BIZMANDU
www.bizmandu.com

मर्सिडिज बेञ्जको अब इभी मात्रै उत्पादन गर्ने योजना, प्रविधिमा लगानी र चार्जिङ प्वाइन्ट थप्दै

२०७८ साउन ९

मर्सिडिज बेञ्जको अब इभी मात्रै उत्पादन गर्ने योजना, प्रविधिमा लगानी र चार्जिङ प्वाइन्ट थप्दै
मर्सिडिज बेञ्जको अब इभी मात्रै उत्पादन गर्ने योजना, प्रविधिमा लगानी र चार्जिङ प्वाइन्ट थप्दै

Tata
GBIME
Nepal Life

जर्मनको प्रसिद्ध मोटर उत्पादक कम्पनी मर्सिडिज बेञ्जले अब इलेक्ट्रिक सेगमेन्टमा मात्रै गाडी बनाउने भएको छ। कम्पनीका अनुसार आफ्ना सबै उत्पादनलाई इलेक्ट्रिकमा रुपान्तर गर्ने योजना आगामी वर्ष २०२२ मा पुरा हुनेछ। २०२५ देखि बजारमा ल्याउने सबै मोडल इलेक्ट्रिक हुनेछन् । 

मर्सिडिज बेञ्जका तीन इलेक्ट्रिक आर्किटेक्चर २०२५ मा बजारमा आउने छन्। प्रारम्भमा कम्पनीले इभीका लागि शक्तिशाली ब्याट्री उत्पादन, एसी, डीसी चार्जर व्यवस्थापनको पूर्वाधार तयार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ९५ वर्ष पुरानो यो ठूलो कम्पनीको घोषणालाई संसारभरका मोटर उत्पादकले उत्सुकतासाथ हेरेका छन्।

डेम्लर एजी कम्पनीको कार उत्पादनका लागि सहयोगी डिभिजन हो मर्सिडिज-बेञ्ज। नयाँ घोषणासँगै डेम्लर कम्पनीको नाम पनि फेरिन सक्ने संकेत व्यवस्थापनले गरेको छ।  

इन्धनको खपत घटाएर वातावरणीय प्रदूषण कम गर्न संसारभर सवारी उत्पादकहरु नयाँ प्रविधिको खोजीमा छन्। अहिले देखिएको विकल्प विद्युतीय सवारी नै छ। मोटर निर्माताहरु पुरानो प्रविधिको इन्जिन उतपादन घटाइरहेका छन्। यही लहरमा मर्सिडिजले पनि इभी मात्रै उत्पादन गर्ने गरी योजना अघि सारेको हो।  

यसले हालसम्म उत्पादन गरेका गाडीहरु एकैसाथ इभीमा रुपान्तर हुन सक्ने अवस्था छैन। बिस्तारै पुरानो इन्जिन प्रविधि बन्द गरेर इलेक्ट्रिक गाडी मात्रै बजारमा पठाउने योजना कम्पनीको छ। लक्जरी मानिने मर्सिडिजका गाडीहरु अटोमोबाइल बजारमा तुलनात्मकरूपमा महँगामध्ये पर्छन्। कम्पनीको अहिलेको व्यापार पनि आशलाग्दो नै छ। तर इभीमा जाने घोषणा मर्सिडिज प्रयोगकर्ताका लागि पनि चासोको बनेको छ। 

कम्पनी अबको १० वर्षमा पुरा इलेक्ट्रिक सवारी बजारमा अगाडि आउने योजनासहित काम गरिरहेको सीइओ ओला केलेनियसले बताएका छन्। 'हामी इभीमा उच्च गति क्षमतायुक्त र आरामदायी गाडी ल्याउँछौं, जसका प्रयोगकर्तालाई चार्जिङ प्वाइन्ट पनि सुलभ हुनेछन्,' उनले भनेका छन्, 'यसका लागि कम्पनीले अवधि तोकेर थप गरिने लगानीसहितको योजना बनाएको छ।'

इलेक्ट्रिकको योजना हठात भने बनेको होइन। कम्पनीले अहिले पनि इलेक्ट्रिक इन्जिनमा काम गरिरहेकै छ। मर्सिडिजको माउ कम्पनी डेम्लरले चीनको बीवाइडीसँग इभीमा काम गरिरहेको छ। इभीको योजनासँगै पुरानो इन्जिन प्रणालीमा भइरहेको मर्सिडिज कम्पनीको खर्च सन् २०२५ ना शून्यमा आइपुग्ने अनुमान व्यवस्थापनको छ।

डेम्लरले चालु वर्षको अन्त्यसम्म आफ्नो ट्रक डिभिजन बन्द गर्ने योजना बनाइरहेको छ। विद्युतीय सवारी उत्पादनको योजनामा मर्सिडिजले ब्रिटिस इलेक्ट्रिक मोटर उत्पादक कम्पनी यासासँग सहकार्य गर्दैछ। 

इलेक्ट्रिक सवारी उत्पादनको महत्त्वाकांक्षी योजनासँगै कम्पनीले विश्वका बिभिन्न मुलुकमा गरी ५ लाख ३० हजार चार्जिङ प्वाइन्ट स्थापना गर्ने योजना बनाएको छ। रुपान्तरणको योजनाका लागि २०२२ देखि २०३० का बीचमा ४० बिलियन युरो लगानी गर्नेछ।