BIZMANDU
www.bizmandu.com

पब्लिक कम्पनी बनेपछि नर्भिकले ल्यायो ६ अर्ब लगानीको योजना, दुहबी र भैरहवामा पनि अस्पताल

२०७८ साउन ७

पब्लिक कम्पनी बनेपछि नर्भिकले ल्यायो ६ अर्ब लगानीको योजना, दुहबी र भैरहवामा पनि अस्पताल
पब्लिक कम्पनी बनेपछि नर्भिकले ल्यायो ६ अर्ब लगानीको योजना, दुहबी र भैरहवामा पनि अस्पताल


Tata
GBIME
Nepal Life

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले पाँच वर्षभित्र भैरहवा र सुनसरीको दुहबीमा अस्पताल स्थापना गर्ने भएको छ। पाँच वर्षे रणनीति सार्वजनिक गर्दै नर्भिकले ६ अर्ब लगानी थप्ने घोषणा गरेको छ।

नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले रणनीति सार्वजनिक गर्दै दुई ठाउँमा अस्पताल खोल्ने घोषणा गरेकी हुन्। उनका अनुसार थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । यो लगानीसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ।

थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा संचालन गर्ने उनले बताईन्। भैरहवामा १०० शैया तथा दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पतालमा तीन अर्ब लगानी हुने चौधरीले बताईन्। यो अस्पताल निर्माणपछि दुई हजार भन्दा बढीले रोजगारी पाउने उनले जानकारी दिईन्।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बनाउने जनाएको छ। पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि परिचयात्मक कार्यक्रम समेत गरिएको थियो। नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे। उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं।’ 

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे। ‘मेरो सपना अझ ठूलो हुँदैछ,’ उनले भने‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन्। हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन्। हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ।’ 

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए।