BIZMANDU
www.bizmandu.com

टेलिकमको आम्दानी ३ प्रतिशतले बढे पनि नाफामा भने २३% को गिरावट, २ अर्ब २४ करोडले घट्यो नाफा

२०७८ साउन ३०

टेलिकमको आम्दानी ३ प्रतिशतले बढे पनि नाफामा भने २३% को गिरावट, २ अर्ब २४ करोडले घट्यो नाफा
टेलिकमको आम्दानी ३ प्रतिशतले बढे पनि नाफामा भने २३% को गिरावट, २ अर्ब २४ करोडले घट्यो नाफा

काठमाडौं। नेपाल टेलिकमको वार्षिक आम्दानी ३.७ प्रतिशतले बढे पनि वार्षिक नाफा भने २३ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय रोमिङ र अन्तर-आबद्धता शुल्कमा गिरावटको असर टेलिकमको आम्दानीमा परेको हो।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको असार मसान्त सम्ममा कुल सेवा वापतको आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल सेवा वापतको आम्दानी १ अर्व २८ करोड ३७ लाख रुपैयाँले बढेर (३.७० प्रतिशत) ३५ अर्ब ९० करोड ३७ लाख रुपैयाँ पुगेको छ।

गत आवको चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आम्दानी ७ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल सेवा वापतको आयमा ६६ करोड ९० लाख रुपैयाँले वृद्धि भइ (८.६० प्रतिशत) ८ अर्ब ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ। 

चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेकोमा चौथो त्रैमासिक अवधिमा १ अर्ब ५६ करोड ९६ लाख रुपैयाँले बढेर ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ पुगेको छ।

गत आवको चौथो त्रैमासिक अवधिसम्मको खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा खुद मुनाफा ७ अर्व ४५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। 

कोभिड-१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापीरूपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा घट्न गइ ब्याज आम्दानीमा कमी आएको, कोभिड महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराएकाले डाटा प्रयोग बढे पनि आम्दानी नबढेको लगायतका कारण नाफा घटेको टेलिकमले जनाएको छ।

त्यस्तै कोभिड महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभूतपूर्व गिरावट आउनुका साथै ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर-आबद्धता सेवामा भारी गिरावट आएको र समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोर जी, एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धिका कारण पनि नाफामा संकुचन आएको टेलिकमले जनाएको छ।

टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु दी होम) सेवा २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरेको छ।

यसैगरी २०७८ वैशाख, जेठ, असार र साउनको २८ सम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरिएको छ। टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आइपी टीभी सेवासमेत उपलब्ध गराइरहेको छ।