BIZMANDU
www.bizmandu.com

नेतामाथि ‘भद्दा’ टिप्पणी गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले दिए राजीनामा 

२०७८ साउन २७

काठमाडौं। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

Tata
GBIME
Nepal Life

सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आइतबार उनलाई तीन दिनभित्र जवाफ पेश गर्ने गरि मन्त्रालयले लिखित स्पष्टीकरणमा मागेको थियो। 

भट्टराईले सोमबार पत्रकार सम्मेलन गर्दै लिखित जवाफ नदिने बरु बर्खास्ती सहने बताएका थिए। राजनीतिकरूपमा स्पष्टीकरण सोधिएकाले त्यसको जवाफ मैदानबाट दिने बताएका थिए। 

उनले रेल्वे कम्पनीको महाप्रबन्धक हुँदा राजनीतिकरूपमा विभिन्न नेताहरुमाथि भद्दा टिप्पणी गर्ने गरेका थिए।

सरकारले उनलाई कर्मचारीको आचरणविरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। भट्टराइले नियुक्ति लिएको दिनदेखि इमान्दारीतापूर्वक काम गरेर रेल्वे कम्पनीलाई पुनर्जीवन दिई जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्‍याएको दाबी गरेका छन्। रेल संचालनको अन्तिम तयारी भइरहेका बेला स्पष्टीकरण सोधेको उनले गुनासो गरेका छन्।

'रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्व तयारी रहेको अवस्थामा प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाइ पेश गर्न भनिएको थियो,' उनले राजीनामा पत्रमा भनेका छन् 'आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु।'