BIZMANDU
www.bizmandu.com

सुरु भयो ठमेलको नाइट लाइफ, गुन्जिन थाले क्लब संगीत, आन्तरिक बजारले धान्छ व्यापार ?



काठमाडौं। करिब दुई वर्षपछि ठमेलको ‘नाइट लाइफ’ पुनः सुरु भएको छ। क्लब र पबहरुमा फेरि संगीतका धुन गुन्जिन थालेको छ। ग्राहक फेरि देखिन थालेका छन्।

Tata
GBIME
Nepal Life

कोरोना संक्रमणको दर घटेसँगै गत बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ‘स्मार्ट लकडाउन’को कार्यविधि अनुसार सेवा सञ्चालन गर्न इजाजत दिएको थियो। योसँगै शुक्रबारको रातबाट पार्टी प्यालेस, नाइट क्लब, लाउन्ज र रेष्टुरेन्ट लगायतका व्यवसाय पुनः सञ्चालनमा आएका हुन्।

धैरैपछि शुक्रबारको रात ठमेलका नाइट क्लबहरुमा भीडभाड देखिएको छ। पब र क्लबहरुमा युवाहरुको उपस्थिति देखियो। 

निषेधाज्ञा खुकुलो भएको बेला सीमित सहभागितामा पार्टी प्यालेस सञ्चालनमै थिए। रेस्टुरेन्टहरुले सीमित ग्राहकलाई सेवा र टेक अवे चलाएका थिए। ठप्प रहेका नाइट क्लब, लाउञ्ज र पबहरुलाई भने निकै गाह्रो परिसकेको थियो। लामो समयपछि व्यवसाय पुनः सञ्चालनमा ल्याउन पाउँदा व्यवसायीले राहतको सास फेरेका छन् भने कर्मचारीहरु हर्षित देखिएका छन्। 

टेक अवे र होम डेलिभरी गरिरहेका रेस्टुरेन्टका व्यवसायीहरुले अपेक्षित व्यापार नभएको गुनासो गरिरहँदा लाखौंको लगानी भएका नाइट क्लबका सञ्चालकहरु भने आत्तिइसकेका थिए। निषेधाज्ञा खुकुलो पारिँदा बिगतमा उनीहरुले सीमित ग्राहक उपस्थितिमा व्यवसाय सञ्चालनको अनुमति मागे पनि स्थानीय प्रशासनले दिएको थिएन। 

कर्मचारी पलायन भइरहेका थिए भने भाडा र बैंकको साँवा-ब्याजको किस्ता बुझाउन नसकेर व्यवसायी विकल्पमाथि विचार गरिरहेका थिए। बितेका चार महिना बीचमा ठमेलका आधा दर्जन रेस्टुरेन्ट किनबेच र स्मामित्व परिवर्तन भएका छन् भने केही व्यवसायी पलायन भएका छन्। केही होटलका पनि सञ्चालक फेरिएका छन्। 

व्यवसाय सुरु गर्न स्थानीय प्रशासनले अनुमति दिएसँगै ठमेलका व्यवसायी स्वास्थ्य सुरक्षा मापदण्डसहित तयारीमा रहेको ठमेल पर्यटन विकास बोर्डका महासचिव एवं भीआइपी लाउन्जका सञ्चालक ध्रुव अधिकारीले बताए।

‘२३ महिनापछि सिडिओ कार्यालयले हामीलाई व्यवसाय सुरु गर्न इजाजत दिएको छ। तर यतिखेर विदेशी पर्यटक छैनन् र नेपालको अर्थतन्त्र नै डामाडोल स्थितिमा छ,’ उनले भने, ‘कम्तिमा खोल्न पाए पनि व्यवसायले बिस्तारै गति लिन्छ भन्ने आशमा छौं।’ 

उनका अनुसार सामान्य अवस्थामा ठमेलमा सञ्चालित नाइट क्लब, रेष्टुरेन्ट, लाउन्जलगायत व्यवसाय ९० प्रतिशत आन्तरिक पर्यटकले नै धानिदै आएका थिए। विदेशी पर्यटकको आवागमनले व्यापार अझ बढाएको थियो। सामान्यतया एक पटकमा करिब चार सय ग्राहकलाई सेवा दिँदै आएको भीआइपी लाउन्जले अब एक पटकमा अधिकतम एक सय जनालाई सेवा दिने योजना रहेको उनले जानकारी दिए।

गत वैशाख अघिसम्म बन्द भएका १७ प्रतिशत रेष्टुरेन्ट, पसल लगायत आउटलेट पुनः सञ्चालनमा आइसकेको उनले जानकारी दिए। ‘वैशाख अगाडि हरेस खाएर व्यवसाय नै छोडेर गएकाहरु फर्किसक्नु भएको छ। अब ठमेलमा कुनै पनि सटर खाली छैन,’ उनले भने।
वैशाख अघिसम्म समग्र ठमेल क्षेत्रमा विभिन्न व्यवसायको गर्दा करिब ६० अर्ब रुपैयाँ नोक्सान भएको उनले बताए। 

ठमेलस्थित लर्ड अफ ड्रिक्स (एलओडी)ले शुक्रबार बेलुकीदेखि आफ्नो सेवा पुनः सुरु गरेको छ। कोभिड दोस्रो लहर सुरु भएसँगै पाँच महिनायता बन्द क्लबले सेवा सञ्चालनका सबै तयारी गरिसकेको सञ्चालक रविन श्रेष्ठले बताए। ‘व्यवसाय सञ्चालन गर्न पाउँदा आशा जागेको छ,’ उनले भने।

सामान्यतया एक पटकमा करिब एक हजार जना सहभागी हुन सक्ने नाइट क्लबले स्वास्थ्य सुरक्षाका साथ सेवा दिने उनले जानकारी दिए। ‘अब एकैपटक धेरै भीड गर्न नहुने भएको छ। सीमित सहभागिताबाटै क्लबले सेवा दिन सुरु गर्‍यो,’ उनले भने। क्लबमा कर्मचारी मात्रै एक सय ५० जना छन्।

रेष्टुरेन्ट व्यवसायलाई खुला गर्न दिइए पनि तत्काल विदेशी पर्यटकको आवागमन भइहाल्ने अवस्था नरहेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले बताए। ‘तत्काल आन्तरिक पर्यटकले धानिँदै आएका रेष्टुरेन्टलाई केही नहुनु भन्दा थोरै राहत छ। विदेशी पर्यटकलाई लक्ष्य गरेर खोलिएका रेष्टुरेन्टका लागि विशेष योजना ल्याउन आवश्यक देखिएको छ,’ उनले भने। ठूलो लागतका भएकोले सञ्चालन खर्च नै धान्ने अवस्था नभएको उनले बताए।

‘ठमेलमा विदेशी पर्यटक लक्षित रेष्टुरेन्ट नेपाली पर्यटक गएर मात्रै चल्ने अवस्था छैन।  पर्यटकको आवगमन नहोउन्जेल यी रेष्टुरेन्टको संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याउन आवश्यक छ। दरबार स्क्वायर, ठमेल लगायत क्षेत्रका रेष्टुरेन्टलाई टिकाउन गाह्रो छ,’ उनले भने।
व्यवसाय सञ्चालन गर्न नपाउँदा धेरैले सीमित जनशक्ति राखेर अधिकांश कर्मचारीलाई बिदा दिएका थिए। रेष्टुरेन्ट खुल्न पाउने भएपछि भने व्यवसायीले आफ्ना कर्मचारीलाई काममा फर्काउन थालिसकेका छन्।

रोड हाउस रेष्टुरेन्टले आफ्नो सेवा पुनः सुरु गर्नका लागि गृहकार्य सुरु गरिसकेको बजार प्रमुख अर्चना पुनले बताइन। काठमाडौंभर ६ वटा आउटलेट र एउटा होटल सञ्चालनमा ल्याएको रेष्टुरेन्टले आफ्नो सबै जनशक्तिलाई काममा फर्काउने तयारी रहेको उनले जानकारी दिइन्।
‘अहिले रेष्टुरेन्ट फुलफ्लेजमा चलेको छैन। अहिले करिब ९० प्रतिशत कर्मचारी परिचालन गरिएको छ। व्यवसायले गति लिएसँगै सबैलाई काममा फर्काउने तयारीमा छौं,’ उनले भनिन्।

स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै रेष्टुरेन्टले ग्राहकको विवरण राख्ने, सामाजिक दुरी कायम, सेनिटाइजेसन, टेम्प्रेचर चेक लगायतका मापदण्ड अवलम्बन गर्दै आएको उनले जानकारी दिइन्। रेष्टुरेन्ट सेवा खुला गराइएसँगै व्यवसायले गति लिनका साथै जनशक्तिको रोजगार पुनः सुरु हुने उनको भनाइ छ। 

उनका अनुसार रेष्टुरेन्टको समग्र आउटलेटमा पाँच सय जनाभन्दा बढी जनशक्ति कार्यरत छन्।

सीमित समयका कारण ७५ प्रतिशत जनशक्ति परिचानल गर्दै सेवा दिएको गैरीधारास्थित तामा रेष्टुरेन्टले अब शतप्रतिशत जनशक्ति परिचालन गर्ने भएको छ। फुलफ्लेजमा रेष्टुरेण्ट सञ्चालन गर्न दिइएसँगै कर्मचारीलाई काममा फर्काउनका साथै दसैंको समयमा तलब खुवाउन पनि सहज हुने सञ्चालक अन्जित मल्लले बताए।

‘लामो समयदेखि व्यवसाय अप्ठ्यारोमा थियो। गेस्ट आउने समयमै सेवा बन्द गर्नुपर्ने अवस्था। टेक अवे र डेलिभरीले मात्र संचालन गर्नै मुस्किल थियो। अब आशा जागेको छ। कर्मचारी साथीहरु खुसी हुनुभएको छ,’ उनले भने। उनका अनुसार रेष्टुरेन्टमा २५ जनाको हार्डकोर टिम छ भने करिब २० जना इन्टर्न छन्।

करिब एक वर्ष यता सामाजिक समारोहको पिक सिजनमै बन्द रहेको पार्टी प्यालेस व्यवसायमा पनि खुल्न पाउने निर्णयले सन्तोष देखिएको छ। गत मंसिरदेखि नै प्रभावित यो व्यवसायले तत्कालका लाग काठमाडौं, ललितपुर र भक्तपुरमा गति लिने आशा लिएको पार्टी प्यालेस व्यवसायी संघका अध्यक्ष लीलाबहादुर जिसीले बताए।

‘तीन जिल्लामा मात्र नभइ मुलुकभर पार्टी प्यालेस व्यवसाय पुनः सुरु गर्न आवश्यक छ,’ उनले भने, ‘पार्टी प्यालेस धेरै लगानी भएको व्यवसाय हो। हामीलाई धेरै घाटा लागिसकेको छ।’ व्यापार हुने मुख्य समयमै सेवा ठप्प राख्नुपर्दा धेरै व्यवसायीको आर्थिक अवस्था नाजुक भएको उनले बताए। ‘अब चाडवाड नजिकिएको छ। यसअघि रोकिएका विवाह समारोहको माग पुनः आउने आशामा छौं,’ उनले भने।