BIZMANDU
www.bizmandu.com

अध्ययनले देखायो: सबैभन्दा छिटो फोन लाग्नेमा एनसेल, काठमाडौंमा धेरै ‘कल ब्रेक’ एनटीसीको

२०७८ साउन १०

अध्ययनले देखायो: सबैभन्दा छिटो फोन लाग्नेमा एनसेल, काठमाडौंमा धेरै ‘कल ब्रेक’ एनटीसीको
अध्ययनले देखायो: सबैभन्दा छिटो फोन लाग्नेमा एनसेल, काठमाडौंमा धेरै ‘कल ब्रेक’ एनटीसीको

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्ट गरेको जनाएको छ। 

प्राधिकरणले सेवा प्रदायकको आफ्नै नेटवर्क भित्र लोकल कल गर्दै सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको जनाएको छ। नेपाल टेलिकमको ९.३४ सेकेन्ड र स्मार्ट टेलिकमको १०.२७ सेकेन्ड लागेको प्रतिवेदनमा उल्लेख गरेको छ। 
प्राधिकरणको परीक्षणका क्रममा कल अवधि ४० सेकेन्ड कायम गरेको थियो।

त्यसैगरी, कल स्थापना हुने सफलताको दर पनि एनसेलकै बढी छ। एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत रहेको छ। कल स्थापना हुने सफलताको दर टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत र स्मार्ट टेलिकमको ८४.४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

यस्तै, आफै फोनकल विच्छेद हुने दर सबैभन्दा बढी टेलिकममा रहेको प्राधिकरणले जनाएको छ। आफैं फोनकल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। 

प्राधिकरणले ड्राइभ टेस्ट काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वारी, स्वयम्भू, सितापाइला, छाउनी, चाबहिल, गोठाटार, कपन, मण्डिखटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशाला, सिनामंगल र शान्तिनगर रहेका छन्।

ललितपुरको कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को र टिकाथली रहेको प्राधिकरणले जनाएको छ। भक्तपुरको बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँट रहेको बताइएको छ। यी जिल्लाहरुका रिङरोड भित्रका मुख्य तथा सहायक मार्गहरु पनि परीक्षणका क्रममा प्रयोग भएका छन्। 

प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेको जनाएको छ। 

कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ गरिएको जनाएको छ। हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनोट गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।