BIZMANDU
www.bizmandu.com

डिडिसीले उपत्यकाभित्र पाँच ठाउँमा बिक्री कक्ष बिस्तार गर्ने, सिंहदरबारभित्र पनि ठाउँ खोज्दै


Tata
GBIME
Nepal Life

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले बिक्री केन्द्र विस्तार गर्न लागेको छ । सिंहदरबार भित्र, कोटेश्वर, भक्तपुर, ललितपुर र चाबहिलमा नयाँ बिक्री कक्ष संचालन हुने भएको हो ।

दुग्ध जन्य पर्दाथको बजारीकरणका लागि उपत्यकामा थप ५ वटा बिक्री कक्ष विस्तार गर्न लागेको महाप्रबन्धक रुद्र प्रसाद पौडेले बताए।

हालको लागि उपत्यकामा मात्र बिक्री कक्ष विस्तार गर्न लागिएको उनले बताए।

'सुरुवातमा सिंहदरबारभित्र खोल्ने तयारी छ । सिंहदरबारभित्र धेरै सरकारी निकायहरु भएकोले त्यहाँ दुग्धजन्य पर्दाथको बढी खपत हुने अनुमान छ ।'- त्यसका लागि सिंहदरबारभित्र बिक्री केन्द्र लागि ठाउँ खोजिरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए ।

चाडपर्व लक्षित गरी सबै बिक्री कक्षहरु खोल्ने तयारी भइरहेको उनले बताए । चाडपर्वको समयमा दुग्धजन्य पर्दाथको माग धेरै हुने भएकोले उपभोक्ताहरुलाई सहज हुनेगरी उपत्यकाको मुख्य मुख्य ठाउँमा आफ्नै बिक्री केन्द्र खोल्न लागिएको संस्थानले जनाएको छ ।

यसअघि उपत्यकामा ३ वटा बिक्री केन्द्र खुलमटार, न्युरोड र लैनचौरबाट डिडिसीका उत्पादनहरु बिक्री हुँदै आएको छ । उक्त बिक्री केन्द्रसहित डिडिसीका बितरकहरुले पनि विभिन्न ठाउँमा बिक्री गर्दै आएका छन् । डिडिसीले चालु वर्षमा दुग्धजन्य पर्दाथको बिक्री केन्द्र विस्तारसँगै बजार बढाउन विविधिकरणमा जाने योजना बनाएको छ ।

उपत्यकाबाहिरका जिल्लाहरुमा पनि बिक्री केन्द्र खुल्ने क्रम रहेको संस्थानले जनाएको छ । गत आर्थिक बर्षमा दाङ, सुर्खेत र जुम्ला लगायतका जिल्लामा बिक्री केन्द्र संचालनमा ल्याएको छ ।

होल मिल्क पाउडर १५ दिनमै 

डिडिसीले होल्क मिल्क पाउडर दुई साताभित्र बजारमा ल्याउनले गरी तयारी अघि बढाएको छ । महाप्रबन्दक पौडेलका अनुसार यसको सबै तयारी पूरा भैसकेको छ । 'पाउडर तयार छ । प्याकेजिङ म्याटेलियर तयार हुन बाँकी रहेकाले अबको १० देखि १५ भित्र उक्त पाउडर बजारमा आउँछ।'-उनले भने ।

होल मिल्क पाउडर ४ सय र ८ सय ग्रामको प्याकमा ल्याउन लागेको उनले बताए। संस्थानका अनुसार होल मिल्क पाउडर चिनीरहित भएकाले सबै उमेर समूहका उपभोक्ताले प्रयोग गर्न सक्नेछन् ।

यसअघि गत वैशाखमा नै संस्थानले फोर्टीफाइड मिल्क बजारमा ल्याउने बताएपनि त्यो योजना कोभिड महामारीका कारण रोकिएको थियो ।

उक्त मिल्क उत्पादन गर्न क्याल्सियम र भिटामिन डि चाहिन्छ । भारतबाट आयात गर्नु पर्ने भएकोले फोर्टीफाइड मिल्क बजारमा आउन समय लाग्ने संस्थानले जनाएको छ।