BIZMANDU
www.bizmandu.com

चिनियाँ अर्बपतिमाथि सरकारी डण्डा; बजारबाट अर्बौ गुम्यो, कडा नीतिले शेयर बजारमा खलबली

२०७८ साउन २८

चिनियाँ अर्बपतिमाथि सरकारी डण्डा; बजारबाट अर्बौ गुम्यो, कडा नीतिले शेयर बजारमा खलबली
चिनियाँ अर्बपतिमाथि सरकारी डण्डा; बजारबाट अर्बौ गुम्यो, कडा नीतिले शेयर बजारमा खलबली

चीनका इन्टरनेट अर्बपतिहरुले शेयरबजारमा अहिलेसम्मकै ठूलो नोक्सानी व्यहोरेका छन्। चीन सरकारले पछिल्लो समयमा अख्तियार गरेको कडा नीतिका कारण विश्वका धनाढ्यको सूचीमा रहेका धेरै चिनियाँ अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ। 

Tata
GBIME
Nepal Life

मेइतुआनका संस्थापक वाङ झिङ, नेटइजका सिइओ विलियाङ डिङ, पिनडुओडुओका संस्थापक कोलिन झेङ हुवाङ र टिन्सेन्टका अध्यक्ष पोनी माको सम्पत्तिमा एकै दिन कुल १३.६ अर्ब डलरको गिरावट आएको रियल टाइम बिलेनियर लिस्टको तथ्यांकले देखाएको छ। 

चीनको शिक्षा तथा प्रविधि क्षेत्रमा सरकारको कडा निगरानी तथा पछिल्लो नयाँ ब्यबस्थाको प्रभाव अन्य क्षेत्रमा पनि पर्दा अब सरकारको आँखा कुन क्षेत्रमा पर्ने हो भन्ने डर लगानीकर्तामा पसेको छ। उनीहरु नयाँ लगानीको लागि डराइरहेका कारण शेयर बजारमा त्यसको नकारात्मक असर देखिएको विश्लेषकहरुको भनाई छ। 

शेयर बजारको यो गिरावट सरकारको कडाई तथा नयाँ नीतिहरुको निरन्तरताका कारण देखिएको विश्लेषण भैरहेको छ। बेइजिङस्थित बुटिक इन्भेष्टमेन्ट बैंक चान्सन एण्ड कम्पनीका निर्देशक सेन मेङले भने-' चीन सरकारले हाल समाजमा बिभिन्न क्षेत्रमा ब्याप्त रहेको असन्तुष्टिलाई हटाउन एकाधिकार बिरोधी तथा पुँजीको असमान बितरणलाई रोक्ने  नीति लिएको छ।'

चीन सरकारको नयाँ गाइडलाइन सार्वजनिक हुने बित्तिकै टिन्सेन्सले प्रवर्द्धन गरेको खाद्य डेलिभरी जायन्ट मेइतुआनको शेयरमा मंगलबारमात्रै १० प्रतिशतले गिरावट आयो। त्यसको अघिल्लो दिन कम्पनीको शेयर मूल्य १४ प्रतिशतले झरेको थियो। 

यस्तै टिन्सेन्टले नै प्रवर्द्धन  गरेको अनलाइन बजार पिन्डुओडुओले पनि हङकङको शेयर बजारमा ५ प्रतिशत गुमायो। कम्पनीलाई सरकारले म्युजिक कपिराइटबारे कडा निर्देशन दिँदै नयाँ गाइडलाइन्स जारी गरेको थियो।

यसैबीच बेइजिङले निजी  शैक्षिक संस्थाहरुलाई लगाम कसेसँगै न्यूयोर्कमा लिस्टिङ भएको नेट इजको अनलाइन लर्निङ युनिट यूडाओले तीन कारोबार दिनमा आफ्नो शेयर मूल्यको ६० प्रतिशतभन्दा धेरै गुमाइसकेको छ। 

अमेरिकामा लिस्टिङ भएका चिनियाँ शैक्षिक संस्थाहरु गाओतु, टेकइडु, टिएएल एजुकेसन र न्यू ओरियन्टल एजुकेसन एण्ड टेक्नोलोजीको शेयर मूल्यमा पनि युडओको जस्तै धेरै गिरावट आइसकेको छ। नियामकहरुले निजी शैक्षिक संस्थाहरुका लागि नयाँ नियम जारी गरे लगत्तै घरेलु तथा अमेरिकी शेयर बजारमा ति कम्पनीको  शेयर आधाभन्दा धेरैले तल झरिसकेको छ। चीन सरकारले शैक्षिक संस्थाहरुलाई गैर नाफामुलक संस्थाका रुपमा दर्ता गर्नुपर्ने नयाँ नियम जारी गरेको छ। ती कम्पनीहरुलाई आइपिओ जारी गर्न वा बिदेशी लगानी खोज्न समेत बन्देज लगाइएको छ। 

'लिस्टिङमा रहिरहनका लागि ती कम्पनीहरुले अब चिनियाँ सरकारको नियमसँग बाझिने किसिमका ब्यापार र गतिबिधिहरु रोक्न आवश्यक हुन्छ।'- हडकङस्थित चाइना मर्चेन्ट सेक्युरिटिजका विश्लेषक टोमी वाङले बताए। उनका अनुसार ९० प्रतिशतभन्दा धेरै कम्पनीहरुको कारोबार यसबाट प्रभावित हुनेछ। 

यस्तै चिनियाँ टेक तथा बायोटेक क्षेत्रका दुई दर्जन अर्बपतिहरुको सम्पत्तिमा पनि १६ प्रतिशतभन्दा बढीले गिरावट आइसकेको छ। गत जुनमा सरकारले डेटा सेक्युरिटीको कारण देखाउँदै  आइपिओ स्थगित गर्न भनेपनि अटेर गर्दै अमेरिकी बजारमा आइपिओ जारी गरेको राइड हेलिङ प्लाटफर्म दिदि चुझिङले त्यसयता ठूलो रकम गुमाइसकेको छ। 

त्यसपछि लगातार रुपमा बेइजिङले बिभिन्न क्षेत्रहरुमा नयाँ नियम तथा निर्देशिका जारी गर्दै नियमन कडा बनाउँदै लगेको छ। यसबाट  विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा ठूला टेक ग्रुपहरुको शेयर मूल्यमा लगातार ओरालो लागेको हो। 

इ कमर्स साइट पिन्डुओडुओमा यसको सबैभन्दा बढी असर देखिएको छ।। कम्पनीले आफ्नो कुल सम्पत्तिको एक तिहाइ गुमाइसकेको छ। हालसम्म उसले १५.६ अर्ब डलर गुमाएको बताइएको छ। 

यसैगरी टिन्सेन्टका संस्थापक पोनी माले पनि आफ्नो सम्पत्तिको २२ प्रतिशत गुमाइसकेका छन्।  हालैको एक तथ्यांक अनुसार उनको सम्पत्तिबाट १२ अर्ब डलर गुमिसकेको छ । पोनी मा अब चीनका तेस्रो धनीका रुपमा छन्। 

यही अवधिमा मात्र अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति पनि २.६ अर्ब डलरले खस्किएको छ। तर गत नोभेम्बरदेखिकै तथ्यांक हेर्ने हो भने सरकारले कडा नियमन गर्दै एन्ट ग्रुपको आइपिओ जारी स्थगित गर्न लगाएसँगै ज्याक माको सम्पत्तिमा कुल १३ खर्ब डलरको गिरावट आइसकेको छ। 

गत जुलाईमा सरकारले देशका सबै ठूला निजी शैक्षिक संस्थाहरुका लागि जारी गरेको नयाँ निर्देश पछि न्यू ओरियन्टल एजुकेसनका संस्थापक यु मिन्होङको सम्पत्ति पनि ३ अर्बबाट झरेर ५० करोड डलरमा खुम्चिएको छ। कम्पनीमा उनको १२ प्रतिशत शेयर छ।

चीनमा एक हजारभन्दा बढी अर्बपति छन्। टेक ग्रुपहरुको सफलताकै कारण गत पाँच वर्षमा उनीहरुको संख्या दोब्बर हुँदै एक हजार पुगेको हो। तर हालै सरकारले लिएको कडा नीतिका कारण प्रविधि क्षेत्रकै उद्यमीहरु आफ्नो बजारलाई सिफ्ट गर्नुपर्ने अवस्थामा पुगेका छन्। 

टेक जायन्टहरु भन्दा पनि हाल चीनमा खाद्यान्न उत्पादकहरु तथा विद्युतीय सवारीका उद्योगहरुले तुलनात्मक रुपमा बढी लाभ लिइरहेको देखिन्छ।

गत वर्ष टेक जायन्ट ज्याक मा र पोनी मालाई पछि पार्दै चिनियाँ पानी उद्योग नोङफु स्प्रिङका प्रमुख झोङ सानसान चीनकै धनाढ्य बन्न सफल भएका थिए। उनी ज्याक मा भन्दा २४ अर्ब डलर बढी सम्पत्ति जोड्न सफल भएका थिए। 

यस्तै कारमेकर तथा इलेक्ट्रिक ब्याट्री पायोनियर बिवाईडी कम्पनीका अध्यक्ष वाङ चुआनफुको सम्पत्तिमा पनि उल्लेख्य बृद्धि हुँदै उनी चीनकै दशौं धनाढ्य बन्न सके। चीनमा उर्जा क्षेत्रका आठ अर्बपतिको सम्पत्तिमा यस अवधिमा मात्रै १३.६ अर्ब डलरको बृद्धि देखिएको छ। 

विज्ञहरुका अनुसार अझै केही समय बेइजिङले टेक तथा इन्टरनेट टाइकुनहरुलाई कडा नीति लिनेछ। सन् २०२१ मै यसलाई खुकुलो बनाउने संभावना कमै देखिएको उनीहरु बताउँछन्। 

यस्तो अनिश्चित वातावरणमा बिदेशी लगानीकर्ताहरुको लागि पनि नीतिगत जोखिमहरुको पुनर्मूल्यांकन गर्दै पर्ख र हेरको नीति लिनु बुद्धिमानी हुने चान्सन एण्ड कम्पनीका सेन बताउँछन्। 

चीन सरकारले हाल अख्तियार गर्दै गरेको कडा नीतिहरुका कारण सफ्ट बैंकदेखि टिमासेक जस्ता ग्लोबल इन्भेष्टरहरुलाई पनि आफ्नो लगानीबारे निर्णय लिन गारो परेको अवस्था सिर्जना भएको छ। चिनियाँ एजुकेसन स्टार्टअप्स जस्तै युआनफुदाओ, जुओईबाङ र इकुईजुओइ जस्ता सरकारको निगरानीमा परेका कम्पनीहरुमा ग्लोबल इन्भेष्टरको अर्बौ डलर लगानी जोखिममा परेको छ। 

सांघाईस्थित ओलिभर वाईमान कम्पनीकी क्लाउडिया वाङ अब लगानीकर्ताहरुका सामु पर्खनु र हेर्नुको एकमात्र बिकल्प बाँकी रहेको बताउँछिन्। सन् २०२० सम्म चीनको अनलाइन शिक्षा उद्योगको २५७.३ अर्ब युआनको बजार भैसकेको तथ्यांकले देखाउँछ। अब उक्त स्टार्टअपहरुले आफ्नो ब्यापारलाई लागि अन्य क्षेत्र र बजारतर्फ मोड्नुपर्ने बाध्यता सिर्जना भएको छ। त्यसैले हाल शेयर बजारका लगानीकर्ताहरुलाई पनि पर्ख र हेरको  नीति  लिन नोमुरा सेक्युरिटिजले सुझाव दिएको छ। 

डराइरहेका लगानीकर्ताहरु अब सरकारको तारो बन्ने संभावित क्षेत्र कुन होला भन्दै अनुमान गरिरहेका छन्। सरकारको टार्गेटमा पर्ने संभावित क्षेत्रहरुबारे अन्योल रहेकाले पनि लगानीकर्ताहरु बजारतर्फ आकर्षित भएका छैनन्। 

हालै विश्लेषक चेतन सेठ र योनुसुकी इकेदाले सार्वजनिक गरेको रिसर्च पेपरमा उल्लेख भए अनुसार चिनियाँबजारमा आकर्षक लगानीका अवसर भएका क्षेत्रहरु बाँकी नै रहेपनि जबसम्म सरकारले हाल अख्तियार गरिरहेको कडा नियमनको नीति खुकुलो बनाउदैन तबसम्म लगानीकर्ताहरु चुप लागेर बस्ने मुडमै देखिएका छन्। यसै कारण चिनियाँ कम्पनीहरुको शेयर कारोबारमा यति धेरै गिरावट आएको हो। 

इन्भेष्टमेन्ट बैंक चाइना रेनेसाका अनुसन्धान बिभाग प्रमुख ब्रुस पाङ लगानीकर्ता तथा उद्यमीहरुले अब चीनको कम्युनिष्ट पार्टीको नीतिहरुप्रति अझै बढी ध्यान दिनुपर्ने बताउँछन्।

उनी भन्छन्- 'गत महिना राष्ट्रपति सिले उद्यमीहरुलाई गरेको सम्बोधन उनीहरुले सरकारको विश्लेषण, निर्णय तथा योजनाहरुसँग मेल खाने बिचार र कार्य गर्नुपर्नेतर्फ लक्षित थियो। यसको अर्थ आगामी दिनमा चीनका सबै उद्यम तथा उद्यमीहरुले सरकारले चाल्ने कदमहरुमाथि अत्यन्तै ध्यान पुर्याएर अघि बढ्नुपर्ने अवस्था देखिएको छ।' 
(फाइनान्सियल टाइम्सबाट)