BIZMANDU
www.bizmandu.com

लक्ष्मण अर्याल स्वास्थ्य सचिव हुँदाको कार्यसम्पादन सार्वजनिक, प्रतिबद्धता पुरा गरेको दाबी

२०७८ साउन १९

लक्ष्मण अर्याल स्वास्थ्य सचिव हुँदाको कार्यसम्पादन सार्वजनिक, प्रतिबद्धता पुरा गरेको दाबी
लक्ष्मण अर्याल स्वास्थ्य सचिव हुँदाको कार्यसम्पादन सार्वजनिक, प्रतिबद्धता पुरा गरेको दाबी

काठमाडौं। स्वास्थ्य मन्त्रालयमा रहँदा आफुले गरेको कार्यसम्पादनसम्बन्धी प्रतिवेदन सचिव लक्ष्मण अर्यालले सार्वजनिक गरेका छन्। 
सरकारले २०७७ जेठ १५ गते अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेका थियो।

Tata
GBIME
Nepal Life

करिब १४ महिना स्वास्थ्य सचिव रहँदा अर्यालले आफुले जाहेर गरेको प्रतिबद्धता र कार्यान्वयनको अवस्था प्रतिवेदनमा समेटेका छन्।
अर्यालले कोभिड-१९ संक्रमण कुल जनसंख्याको तीन प्रतिशतभन्दा कम राख्ने प्रतिबद्धता राखेकोमा यसको अवस्था २.५ प्रतिशत कायम गर्न सफल भएको दाबी गरे।

'कोभिड-१९ संक्रमितमध्ये मृत्यु हुनेको अनुपात २.५ प्रतिशतभन्दा कम राख्ने योजना पूरा भएको देखिन्छ। कूल संक्रमितमध्ये १.३ प्रतिशत व्यक्तिको मृत्यु कोभिड-१९ बाट भएको छ,' अर्यालले भनेका छन्।

कुल जनसंख्याको कम्तिमा ६ प्रतिशतको कोभिड-१९ परीक्षण गर्ने प्रतिबद्धता जाहेर गरेका अर्यालले आफ्नो कार्यकालमा त्यसलाई १३ प्रतिशत पुर्‍याएको बताए।

सचिव अर्यालले क्रिटिकल केयर बेड क्षमता १० प्रतिशतले वृद्धि गर्ने बाचा गरे थिए। जसअनुसार उनले आफ्नो कार्यकालमा आइसियू बेड २६ सय रहेकोमा चार सय थप गरी तीन हजार पुर्‍याएको र ६ सय ३० थप गर्ने प्रक्रियामा रहेको जानकारी दिए।

त्यसैगरी, भेन्टिलेटरको संख्या नौ सय पुर्‍याइएको छ भने एक सय १८० वटा थप्ने प्रक्रियामा रहेको अर्यालले प्रतिवेदनमा उल्लेख गरेका छन्।
सरकारी अस्पतालहरुमा हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड संख्या दुई हजार ७५ र निजीमा सात सय ७८ थप गरी सञ्चालनमा ल्याइएको बताइएको छ।

१४ सय एचडियू थपिने प्रक्रियामा रहेको विवरण प्रतिवेदनमा उनले समेटेका छन्। बच्चाहरुका लागि एक सय ८० भेन्टिलेटरसहित दुई सय ७५ आइसीयू बेड थप गर्ने काम अघि बढेको छ।

यस्तै, अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिन्डर आफ्नो कार्यकालमा थपिएको उल्लेख गरेका छन्। २७ वटा लिक्विड अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत दुई वटा सकिएको, चार वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भइसकेको अर्यालले जानकारी दिए।

विगतमा १५ टन अक्सिजन आपूर्ति हुने गरेकोमा आफु स्वास्थ्य सचिवबाट विदा हुँदासम्म त्यसलाई एक सय २० टन पुर्‍याएको विवरण समावेश गरेका छन्।

अर्यालले आफ्नो कार्यकालमा वैज्ञानिक तथ्य तथा प्रक्षेपणमा आधारित द्रुत कार्ययोजाना मार्फत् कोभिड-१९ नियन्त्रण गर्न जोड दिएको उल्लेख गरेका छन्। यस्तै, २०७८ असार भित्र ६० लाख जनसंख्यालाई कोभिड विरुद्धको खोप लगाउने प्रतिबद्धता अनुसार नै काम भइरहेको विवरण उल्लेख गरेका छन्। अर्यालले आफ्नो कार्यकालमा नीतिगत योजना तथा प्रशासकीय सुधारसम्बन्धी कार्य सुरु गरेको जानकारी दिए।

साउन १२ देखि अर्याल प्रधानमन्त्री कार्यालयको सचिवमा सरुवा भएका छन्।