BIZMANDU
www.bizmandu.com

बुटवलमा स्टार्टअप लक्षित नौ महिने बिजनेस इन्कुबेसन कार्यक्रम ‘नवउद्यमशाला’ सम्पन्न

२०७८ भदौ २

बुटवलमा स्टार्टअप लक्षित नौ महिने बिजनेस इन्कुबेसन कार्यक्रम ‘नवउद्यमशाला’ सम्पन्न
बुटवलमा स्टार्टअप लक्षित नौ महिने बिजनेस इन्कुबेसन कार्यक्रम ‘नवउद्यमशाला’ सम्पन्न

बुटवल। नयाँ स्टार्टअप व्यवसायलाई लक्षित गरेर बुटबलमा संचालित कार्यक्रम 'नवउद्यमशाला' मंगलबार समापन भएको छ। नेपालको स्टार्टअप इकोसिस्टममा सक्रियरुपमा काम गरिरहेको संस्था अन्तरप्रेरणा प्रालिको पहलमा आयोजित यो कार्यक्रम नौ  महिनादेखि संचालन थियो।

Tata
GBIME
Nepal Life

कार्यक्रम अन्तरप्रेरणाका साथै बुटवल उद्योग वाणिज्य संघ, नेपाल युवा उद्‍यमी मञ्च (एनवाइइएफ) रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको संयुक्त आयोजनामा संचालन भएको हो।

यी चार संस्थाको सहकार्यमा रुपन्देहीमा उद्यमशीलताको विकासका लागि विजनेस इन्क्युवेसन केन्द्रको स्थापना गरिएको बताइएको छ। यस केन्द्रले उद्यमीहरुको सशक्तिकरणको लागि विभिन्न उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्‍लेख छ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले भने, 'रोजगारी सिर्जना गरेर आर्थिक विकास प्रक्रियालाई सहयोग पुर्‍याउने र नयाँ स्टार्टअपहरुको वृद्धि सुनिश्चित गर्दै नयाँ व्यवसाय र विचारलाई प्रवर्द्धन गर्ने बिजनेस इन्कुवेसन कार्यक्रमको प्रमुख उद्देश्य हो।'

नवीनतम सोच भएका नव उद्यमीहरुलाई व्यवसाय गर्न सहयोग गर्ने उद्देश्यले रुपन्देहीमा पहिलो बिजनेस इन्क्युवेसन कार्यक्रमको सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम समापनका क्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्यम-व्यवसायमैत्री हुने गरी निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताए।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले मुलुकको औद्योगिक-व्यवसायिक विकासमा योगदान गर्नका लागि नै नवप्रवेशी उद्योगीहरुको विकास र प्रवर्द्धन गर्न नवउद्यमशाला कार्यक्रम सहसञ्चाल गरिएको बताए। यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन सरकारले सहयोग गर्नुपर्ने धारणा उनले राखे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवर्द्धनको काम आफैंमा महत्वपूर्ण भएको बताए।

रुपन्देही नवउद्यमशालाको समापनको अवसरमा सहभागी नवउद्यमीहरुले आ–आफनो व्यवसायबारे प्रस्तुति दिनुका साथै लगानी आह्वान गरेका थिए। त्यस क्रममा अन्तरप्रेरणा प्रलिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले कार्यक्रमको उद्देश्य, महत्त्व र भावी योजनाका बारेमा जानकारी गराएका थिए।

यस व्यवसाय सम्बर्द्धन (इन्क्युबेसन) कार्यक्रममा चारजना नवउद्यमीहरुलाई उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको थियो। कायक्रमले उद्यमशीलता विकास कार्यक्रममा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्थागत गर्नमा योगदान पुर्‍याएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ।

कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदीप शाक्य, लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक गोपालप्रसाद पाण्डे, अन्तरप्रेरणाकी अधिकृत स्वेक्षा अधिकारी, संघका महासचिव विमलराज भट्टराई लगायतको पनि कार्यक्रममा उपस्थिति थियो।