BIZMANDU
www.bizmandu.com

निषेधाज्ञा खुकुलो भएसँगै सिमरा–काठमाडौं उडानमा यात्रुको चाप बढ्दो, दैनिक १८ सयले यात्रा गर्दै

२०७८ साउन १४

Tata
GBIME
Nepal Life

वीरगंज। निषेधाज्ञा खुकुलो भएसँगै सञ्चालनमा आएको आन्तरिक उडानले गर्दा हवाईमार्गबाट सिमरा–काठमाडौं आवतजावत गर्नेहरुको चाप बढ्दै गएको छ ।

पछिल्लो समय दैनिक १६ सयदेखि १८ सयजनाले सिमरा–काठमाडौं हवाईयात्रा गरिरहेको बताइएको छ । सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख वसन्त गौतमका अनुसार अहिले दैनिक विभिन्न कम्पनीको १२ वटा हवाई उडान भइरहेको बताए ।

बुद्ध एयरको १९ सिटे, ४२ सिटे गरी एक एक उडान, ७२ सिटको ६ वटा उडान, यती एयरलायन्सको ७२ सिटको तीनवटा उडान र श्री एयरलाइन्सको ८० सिटको एउटा उडान गरी कुल १२ वटा उडान भइरहेको उनले जानकारी दिए ।

निषेधाज्ञाको कारण काठमाडौं र वीरगंज आसपासमा रोकिएका यात्रीहरु सहज रुपमा र छिटो काठमाडौं–सिमरा पुग्न हवाई यात्रा रोजिरहेको उनको विश्लेषण छ ।

उपचार, व्यवसाय, व्यापार, काम विशेषलगायत प्रयोजनका कारण हवाई मार्गबाट यात्रा गर्नेहरुको चाप बढेको उनले बताए ।

असार १७ गतेदेखि खुलेको आन्तरिक उडान पछि वर्षा र बाढी पहिरोको कारणले पनि अधिकांश यात्रीहरु हवाईजहाजबाट नै काठमाडौं यात्रा गरिरहेका छन् ।

अहिले सिमरा–काठमाडौंको भाडा विभिन्न कम्पनीको रु २९ सयदेखि ३ हजारसम्म रहेको उनले बताएका छन् ।

यात्रुको चाप बढेसंगै विमान कम्पनीहरुले करीब एक महिनादेखि भाडा तीन हजारकै हाराहारीमा रहेको छ  जबकी एकसमय भाडादर घटेर  काठमाडौं सिमरा उडान गर्दा जम्मा  १३ सयदेखि १७ सयसम्म  कायम रहेको  थियो ।