BIZMANDU
www.bizmandu.com

वीरगंज-पथलैया औद्योगिक कोरिडर: खाद्यान्न उद्योग मालामाल, सिमेन्ट,डन्डी र कपडाको बेहाल

२०७८ भदौ १३

वीरगंज-पथलैया औद्योगिक कोरिडर: खाद्यान्न उद्योग मालामाल, सिमेन्ट,डन्डी र कपडाको बेहाल
वीरगंज-पथलैया औद्योगिक कोरिडर: खाद्यान्न उद्योग मालामाल, सिमेन्ट,डन्डी र कपडाको बेहाल

वीरगंज। वीरगंज–पथलैया औद्योगिक कोरिडोरका खाद्यान्न लगायतका अत्यावश्यक वस्तु उत्पादन गर्ने वाहेक अरु उद्योग अझै पूरानो अवस्थामा फर्किन सकेका छैनन्। यो कोरिडरमा रहेका निर्माण सामाग्री उद्योगले ५० प्रतिशतको हाराहारीमा उत्पादन गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

वर्षातको समय भएका कारण पनि यी उद्योग पूर्ण रुपमा संचालनमा आउन नसकेका हुन्। तर खाद्यान्न लगायतका उद्योग भने पहिला भन्दा पनि बढी क्षमतामा चलेका छन्। भारततर्फ निकासी राम्रो भएकाले तेल उद्योग तीन सिफ्टमै चल्न थालेका छन्।

वीरगंज–पथलैया, वीरगंज–पोखरिया, वीरगंज–कलैया क्षेत्रका करिब ७ सय ठूला उद्योग र १५ सय साना तथा मझौंला गरी सम्पूर्ण उद्योगहरु सञ्चालनमा आएको हुन्। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार खाद्यान्न लगायतका उद्योग पूर्ण रुपमा संचालनमा आइरहेको र अरु उद्योग पनि विस्तारै तंग्रिन थालेको जानकारी दिए।

उनका अनुसार करिब अढाई महिनादेखि लकडाउन खुकुलो बन्न थालेपछि उद्योग धन्दा पुनः लयमा फर्किन थालेको हो।वीरगंज कोरिडोरमा कोरोनाकालमा पनि खासै प्रभावित नभएकोमा खाद्यान्न, औषधी उद्योग पर्छन्।

खाद्यान्नमा तेल, दाल, चामल, पिठो, बिस्कुट, ग्यास प्लान्ट, अक्सिजन प्लान्टलगायतको व्यापार राम्रो छ। वीरगंज नाकाबाट मात्रै चालू आवको साउन महिनामा करिब साढे ६ अर्बको प्रशोधित तेल निकासी भएको छ। यो अघिल्लो आव २०७७/७८ भन्दा २८७ प्रतिशतले वृद्धि भएको छ।

साउनमा ५ अर्ब ७८ करोड २५ लाख ११ हजार मूल्य बराबरको २ करोड ५२ लाख ९ हजार ६ सय ४४ किलो सोयाबिन तेल भारतको बिहार, उत्तर प्रदेश, मध्यप्रदेश, दिल्ली लगायतको ठाउँमा निकासी भएको छ जबकी अघिल्लो आबको सोही महिनामा १ अर्ब ४९ करोड ३९ लाख ९२ हजार मूल्य बराबरको १ करोड ८ लाख ७६ हजार १७३ किलो सोयाबिन तेल निकासी भएको थियो। साउनमा ६५ करोड ४४ लाख मूल्य बराबरको ३३ लाख ८ हजार ८८१ किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको छ।

अघिल्लो आवको साउनमा जम्मा ५० लाख ९७ हजारको ३५ हजार ७९० किलो मात्र उक्त तेल भारत निकासी भएको थियो। कोभिडपछि औषधी उद्योगको व्यापार राम्रो भएको छ। वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराजपालले वीरगंज कारिडोरमा रहेका सबै औषधि उद्योग पूर्ण रुपमा संचालनमा रहेको बताए।

वीरगंज करिडोरमा नेपाल फर्मास्यूटिक्लस, क्वेस्ट, एपेक्स, जीडी, हिमालय प्यारेन्ट्रिल प्रालि, म्यागन्स, प्राइमो, सुप्रिम, आर्या लगायत उद्योगहरु संचालनमा छन्। वीरगंजको बहुराष्ट्रिय उद्योग सूर्य नेपाल, डाबर नेपाल, ब्रिटानिया, केएनपी, मदिरा उद्योग हिमालय डिस्टीलरी पूर्ण रुपमा सञ्चालनमा रहेका छन्।

सिमेन्ट र डन्डीको हालत खराब


व्यवसायीहरुका अनुसार कोरोनाले सबैभन्दा बढी प्रभावित उद्योग निर्माण समाग्री हुन्। फलाम, सिमेन्ट, जस्तापाता, पाइप, एंगल च्यानल वीमलगायत अन्य उद्योगहरु अहिले पनि पूर्ण रुपमा संचालनमा आउन नसकेको जगदम्बा इन्टरप्राइजेजका संचालक अनिल रुगंटाले बताए।

‘दुई वर्षदेखि कोरोनाले निर्माणको ठूला आयोजनाहरु प्रभावित बनेका छन्। स्टील उद्योग ४० प्रतिशत मात्रै संचालनमा छन्,' उनले भने। वीरगंजमा करिब एक दर्जनभन्दा बढी फलाम छन्।

वीरगंज पथलैया कोरिडोरमा जगदम्बा स्टील सिमरा, जगदम्बा इन्टरप्राइजेज, हुलास स्टील, हामा स्टील, हुलास इफ्रा प्रालि, हिमालय आयरन प्रालि, नारायणी स्पात प्रालि, नारायणी स्ट्रीप्स, नारायणी रोलिङ मिल,जगदम्बा समुहको एसएस पाइपलगायत उद्योगहरु सञ्चालनमा रहेका छन्। सिमेन्ट उद्योगहरु पनि खराब अवस्थाबाट गुज्रिरहेको बताइएको छ।

 वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले सिमेन्ट व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धा बढेको कारण सिमेन्ट उद्योगलाई समस्यामा परेको बताए। उनले नेपालमा उत्पादित सिमेन्टलाई निर्यात गर्ने कानुन बनाएर नेपाली उद्योगलाई सरकारले सघाउनु पर्ने धारणा राखे। ‘निर्माणको तुलनामा बर्षेनी सिमेन्ट उत्पादन क्षमता स्वदेशी उद्योगको बढैकै छ।

बजारमा खपत र माग कम छ,’उनले भने,‘करिब १४ वटा उद्योगले ४५ प्रतिशतको हाराहारीमा उत्पादन गरिरहेका छन्।’ आशिंक उत्पादन गरेर सञ्चालनमा रहेको उद्योगमा विश्वकर्मा सिमेन्ट, नारायणी सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, कलश, ओम, अम्बे, रिलायन्स, शालिमार, लगायतका छन्। यस कोरिडोरमा सञ्चालित कपडा उद्योग पनि पूर्ण रुपमा संचालनमा आएका छैनन्।

कपडाको हालत पनि उस्तै

नोबेल टेक्सटाइल्सका सञ्चालक रमेश गाडियाले सरकारको नीतिको कारण दुई वर्ष कोरोनाले उद्योग धन्दा थला पर्दा पनि उद्योग चलाउन मुस्किल भएको बताउँछन्।

 उनका अनुसार वीरगंजमा करिब एक दर्जनभन्दा बढि ठूला उद्योग र ५० भन्दा बढी साना मझौला कपडा उद्योग ३० प्रतिशतको हाराहारीमा उत्पादन गरिरहेका छन्। ‘कपडा उद्योगलाई रुग्ण उद्योग भनेपनि सरकारले सुविधा खोसेको छ,’ उनले भने, ‘अब कपडा उद्योगलाई उत्पादन अझै महँगो पर्छ।’

होटललाई संचालन खर्च धान्न मुस्किल

वीरगंज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले पनि वीरगंज कलैया, पथलैया, अमगेखगंज र निजगढ क्षेत्रको होटल व्यवसाय पहिलेको लयमा फर्किन नसकेको गुनासो गरे।

नेपाली होटल तथा पर्यटन व्यवसाय भारतीय पर्यटकमाथि निर्भर रहेकोले घरको भाडा, कर्मचारीको तलब, विजुली खर्च संचालन खर्च समेत निकाल्न मुस्किल भइरहेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २का अध्यक्ष गणेश लाठले प्रदेश २ मा करिब ४ हजार उद्योग कलकारखाना संचालनमा रहेपनि पूर्ण रुपमा संचालनमा आउन नसकेको बताए। उनले होटल व्यवसायमा गरिएको लगानी जोखिमपूर्ण बनेको बताए।