरिएको लामिछानेले बताए।

२४ भदौबाट सफ्ट ओपनिङ सुरु भएको रिसोर्ट आउँदो १० दिनभित्रै फुल फ्लेजमा संचालनमा आउने बताइएको छ। अहिले रिसोर्टको बार, स्विमिङपुल, ओपन एरिया संचालनमा ल्याइएको छ। 

रिसोर्टमा एक हजार जना क्षमताको कन्फ्रेन्स हल, डेढ सय जना अटाउने दुईवटा सेमिनार हल, दुईवटा बार, एउटा प्रेसिडेन्ट भिल्ला, चारवटा स्विमिङ पुल, स्पा, डेढ सय क्षमताको रेष्टुरेण्ट लगायतका सुविधाहरु रहेका छन्। 

पहिला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको टाइगर टप्सकै शैलीमा रिसोर्ट निर्माण गरिएको यो रिसोर्ट खोला तीरमा रहेको छ। दुईतिर जंगलले घेरेको छ। कहीँ गाउँसँग जोडिएको छैन।

रिसोर्टमा अहिले रहेका कुल ३५ जना जनशक्तिमध्ये १० जना टाइगर टप्समा १५ वर्ष काम गरेको अनुभव रहेका भएको लामिछानेको भनाइ छ। 'टाइगर टप्समा काम गरेका जनशक्तिलाई रिसोर्ट व्यवस्थापनको जिम्मेवारी दिइएको छ,' उनले भने।