BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री शर्मालाई विनोद चौधरीको सुझाव: वार्षिक ६० हजार युवालाई उद्यमी, दिए उपाय

२०७८ साउन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर देशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न माग गरेको छ। 

समितिका संयोजक विनोदकुमार चौधरी तथा सहसंयोजक अनिल रूंगटा लगायतका पदाधिकारीले शर्मा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेजस्तै अर्थमन्त्री हुँदा पनि उदाहरणीय काम गर्न सुझाएको छ। 

चौधरीले विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने माग गरे। 

‘एकातिर कोभिडको प्रभाव निरन्तर जारी छ भने अर्कोतिर निर्माणाधीन परियोजना बाढीपहिरोका कारण दिन प्रतिदिन रोकिएका छन्। बनेका भौतिक पूर्वाधारहरुमा समेत क्षति पुग्नुका साथै नष्ट समेत भएका छन्,' चौधरीले लामो भूमिका बाँधेर भने- 'पर्यटन क्षेत्रका गतिविधि ठप्प छन्। उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउन सकेमात्र अर्थतन्त्र चलायमान हुनुका साथै सबल र स्थायित्व प्राप्ति हुनेछ। रोजगारीका अवसरसँगै आम जनताको आय आर्जनमा सुधार हुनेछ।’ 

मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत् प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न भनेको छ।

यो कार्यक्रमबाट ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव दिँदै उनले एउटा उद्यममा न्यूनतम ३ जना मात्र रोजगार भएको खण्डमा पनि वार्षिक झण्डै २ लाख रोजगारी सिर्जना हुने बताए।

‘यसले श्रम बजारमा आउने ४ लाखमध्ये आधा श्रम शक्तिलाई व्यवस्थापन गर्छ। बाँकी श्रम शक्ति अन्य क्षेत्रमा पनि खपत हुन्छन् र बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्न सकिन्छ,’ समितिका सहसंयोजक अनिल रूंगटाले भने। 

अर्थमन्त्रीलाई बुझाइएको सुझावमा समितिले बैंक तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दिगो बैंकिङमार्फत् यस्ता सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दिगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु पर्ने उल्लेख । 

अर्थमन्त्री शर्माले उपयुक्त सुझावहरूलाई ग्रहण गरी कार्यान्वयन गर्ने बताए। उनले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताए।