BIZMANDU
www.bizmandu.com

एक महिनामा सुन आयात ९ सय किलो, गत वर्षकै बाँकी ६ सय किलो पनि ल्याउने तयारी


एक महिनामा सुन आयात ९ सय किलो, गत वर्षकै बाँकी ६ सय किलो पनि ल्याउने तयारी
एक महिनामा सुन आयात ९ सय किलो, गत वर्षकै बाँकी ६ सय किलो पनि ल्याउने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। एक महिनामा नेपालमा करिब सात अर्ब २० करोड रुपैयाँको ९ सय किलो सुन आयात भएको छ।

निषेधाज्ञाले रोकिएको १५ सय किलोमध्ये सुन ९ सय किलो आयात भएको हो। गत असार मसान्तसम्म १५ सय किलो सुन आयात गर्ने भनिए पनि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको थियो। त्यसैले ९ सय किलोमात्र आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बैंकहरुले आयातका लागि भुक्तानी गरिसकेको हुनाले गत वर्षको कोटाको सुन नयाँ चालु आर्थिक वर्षमा भए पनि भित्रिने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। '९ सय किलो आयो, बाँकी ६ सय किलो ल्याउन बैंकहरुले तयारी गरिरहेका छन्। अबको केही समयमा बाँकी सुन आइपुग्छ,' उनले भने।

यस अघि चालु वर्षको असार मसान्तसम्म तोकिएको परिमाणमा सुन आयात नभए त्यो कोटामा नयाँ आर्थिक वर्षमा ल्याउन मिल्दैनथ्यो। यसपटक बैंकहरुले भुक्तानी दिइसकेको हुनाले गत वर्षको बाँकी सुन पनि आयात हुने भएको उनको भनाइ छ। पहिले १० किलो सुनको कोटा तोकिएको हुनाले समयमै सुन आयात भएको थियो। यसअनुसार २४ सय किलो सुन आयात भएको थियो।

गत वर्षदेखि कोटा बढेर दैनिक २० किलो पुगेको हुनाले परिमाण धेरै भयो। ११ महिनामा २१ अर्ब ७ करोड रुपैयाँको करिब ३१ सय किलो सुन आयात भएको थियो। वैशाखदेखि निषेधाज्ञा लागु भएपछि आयात रोकिएको थियो।

निषेधाज्ञा खुकुलो भएर हवाई सेवा सहज भएको छ। बजार खुलेर कारोबार पनि राम्रै हुन थालेको छ। महासंघका अनुसार अहिले सुन आपूर्तिमा समस्या छैन। दैनिक २० किलो भन्दा बढीको कारोबार भइरहेको छ। गत महिना बिहेको लगनले सुनको कारोबारमा सुधार भएको थियो। दैनिक २५ देखि ३० केजी सुनको कारोबार भइरहेको थियो। साउन महिना अफसिजन भएकाले सुनको माग धेरै नहुने व्यवसायीले बताएका छन्।

केही साताअघि बैंकहरुले ल्याएर सीमित कोटा वितरणमा समस्या भएको जनाउँदै व्यवसायीले आयात इजाजत आफूहरुले पनि पाउनुपर्ने बताएका थिए। तर यतिबेला बजारलाई पर्याप्त सुन रहेकाले व्यवसायी चुप लागेका छन्। देशभर २० हजारभन्दा बढी सुनचाँदी व्यवसायी छन्। आयात भएर आउने सुन बैंकहरुबाट महासंघको समन्वयमा व्यवसायीले उठाउने गरेका छन्। आयात भइआउनेमध्ये ५० प्रतिशत वागमती र ५० प्रतिशत अन्य प्रदेशका व्यवसायीले खरिद गरेर लैजान्छन्।

नेपालमा राष्ट्र बैंकले बैंकहरुलाई सुन आयात अनुमति दिएको छ। १० वटा वाणिज्य बैंकबीच सुन आयातका लागि बैंकर्स संघले समन्वय गरेको छ। विवाहको सिजनमा २५ र अन्य बेला २० किलो दैनिकका दरले ल्याउने गरेकोमा विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै कोटा १० किलो सीमित गरिएको थियो। गत चैतमा दैनिक २० केजी ल्याउन पाउने बनाइएको छ।

सुन फिर्ता नआउँदा व्यवसायीहरु चकित

सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो समय बजारमा फिर्ता सुन आउन छोडेको छ। सुनको मूल्य प्रतितोला ९० हजार माथि पुग्दा पनि उपभोक्ताहरुले सुन बिक्री गर्न कम गर्दै गएको अध्यक्ष शाक्यले बताए। पहिले पहिले सुन महँगो हुनेबितिकै उपभोक्ताहरु गरगहना बेच्ने गर्थे।

सुन फिर्ता नआउँदा व्यवसायीहरु चकित छन्। गत वर्षसम्म बजारमा ठूलो परिमाणमा फिर्ता सुन आउने गरेको थियो। थोरै परिमाणमा सुन आयात हुँदा फिर्ता आएको सुनले बजारको माग धान्न राहत हुन्थ्यो। 'हाल नगन्य मात्रामा सुन फिर्ता भइरहेको छ। के कारणले फिर्ता आउन छोड्यो भन्ने अन्योल नै छ,' शाक्यले भने।